काठमाडौं। सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले राज्यले नागरिकलाई उपलब्ध गराउने सेवा सूचना प्रविधिमैत्री हुँदै गएको बताएकी छन्।
बिहीबार सातौं राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस, २०८१ को अवसरमा शुभकामना व्यक्त गर्दै मन्त्री शर्माले यस्तो बताएकी हुन्।
`सञ्चार तथा सूचना प्रविधि प्रयोगको विस्तार तीव्र गतिमा भइरहेको छ। राज्यले नागरिकलाई उपलब्ध गराउने सेवाहरु सूचना प्रविधिमैत्री हुँदै गइरहेका छन्। आजको दिनमा विभिन्न सार्वजनिक सेवामा विद्युतीय प्रणालीको उपयोग बढेको छ। दैनिक जीवनमा प्रयोग हुने आधारभूत सेवादेखि राष्ट्रिय र अन्तर्राष्ट्रिय महत्वका कार्यहरुमा विद्युतीय प्रणालीको उपयोग बढेको छ,´ मन्त्री शर्माले शुभकामना वक्तव्यमार्फत भनेकी छन्।
डिजिटल भुक्तानी प्रणालीको विकास र उपयोगलाई अझै तीव्र र प्रभावकारी बनाउन सरकारले आधारभूत डिजिटल पूर्वाधारको रुपमा देशभर दूरसञ्चार सेवाको पहुँच विस्तारलाई जोड दिएको बताइन्। उनले सूचना प्रविधिको क्षेत्रमा लगानी वृद्धि गर्नेगरी आवश्यक नीति, कानुन र पूर्वाधार विकासका लागि सरकार दृढतापूर्वक अघि बढेको उल्लेख गरेकी छन्।
साइबर स्पेसलाई सुरक्षित र व्यवस्थित गर्ने उद्देश्यले पहिलोपटक राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० जारी गरिएको र राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गरिएको उनको भनाइ छ। `सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक तर्जुमाको काम भइरहेको छ भने दूरसञ्चार ऐनको पुनरावलोकन गर्ने काम भइरहेको छ,´ मन्त्री शर्माले भनिन्, `सूचना तथा सञ्चार प्रविधि नीति, २०७२, दूरसञ्चार नीति, २०६० र ब्रोडब्याण्ड नीति, २०७१ लाई पुनरावलोकन गरी एकीकृत नीति तर्जुमा गर्ने कार्य भइरहेको छ।´
सरकारले यस वर्ष ‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ भन्ने मूल नाराका साथ सातौं राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस, २०८१ मनाउन लागेको छ।