काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कृषिलाई आधार र सूचना प्रविधिलाई अग्रणी क्षेत्र मानेर बजेट तथा नीति कार्यक्रम तर्जुमा हुने बताएका छन्। आज सातौं राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०८१ अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन्।
‘सूचना प्रविधिको विकास र विस्तारबिना मुलुकको आर्थिक विकास हुँदैन। मुलुक समृद्ध बनाउन आगामी वर्षको बजेटमा कृषिलाई प्रमुख आधार र सूचना प्रविधिलाई अग्रणी क्षेत्र मानेर बजेट तथा नीति कार्यक्रम तर्जुमा हुन्छ’, प्रधानमन्त्रीले भने, ‘यसले नेपालको नवप्रवर्द्धन र स्टार्टअप विकासमा मद्दत पुग्नेछ।’
प्रधानमन्त्री दाहालले सूचना प्रविधिको विकास र विस्तार निजी तथा सार्वजनिक क्षेत्रले गर्दै आएको बताए। यसले डिजिटलाइजेसनमा जान मद्दत पुग्दै गएको उनको भनाइ छ।
‘अन्तर्राष्ट्रिय डाटा सेन्टर स्थापनामा सरकारको मुख्य भूमिका रहनेछ। यसको रणनीति र सूचना प्रविधिसम्बन्धी कानुन निर्माणमा काम भइरहेको छ’, दाहालले भने, ‘दिनहुँ बढिरहेको साइबर सुरक्षा विषयलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ। यसैका लागि राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापनासमेत भएको छ।’
दाहालले आगामी बजेटमा नवप्रवर्द्धन कोष स्थापना गरिने जानकारी दिए। नेपालको बजेटमा चालू आर्थिक वर्षमा इतिहासमै पहिलो पटक पुँजीगत बजेटको १ प्रतिशत छुट्याउने काम भएको र यसले आइटी तथा स्टार्टअप क्षेत्रको विकासमा योगदान पुग्ने दाहालको विश्वास छ।
‘सञ्चार तथा सूचना प्रविधिको विकास, विस्तार र प्रयोगबाट नै आर्थिक, सामाजिक रुपान्तरण गर्न सकिन्छ भन्ने सरकारको विश्वास छ’, प्रधानमन्त्री प्रचण्डले भने, ‘यही यथार्थलाई आत्मसात गर्दै सरकारले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा नवप्रवर्तन कोष स्थापना गर्न आवश्यक कानुन तर्जुमा गृहकार्य अगाडि बढाएको छ।’
कोष स्थापनासँगै स्वविवेक, क्षमता र पहुँचमा सूचना प्रविधिमार्फत अर्बौंको आम्दानी गरिरहेका युवा वैज्ञानिकलाई प्रोत्साहित हुनुका साथै युवा पुस्तालाई देशभित्र आशा जगाउन एवं अर्थतन्त्रमा गुणात्मक सुधार ल्याउन सकिने प्रधानमन्त्री प्रचण्डले विश्वास व्यक्त गरे।
‘उत्पादकत्व वृद्धि र रोजगारी सिर्जनाका कार्यक्रमअन्तर्गत कृषिजन्य उत्पादन एवं सार्वजनिक सेवाका क्षेत्रमा नवप्रवर्तनलाई प्रोत्साहित गर्ने नीति अगाडि सार्ने तयारी छ। देशभित्रै केही गर्न चाहने युवाका निम्ति नयाँ अवसर सिर्जना गरिन्छ’, दाहालले भने, ‘युवा लक्षित स्टार्टअप कार्यक्रमलाई एकीकृत गरी प्रभावकारी कार्यान्वयन गर्न सरकार लागिरहेको छ।’
सूचना–प्रविधिलाई ‘लिडिङ फ्याक्टर’ का रुपमा स्वीकार गरेर मात्र विकास, सुशासन र रोजगारीमार्फत समृद्धि हासिल गर्न सकिने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले सञ्चार तथा सूचना प्रविधि क्षेत्रमा तीव्र विकास गरी यसको माध्यमबाट आम नागरिकको आर्थिक, सामाजिक जीवन रुपान्तरणका निम्ति सबैमा अपिल गरे।