काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले आगामी जुन र जुलाईमा हुने टी २० विश्वकप खेल्ने नेपाली टिम घोषणा गरेको छ। इन्टरनेसन क्रिकेट काउन्सिलले मे १ तारिखभित्र टिम घोषणा गरिसक्नुपर्ने प्रावधानअनुसार क्यानले बुधबार १५ सदस्यीय टिम घोषणा गरेको हो।
रोहित पौडेलको कप्तानी रहेको टिममा आशिफ शेख, अनिलकुमार साह, कुशल भुर्तेल, कुशल मल्ल, दिपेन्द्र सिंह ऐरी छन्। त्यस्तै ललित राजवंशी, करण केसी, गुल्शन झा, सोमपाल कामी, प्रतिस जीसी, सन्दीप जोरा, अविनाश बोहरा, सागर ढकाल र कमल सिंह ऐरी टिममा छन्। जुन १ तारिखदेखि सुरु हुने विश्वकपमा २० टिमको सहभागिता हुनेछ।
४ समूहमा विभाजित गरेर खेलाइने प्रतियोगितामा नेपाल समूह 'डी'मा छ। उक्त समूहमा नेदरल्यान्ड्स, बंगलादेश, श्रीलंका र दक्षिण अफ्रिका छन्।
नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग ४ जुनमा खेल्नेछ। १२ जुनमा श्रीलंका, १५ जुनमा दक्षिण अफ्रिका र १७ जुनमा बंगलादेशसँग खेल्ने नेपालको तालिका छ। समूह चरणको शीर्ष २ टिममा पर्ने टिम सुपर ८ मा पुग्नेछ।