काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले डिजिटल नेपाल फ्रेमवर्क २०७६ सन्तोषजनक रुपमा अगाडि बढ्न नसकेको बताएकी छन्। आज सातौं राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०८१ अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा उनले यस्तो बताएकी हुन्।
‘तीव्र विकास र उच्च आर्थिक वृद्धिका लागि धेरैभन्दा धेरै सूचना प्रविधि उपयोग गरी आर्थिक तथा सामाजिक क्षेत्रमा रुपान्तरण गर्ने विश्वासका साथ सुरु गरिएको डिजिटल नेपाल फ्रेमवर्क २०७६ सन्तोषजनक रुपमा अगाडि बढ्न सकेको छैन’, मन्त्री शर्माले भनिन्, ‘यसलाई आवश्यक परिमार्जन गरेर हरेक क्षेत्रलाई डिजिटलाइजेसन गर्दै डिजिटल रुपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्ने काममा केन्द्रित हुन जरुरी छ।’
मन्त्री शर्माले अर्थतन्त्रको विकासका लागि नयाँ र उदीयमान क्षेत्रको रुपमा सूचना प्रविधि आएको बताइन्। अहिले सूचना प्रविधिमा निजी क्षेत्र उत्साहित भएर आएको र रोजगारीका लागि लाखौं व्यक्ति बाहिरिएको अवस्थामा यो क्षेत्रले योगदान दिन सक्ने उनको धारणा छ।
सूचना प्रविधि क्षेत्रमा लगानी वृद्धि गर्न आवश्यक नीति, कानुन र पूर्वाधार विकासका लागि सरकार अघि बढेको उनले जानकारी दिइन्।
साइबर स्पेसलाई सुरक्षित र व्यवस्थित गर्ने उद्देश्यले पहिलो पटक राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० जारी गरिएको उनले बताइन्। ‘राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना भएको छ। सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक तर्जुमाको काम भएको छ’, उनले भनिन्।
सञ्चारमन्त्री शर्माले दूरसञ्चार ऐनको पुनरवलोकन गर्ने काम भइरहेको र सूचना तथा सञ्चार प्रविधि नीति, २०७२, दूरसञ्चार नीति, २०६० र ब्रोडब्यान्ड नीति, २०७१ लाई पुनरवलोकन गरी एकीकृत नीति तर्जुमा गर्ने कार्य पनि अगाडि बढेको जानकारी दिइन्।
‘राज्यले नागरिकलाई उपलब्ध गराउने सेवाहरु सूचना प्रविधिमैत्री हुँदै गइरहेका छन्। विभिन्न सार्वजनिक सेवामा विद्युतीय प्रणालीको उपयोग बढेको छ। दैनिक जीवनमा प्रयोग हुने आधारभूत सेवादेखि राष्ट्रिय र अन्तर्राष्ट्रिय महत्त्वका कार्यमा विद्युतीय प्रणालीको उपयोग बढेको छ’, मन्त्री शर्माले भनिन्।
डिजिटल भुक्तानी प्रणालीको विकास र उपयोगलाई अझै तीव्र र प्रभावकारी बनाउन सरकारले आधारभूत डिजिटल पूर्वाधारको रुपमा देशभर दूरसञ्चार सेवाको पहुँच विस्तारलाई जोड दिएको उनले बताइन्।