काठमाडौं। नेपालमा १६ लाखदेखि साढे २ करोड रुपैयाँसम्मका गाडी उपलब्ध छन्। गाडीको फिचर, गुणस्तर, सुविधा, ब्रान्डलगायत विभिन्न आधारमा मूल्य निर्धारित हुन्छ। मूल्य अनुसार गाडीका फिचरहरु पनि फरकफरक हुन्छन्। प्रयोगकर्ताले आफ्नो बजेट र उपयोगिताका आधारमा सवारीसाधन रोज्ने गर्दछन्।
नेपालमा बढी मात्रामा मध्यम मूल्यका गाडी बिक्री हुने गर्दछन् भने कम मूल्यका गाडीमा पनि ग्राहकको उत्तिकै आकर्षण पाइन्छ। विकासोन्मुख राष्ट्रका रुपमा लिइने नेपालको सडकमा विश्वमा चर्चित र महंगा मानिएका गाडी समेत दौडिरहेका छन्। गत वर्ष पनि बजारमा निकै महँगा गाडी भित्रिए। यहाँ २०८० मा नेपाल प्रवेश गरेका सबैभन्दा महँगा र सबैभन्दा सस्ता मूल्यका केही गाडी र तिनको विशेषताबारे चर्चा गरिएको छ ः
महंगा गाडी
नेपाली बजारमा हालै उपलब्ध भएका १ करोड रुपैयाँभन्दा माथिको गाडीलाई यहाँ महंगो गाडीको रुपमा राखिएको छ।
बिएमडब्लू आइएक्स–३
यो वर्ष नेपाली बजारमा भित्रिएको सबैभन्दा महंगो गाडीमा आइएक्स–३ पर्छ। जर्मन प्रिमियम कार ब्राण्ड बिएमडब्लुको सफल मोडेल आइएक्स–३ नेपालमा २ करोड ३० लाख रुपैयाँमा भित्रिएको हो। नेपालमा पेट्रोलबाट चल्ने मोडल एक्स–३ को सफलतापछि लक्ष्मी प्रिमियम मोटर्सले प्योर इलेक्ट्रिक मोडल आइएक्स ३ नेपाल ल्याएको हो।
यसमा ८० किलोवाट पावर क्षमताको लिथियम आयोन ब्याट्री, २१० किलोवाट क्षमताको रियर ह्वील ड्राइभ मोटर यसमा पाउन सकिन्छ। कम्पनीले यसमा ५.० ई–ड्राइभ टेक्नोलोजी प्रयोग गरेको छ। यसको अधिकतम पावर २८५ पीएस र टर्क ४०० न्यूटन मिटर रहेको छ।
यसमा रहेको ८० किलोवाट आवरको ब्याट्रीले सिंगल चार्जमा ४६० किलोमिटर रेन्ज प्रदान गर्ने डब्लूएलटीपीको परीक्षणले प्रमाणित गरेको छ। उक्त ब्याट्रीलाई १५० किलोवाट क्षमताको डिसी चार्जरले ३४ मिनेटमा शून्यबाट ८० प्रतिशत चार्ज गर्ने क्षमता राख्छ।
टेस्ला मोडल थ्री
नेपाली बजारमा टेस्लाका विद्युतीय कार करिब दुई वर्षदेखि बिक्री भइरहेका छन्। तीमध्ये टेस्ला मोडल ३ र मोडल वाई विश्व बजारमा निकै रुचाइएका कार हुन्। नेपाली बजारमा गत वर्ष भित्रिएको महंगो गाडीमा टेस्ला मोडल थ्री पनि पर्दछ। टेस्ला मोडल थ्री अरेट इन्टरनेसलले नेपाल ल्याएको हो। ठूलो परिमार्जनसहित नेपाल आएको यो नयाँ कार टेस्ला मोडल थ्रीको रिफ्रेस भर्सन हो।
निकै ठूलो मूनरुफ, नयाँ एम्बीयन्ट लाइट, उत्कृष्ट क्याविन, फ्यूचरिष्टिक बडी डिजाइनका कारण मोडल थ्रीले विश्वभरका विद्युतीय कार चाहनेहरुको मन जित्न सफल भएको छ। नेपाली बजारमा उपलब्ध मोडल थ्री स्टाइण्डर्ड रेन्ज प्लस भेरियन्टको मूल्य १ करोड ३५ लाख रुपैयाँ रहेको छ।
स्काइवेल
जी मोटर्स प्रालिले नेपाल ल्याएको चिनियाँ विद्युतीय ब्रान्ड स्काइवेल ५८ भन्दा बढी देशमा बिक्री हुँदै आएको छ। जर्मनी, इजरायल, टर्की, रसिया, र नेपाललगायत विभिन्न देशहरुमा स्काइवेल विक्री हुँदै आइरहेको छ। नेपाली बजारमा सबैभन्दा बढी रेन्ज अर्थात् सिंगल चार्जमा ६२० किलोमिटर रेन्ज दिन्छ।
स्काइवेल ईटी५ मा ८५.९ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ। यसमा १५० किलोवाट क्षमताको विद्युतीय मोटर रहेको छ। यसको मूल्य १ करोड ९ लाख रुपैयाँ निर्धारण गरिएको छ। एसयूभी विशेष गरी इन्टेलिजेन्ट स्टाइलिङ, इन्टेलिजेन्ट इन्जोइमेन्ट, इन्टेलिजेन्ट कनेक्टिभिटी, इन्टेलिजेन्ट ड्राइभिङ, इन्टेलिजेन्ट सेक्युरिटी, इन्टेलिजेन्ट इलेक्ट्रोनिक र इन्टेलिजेन्ट जोयमा आधारित रहेर प्योर ईभी प्ल्याटफर्ममा बनेको हो।
टोयोटाको यारिस क्रस हाइब्रिड
नेपालका लागि टोयोटाको आधिकारिक विक्रेता युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले टोयोटाको यारिस क्रस हाइब्रिड गाडी नेपाल ल्याएको थियो। यो नयाँ यारिस क्रसको लम्बाई ४३१० एमएम, चौडाई १७७० एमएम र उचाई १६१५ एमएम छ। यसमा २६२० एमएम लामो ह्वीलवेस र १८ इन्च को टायर पाउन सकिन्छ।
हाइब्रिड पावरट्रेन भएकोले यसमा इलेक्ट्रिक मोटर र ४.३ एम्पियर आवरको ब्याट्री प्याक पाउन सकिन्छ। रिजेनेरेटीभ ब्रेकिङ सिस्टम रहेको गाडीमा ई–सीभीटी गियरबक्स पाउन सकिन्छ। यसको डिस्प्लेसमेन्ट १५०० सीसी, चार सिलिण्डर ड्यूल भीभीटी–आई इन्जिन रहेको छ र ग्राउन्ड क्लियारेन्स भने २१० मिमी रहेको छ। यसको ब्याट्री प्रकार लिथियम–आयोन हो भने यो मोडलमा प्यानोरेमिक ग्लास रूफ, १०.१ इन्चको इन्फोटेन्मेन्ट सिस्टम, ७ इन्चको मल्टी इन्फर्मेशन डिस्प्ले, ६ स्पीकर, र प्यानोरेमिक ३६० डिग्री क्यामेरा साथै, पार्किङ ब्रेक, अटो होल्ड पनि यसमा छ। यसको मुल्य १ करोड २२ लाख रुपैयाँ तोकिएको छ।
बिवाईडी सिल
नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले बिवाइडीको सिल ३ भेरियन्ट नेपालमा ल्याएको थियो। कम्पनीले १ करोड ५ लाखदेखि १ करोड ८५ लाख रुपैयाँसम्म मूल्य निर्धारण गरेको छ। सिलको लो भेरियन्टमा ६१.४४ किलोवाट आवरको ब्याट्रि र १५० किलोवाटको मोटर जडान गरिएको छ। यसले ४ सय ६० किलोमिटरको रेन्ज दिने डब्लुएलटिसीको टेस्टले जनाएको छ।
त्यस्तै, सिलको मिड र हाई रेन्जमा ८२.५६ किलोवाट आवरको ब्याट्री र २ सय ३० किलोवाटको मोटर छ। डब्लुएलटिसीको रिपोर्टअनुसार मिड भेरियन्टले ५ सय ७० र हाई भेरियन्टले ५ सय २० किलोमिटर रेन्ज दिन्छ।
औडीको ‘ई–ट्रोन ३५’ र ‘ई–ट्रोन ३५ स्पोर्टब्याक’
नेपालका लागि आधिकारिक वितरक काइरोस इन्टरनेसनलले जर्मन विलासी कार औडीको ई–ट्रोन ३५’ र ‘ई–ट्रोन ३५ स्पोर्टब्याक’ गरी दुई भेरियन्टमा नेपाल ल्याएको थियो। यी विद्युतीय कारमा ५५ किलोवाट आवरको लिथियम आयोन ब्याट्री प्याक छ। यसमा रहेको मोटरको पिक पावर १ सय २५ किलोवाट छ। यसको ग्राउन्ड क्लियरेन्स १ सय ८० मिलिमिटर (एमएम) छ।
औडीको यो कारले एकपटक फुलचार्जमा ३ सय ४९ किलोमिटर रेन्ज दिने डब्लुएलटिपीले प्रमाणित गरेको छ। औडीको ई–ट्रोन ३५ को नेपाली बजारमा मूल्य १ करोड ४५ लाख ३३ हजार २० रुपैयाँ र औडी क्यु फोर ३५ ई–ट्रोन स्पोर्टब्याकको मूल्य १ करोड ५० लाख ७३ हजार ९ सय ३६ रुपैयाँ निर्धारण गरिएको छ।
सस्तो गाडी
नेपालमा गत वर्ष भित्रिएका गाडीहरुमध्ये यहाँ ४० लाख रुपैयाँभन्दा कम मूल्यका गाडी उल्लेख गरिएको छ।
सेरेस मिनि ईभी
एमडब्लु वृद्धि अटोकर्प नेपाल ल्याएको सेरेस मिनी ईभी ३ भेरियन्टमा नेपाल आएको थियो। तीन भेरिएन्टमा उपलब्ध सेरेस मिनी ईभीको सर्ट रेन्जलाई १३ लाख ९९ हजार, यसकै फुल अप्सनलाई १६ लाख ४९ हजार र लङ रेन्जको १७ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको थियो।
कम्पनीले यसको सर्ट रेन्ज भेरिएन्टमा १३ किलोवाट आवरको ब्याट्री प्याक दिएको छ भने यसले सिंगल चार्जमा १८० किलोमिटर रेन्ज दिने दाबी गरिएको छ। १६ किलोवाट आवरको ब्याट्री प्याक जडान गरिएको लङ रेन्जले २२० किलोमिटर रेन्ज दिने दाबी कम्पनीको छ।
एमजी कोमेट
एमजीको विद्युतीय गाडी नेपाली बजारमा २०८० भदौमा आएको थियो। एमजी गाडीका लागि नेपालको आधिकारिक वितरक तथा आयातकर्ता पारामाउन्ट मोटर्सले १७ लाख ९९ हजार रुपैयाँ मूल्य निर्धारण गरी कोमेट नेपालमा ल्याएको थियो। एमजी कोमेट भारतमा बनेको आकर्षक मूल्यको ईभी हो, जसले सिंगल चार्जमा २ सय ३० किलोमिटर रेन्ज दिन्छ।
सिट्रोन
सिट्रोनको नेपालका लागि आधिकारिक विक्रेता सांग्रिला मोटर्सले सिट्रोन ई–सीको मूल्य ३२ लाख ९९ हजार रुपैयाँ निर्धारण गरेको छ। ट्रोन ई–सी३ मा २९.२ केडब्ल्युएचको ब्याट्री प्याक दिइएको छ। यसले ५७ बीएचको पावर र १४३ एनएमको टर्क जेनेरेट गर्छ। सिट्रोनलको सो ईभीले ८ सेकेन्डमा ०–६० किलोमिटर प्रतिघण्टाको गति लिन सक्ने दाबी गरिएको छ।
उक्त गाडीमा ब्याट्रीलाई फुल चार्ज गर्न १० घण्टाको समय लाग्छ भने डीसी फास्ट चार्जरबाट १० देखि ८० प्रतिशतसम्म चार्ज हुन ५९ मिनेटको समय लाग्छ। एक पटक फुल चार्ज भइसकेपछि सो कारले ३२० किमीको रेन्ज प्रदान गर्छ।
बीवाईडी डल्फिन
बीवाईडी डल्फिनको नेपालको लागि आधिकारिक विक्रेता साइमेक्स इंकले ईभी बीवाईडी डल्फिन नेपाल भित्र्याएको थियो। ४४.९ किलोवाट आवर क्षमताको ब्याट्री भएको यो गाडीले एक पटकको चार्जमा ३४० किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ। गाडीको मूल्य नेपाली बजारमा ३९ लाख ८० हजार रुपैयाँ निर्धारण गरिएको छ।
टाटाको टियागो इभी
नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङले टियागो ईभी नेपाली बजारमा भित्र्याएको थियो। कम्पनीले टियागोलाई मिडियम र लङ रेञ्ज गरी दुई भेरियन्टमा उपलब्ध गराएको छ । मिडियम रेञ्जअन्तर्गत एक्सई र एक्सटी मोडेल छन् भने लङ रेञ्जअन्तर्गत एक्सटी, एक्सजेड प्लस, एक्स जेड प्लस टेक लक्स मोडेल रहेका छन्।
मिडियम रेञ्ज अन्तर्गतको टियागो ईभी एसईको मूल्य २१ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ। त्यस्तै मिडियम रेञ्ज अन्तर्गतको टियागो ईभी एक्सटीको मूल्य २२ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ। त्यसैगरी लङ रेञ्ज अन्तर्गतको टियागो ईभी एक्सटीको मूल्य २५ लाख ४९ हजार, एक्स जेड प्लसको मूल्य २६ लाख ९९ हजार, एक्स जेड प्लस टेक लक्सको मूल्य २७ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।
मिडियम रेञ्जमा १९.२ र लङ रेञ्जमा २४ किलोवाट आवर क्षमताको लिथियम आयन ब्याट्री दिइएको छ। टियागो ईभीको मिडियम रेञ्जमा ४५ किलोवाट र लङ रेञ्जमा ४९.०१ किलोवाट क्षमताको पर्मानेन्ट सिन्क्रोनस मोटर दिइएको छ। यो गाडीलाई ७.२ किलोवाटको एसी फास्ट चार्जरले १० देखि १०० प्रतिशतसम्म चार्ज गर्न साढे दुईदेखि साढे तीन घण्टासम्म लाग्ने बताइएको छ।
वुलिङ
नेपालका लागि आधिकारि वितरक बज्र ग्रुपले वुलिङको विद्युतीय गाडी २० लाख ९९ हजार रुपैयाँमा बिक्री गर्दै आएको छ। वुलिङका एयर ईभी विद्युतीय गाडीले एकपटकको फुल चार्जमा २०० देखि ३०० किलोमिटर रेन्ज दिने कम्पनीले जनाएको छ।
सिटी ड्राइभिङका लागि उपयुक्त यो इलेक्ट्रिक कार ३० किलोवाट र ५० किलोवाट क्षमतामा उपलब्ध छ। वुलिङका कार ४ घण्टामा फुल चार्ज हुने दाबी गरिएको छ। यो कारमा कम्पनीले ८ वर्षको वारेन्टी दिएको छ।