काठमाडौं। लगानी बोर्ड नेपालले तेस्रो लगानी सम्मेलन (वैशाख १६÷१७) का बेला २० आयोजनाका लागि आशयपत्र आह्वान (इआईओ) गरेको छ। सम्बन्धित मन्त्रालय वा लगानी बोर्डले सामान्य अध्ययन गरी आयोजनाको लागत आकलन गरिएको अवस्थामा बोर्डले आशयपत्र मागेको हो।
यद्यपि आशयपत्र पेस गर्ने कम्पनीलाई आयोजनाबारे सामान्य ज्ञान हुनुपर्दछ। आयोजना जिम्मेवारी लिएको अवस्थामा विस्तृत अध्ययन गर्नुपर्छ।
बोर्डले आशयपत्र आह्वान गरेका २० मध्ये १७ आयोजनाको लागत ८ खर्ब ४९ अर्ब ५१ करोड रुपैयाँ छ। बोर्डबाट प्रस्तावित आयोजनामध्ये ३ वटाको विवरण तयार भएको छैन। यसअघि २०८० चैत २५ मा बसेको बोर्डको प्राविधिक समितिले २० आयोजनामा आशयपत्र आह्वान गर्न सिफारिस गरेको थियो।
बोर्डले तेस्रो लगानी सम्मेलनका दौरान आशयपत्र आह्वान गरेको थियो। आशयपत्र मागिएका २० आयोजनामध्ये १२ वटा लगानी बोर्डले र ८ वटा अन्य मन्त्रालयले सामान्य अध्ययन गरी आयोजना अघि बढाउन सकिने निष्कर्ष निकालेर बोर्डमा पेस गरेका थिए।
आशयपत्र मागिएका आयोजनामध्ये जलविद्युत् क्षेत्रमा ४५ दिन र गैर–जलविद्युत् क्षेत्रमा ३५ दिनभित्र आवेदन दिइसक्नुपर्नेछ। सम्बन्धित आयोजना बनाउने योजनासहित प्राप्त आवेदनमाथि बोर्डले सम्बन्धित कम्पनीसँग छलफल र वार्ताका माध्यमबाट कसले लगानी गर्ने भन्ने टुंग्याउनेछ।
बोर्डका सहसचिव एवं प्रवक्ता प्रद्युम्नप्रसाद उपाध्याय भन्छन्, ‘१७ आयोजनाको कुल लागत ८ खर्ब ४९ अर्ब बढी देखिएको छ। आयशपत्र आह्वान भएका ३ आयोजनाको अरु काम अध्ययन भएर कागजी प्रक्रिया पूरा गर्न बाँकी छ। छिट्टै तयार हुन्छ।’
बोर्डबाट आशयपत्र आह्वानका लागि प्रस्तावित १२ आयोजना
लगानी सम्मेलनमा ५० बढी देशका लगानीकर्ता एवं प्रतिनिधि समभागी थिए। १५० सोकेस गरिएकामा २० आयोजनाको आशयपत्र आह्वान गरिएको थियो। सोकेस गरिएका बाहेक ४ आयोजनाको परियोजना विकास सम्झौता (पिडिए) गर्ने भनिए पनि सम्झौता हुन सकेन।
कस्ता अयोजनाको आशयपत्र आह्वान हुन्छ
आशयपत्र आह्वान गर्न अयोजनाको एक चरणको अध्ययन भएको हुनुपर्ने बोर्डका सहसचिव बाबुराज अधिकारी बताउँछन्। उनका अनुसार वातावरणीय प्रभाव मूल्यांकन (इआइए) पूर्वसम्भाव्यता अध्ययन वा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) मध्ये कुनै एउटा अध्ययन गरेपछि आशयपत्र आह्वान गर्न सकिन्छ।
यद्यपि आयोजना निर्माण गर्न इच्छुक लगानीकर्ताले जिम्मेवारी लिएपछि सहजताका लागि थप अध्ययन गर्नुपर्ने सहसचिव अधिकारीको भनाइ छ।