काठमाडौं। वर्ष २०८० मा साढे ८ हजार बढी विद्युतीय गाडी (ईभी) नेपाल भित्रिएका छन्। भन्सार विभागका अनुसार २०८० वैशाखदेखि चैतसम्म ८ हजार ६९२ कार, जिप, भ्यानजस्ता विद्युतीय सवारीसाधन भित्रिएका हुन्।
२०७९ मा २ हजार ७८५ ईभी नेपाल भित्रिएका थिए। यसरी हेर्दा पछिल्लो एक वर्षमा ५ हजार ९२७ युनिट बढी ईभी आयात भएको छ।
सरकारले आर्थिक वर्ष २०७९/८० को बजेटमा ईभीमैत्री कर नीति अवलम्बन गरेको थियो। नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा सञ्चितिमा चाप परेको भन्दै २०७८ पुसमा ईभीबाहेकका अधिकांश सवारीसाधन आयात गर्दा शतप्रतिशत मार्जिन राख्नुपर्ने व्यवस्था गरेको थियो भने २०७९ वैशाख १० बाट सरकारले जिप, कार र भ्यान (एम्बुलेन्स र शववाहनबाहेक), २५० सिसीमाथिका मोटरसाइकललगायत विभिन्न वस्तु आयातमा प्रतिबन्ध लगाएको थियो।
२०७९ भदौमा सबै प्रकारका आयात प्रतिबन्ध हट्यो र राष्ट्र बैंकले पनि विलासी भनिएका वस्तु आयातमा राख्नुपर्ने शतप्रतिशतको मार्जिन व्यवस्था पनि हटायो। तर, आइसी इन्जिन गाडी आयातमा प्रभावित भइरहेको छ।
आयात प्रतिबन्ध नभए पनि ईभी गत वर्ष उल्लेख्य रुपमा आयात भएन। २०८० प्रवेश र २०८०÷८१ को बजेट ईभीको कर बढ्ने हल्लाले यस्ता सवारीसाधन ह्वात्तै बढे। चालू वर्षको बजेटमा ५० किलोवाटभन्दा माथिका ईभीमा करका विभिन्न दर बढे पनि ईभी आयात ह्वात्तै बढेको छ।
वर्ष २०७८ मा १ हजार ६१४ ईभी नेपाल भित्रिएको तथ्यांक भन्सार विभागसँग छ। उक्त वर्षबाट मात्रै नेपालमा विद्युतीय सवारीसाधनको प्रवेशले तीव्रता पाउन सुरु गरेको थियो। तर, २०७९ वैशाखबाट करिब ७ महिना आयात प्रतिबन्ध लाग्दाको असर प्रतिबन्ध नभएका ईभीमा पनि परेको थियो। त्यस वर्ष २ हजार ७ सय ईभी नेपाल भित्रिए।
सरकारले आर्थिक वर्ष २०७९/८० को बजेटमा ईभीमैत्री कर नीति अवलम्बन गरेको थियो। राष्ट्र बैंकले विदेशी मुद्रा सञ्चितिमा चाप परेको भन्दै २०७८ पुसमा ईभीबाहेकका अधिकांश सवारीसाधन आयात गर्दा शतप्रतिशत मार्जिन राख्नुपर्ने व्यवस्था गरेको थियो।२०७९ वैशाख १० बाट सरकारले जिप, कार र भ्यान (एम्बुलेन्स र शववाहनबाहेक), २५० सिसीमाथिका मोटरसाइकललगायत विभिन्न वस्तु आयातमा प्रतिबन्ध लगाएको थियो।
विभागका अनुसार २०८० मा ५० किलोवाट देखि २०० किलोवाट क्षमतासम्मका ८ हजार ६ सय ७४ विद्युतीय गाडी भित्रिएका छन्। बाँकी गाडी २०० किलोवाट वा सोभन्दा बढी क्षमताका छन्।
पछिल्लो एक वर्षमा नेपालमा चीनबाट मात्र ५० देखि २०० किलोवाट क्षमताका ५ हजार ४५७, भारतबाट २ हजार ९८२, कोरियाबाट १६७, इन्डोनयसियाबाट ४५ र जर्मनीबाट १० युनिट गाडी नेपाल भित्रिएका छन्। नेपालमा बढी मात्रामा ५० देखि २०० किलोवाट क्षमताका ईभी भित्रिने गरेका छन्। २०० किलोवाट क्षमताभन्दा बढीको गाडी आयात हिस्सा भने न्यून छ।