काठमाडौं। लघुवित्त कम्पनी (माइक्रोफाइनान्स)मा लगानीकर्ताको उत्साह देखिएको छ। साता कारोबारको अन्तिम दिन बिहीबार सबै उपसमूह राताम्य हुुँदा पनि लघुवित्तमा भने लगानीकर्ताको उत्साह देखिएको हो।
बिहीबार कारोबारमा आएका ५१ लघुवित्त कम्पनीको सेयर मूल्य बढ्दा समग्र लघुवित्त उपसमूहमा ३.४५ प्रतिशतको वृद्धि भएको छ। यद्यपि, दुई लघुवित्त कम्पनीको सेयर मूल्य घटेको छ।
बिहीबार समता लघुवित्त वित्तीय संस्था, इन्फिनिटी लघुवित्त र साधना लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। यस्तै, विजय लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.७१ र आरएसडिसी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ८.७१ प्रतिशतले बढेको छ।
बिहीबार सर्वाधिक मूल्य बढेका ३० कम्पनीमा पोखरा फाइनान्स, नबिल व्यालेन्स फन्ड–२ र बोटलर्स नेपाल (बालाजु) लिमिटेड गरी तीन कम्पनी बाहेक सबै लघुवित्त कम्पनी छन्।
आज फाइनान्स उपसमूहमा देखिएको उत्साहको प्रभाव कारोबार रकममा पनि परेको छ। बिहीबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७.३१ अंकले घटेर १९९८.९६ को बिन्दुमा सीमित भए पनि कारोबार भने ४ अर्ब १३ करोड रुपैयाँ बराबरको भएको छ।
बिहीबार कारोबारमा आएकामध्ये ७८ कम्पनीको सेयर मूल्य बढ्दा १६१ कम्पनीको घटेको छ। यस्तै, ५ कम्पनीको सेयर मूल्य स्थिर छ। आज पिपुल्स पावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन्। यस कम्पनीको सेयर मूल्य ८.२१ प्रतिशतले घटेको छ।