काठमाडौं। टी–ट्वान्टी शृंखलाको तेस्रो खेलमा नेपाल वेस्ट इन्डिज ‘ए’सँग ७६ रनले पराजित भएको छ। जितका लागि २२८ रनको विजयी लक्ष्य पछ्याएको नेपालको पारी १९ दशमलव २ ओभरमा सवै विकेट गुमाउँदै १५१ रनमा समेटियो।
नेपालका लागि करण केसीले २८, लोकेश बमले २८, कुशल मल्लले २०, विनोद भण्डारीले १९, अनिल साहले १४, कप्तान दीपेन्द्रसिंह ऐरीले ७, गुल्सन झाले ६ तथा विवेक यादव, सागर ढकाल र आरिफ शेखले समान तीन तीन रन बनाए।
करणले १७ बल खेल्दै तीन चौका र एक छक्का प्रहार गरे। बमले २९ बलमा एक चौका र दुई छक्का हाने। नेपाललाई १५१ रनमा समेट्ने क्रममा वेस्ट इन्डिज ‘ए’का हायडेन वाल्सले तीन, गुदाकेश मोतीले दुई तथा फबिएन एलेन, म्याथ्यु फर्ड र ओबेद म्याककोयले एक एक विकेट लिए।
यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको वेस्ट इन्डिज ‘ए’ले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै २२८ रनको योगफल बनायो। वेस्ट इन्डिज ‘ए’का लागि जोनसन चाल्र्सले शतकीय पारी खेले।
उनले ६१ बलमा १३ चौका र सात छक्काको मद्दतमा एक सय १९ रन बनाए। आन्द्रे फ्लेचरले ५३ रन बनाए। उनले ३३ बल खेल्ने क्रममा चार चौका र र तीन छक्का हाने। बलिङतर्फ नेपालका लागि करण केसी र सागर ढकालले एक एक विकेट लिए।
पाँच खेलको जारी शृंखलामा वेस्ट इन्डिज ‘ए’ दुई तथा नेपाल एक खेलमा विजयी भएको छ। पहिलो खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’लाई चार विकेटले हराएको थियो। नेपाल दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’सँग १० रनले पराजित भएको थियो। शृंखलाको चौथो खेल बिहीबार हुनेछ।