काठमाडौं। उद्योग संगठन मोरङले १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मई दिवस) अवसरमा श्रमिक सम्मान तथा शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गरेको छ। मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान नारासहित विश्वभर यो दिवस बुधबार मनाइएको छ।
मई दिवसलाई श्रमिक र रोजगारदाताले साझा रुपमा एकाकार गर्दै मनाउने सन्दर्भमा संगठनले सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योग प्रतिष्ठानमा लामो समयदेखि कार्यरत ३ जना श्रमिकको सम्मान गरेको हो।
सम्मानित हुनेमा रघुपति जुट मिलमा ३३ वर्षदेखि कार्यरत बलराम मण्डल, रिलायन्स स्पिनिङ मिल्समा २७ वर्षदेखि कार्यरत रामपवित्र साह र स्वस्तिक आयल इन्डस्ट्रिजमा ३६ वर्षदेखि कार्यरत ललनकुमार राय रहेको संगठनले जनाएको छ।
सम्मानितद्वयलाई संगठनका अध्यक्ष राकेश सुराना, वरिष्ठ उपाध्यक्ष नन्दकिशोर राठी, रोजगारदाता उपाध्यक्ष विपिन काबरा र ट्रेड युनियन प्रदेश कमिटीका अध्यक्षद्वयले खादा, माला लगाई सम्मान–पत्र र जनही नगद ११ हजार पुरस्कारसहित सम्मान गरेका थिए।
कार्यक्रममा शुभकामना दिँदै संगठनका अध्यक्ष राकेश सुरानाले उद्योगको उत्पादकत्व अभिवृद्धि र उद्योगमैत्री वातावरण निर्माण गर्न श्रमिक एवं रोजगारदाता दुवैको भूमिका महत्त्वपूर्ण हुने बताए।
उनले उद्योगी र श्रमिकबीचको निरन्तर सम्बाद र सहकार्यले आपसी सम्बन्ध थप प्रगाढ भई असल श्रम सम्बन्ध विकासमा सहयोग पुग्ने बताउँदै आर्थिक क्षेत्रका चुनौती सामना गर्न सक्षम हुने गरी काम गर्न मे दिवसले सबैलाई थप ऊर्जा दिने विश्वास व्यक्त गरे।
संगठनका रोजगारदाता उपाध्यक्ष विपिन काबराले श्रमिक र रोजगारदाता एकअर्कासँगको सहकार्यले मात्र असल श्रम सम्बन्ध विकासमा सहयोग पुग्ने धारणा व्यक्त गरे।
कार्यक्रममा नेपाल ट्रेड युनियन महासंघ कोसी प्रदेशका अध्यक्ष किशोर धमला र ट्रेड युनियन कांग्रेसका पूर्वअध्यक्ष लक्ष्मण बस्नेतले मई दिवस अवसरमा श्रमिक सम्मान कार्यक्रम आयोजना गरेकामा संगठनलाई धन्यवाद दिए।
सो अवसरमा संगठनका पूर्वअध्यक्ष, पदाधिकारी, कार्यसमिति सदस्य, उद्योगी÷व्यवसायी, नेपाल ट्रेड युनियन कांग्रेस, जिफन्ट, अखिल नेपाल ट्रेड युनियन महासंघलगायत ट्रेड युनियनका प्रदेश तथा जिल्ला कमिटी अध्यक्ष, पदाधिकारी, कार्यसमिति सदस्य तथा विभिन्न उद्योग प्रतिष्ठानका श्रमिकको सहभागिता थियो।