काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले श्रमजीवीको हकहित र अधिकार सुनिश्चित नभएसम्म देशमा सामाजिक न्याय एवं समृद्धि सम्भव नहुने बताएका छन्।
१३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवस अवसरमा आज संयुक्त ट्रेड युनियन समन्वय केन्द्रद्वारा भृकुटीमण्डपमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले श्रमजीवी वर्गको हकहित र अधिकार सुनिश्चित गर्न सबै पक्ष लाग्नुपर्ने बताएका हुन्।
‘यही यथार्थलाई आत्मसात गरेर नै नयाँ संविधानमा श्रमिकको हितलाई प्रत्याभूति गरिएको हो’, प्रधानमन्त्री दाहालले भने, ‘उक्त संवैधानिक व्यवस्थालाई व्यवहारमा कार्यान्वयन गर्नु नै वर्तमानमा हाम्रो प्रमुख कार्यभार हो।’ श्रमसम्बन्धी हक र अन्तर्राष्ट्रिय श्रम संगठनको विधान तथा नेपालले अनुमोदन गरेका अभिसन्धिप्रति सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले युवा एवं बौद्धिक जनशक्तिको पलायन रोक्न स्वदेशमा रोजगारी पर्याप्त अवसर उपलब्ध गराइने विश्वास दिलाए।
‘युवाको ज्ञान, सीप र ऊर्जा देश विकासमा लगाउन सरकार निरन्तर क्रियाशील छ। स्वदेशमा रोजगारीको पर्याप्त अवसर नभएसम्म रोजगारीको महत्त्वपूर्ण माध्यमको रूपमा रहेको वैदेशिक रोजगारीलाई थप सुरक्षित, व्यवस्थित तथा मर्यादित बनाउनुपर्दछ’, प्रधानमन्त्री दाहालले भने, ‘सरकारले श्रमिकको हितरक्षालाई केन्द्रमा राख्दै विदेशमा रहेका नेपाली, सरकारी, अर्धसरकारी र सामाजिक क्षेत्रमा क्रियाशील श्रमिकका निम्ति योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन गरी प्रभावकारी कार्यान्वयनसमेत गरिरहेको छ।’
योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीको जग बसाइएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले संविधानमा व्यवस्था भएको समाजवादउन्मुख संविधान कार्यान्वयनको सबैभन्दा महत्त्वपूर्ण आधार सामाजिक न्याय भएको बताए। सामाजिक न्याय कार्यान्वयनको महत्त्वपूर्ण आधार सामाजिक सुरक्षा कार्यक्रम भएको उनले उल्लेख गरे।
लखौं श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्ध भइसकेकाले विदेशमा रहेका नेपाली र अनौपचारिक क्षेत्रका सम्पूर्ण श्रमिकलाई यस कार्यक्रममा समावेश गर्ने प्रक्रिया अगाडि बढिरहेको प्रधानमन्त्री दाहालको भनाइ थियो।