काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम तथा रोजगारसँग सम्बन्धित ‘श्रमाधान योजना’ घोषणा गरेको छ।मन्त्रालयले अन्तर्राष्ट्रिय श्रमिक दिवस अवसर पारेर श्रमाधान योजना घोषणा गरेको हो। श्रममन्त्री डोलप्रसाद अर्यालले श्रमाधान योजनाको घोषणा गर्दै नेपाल र विदेशमा रहेका नेपाली श्रमिकको सबै खाले समस्या एकद्वार प्रणालीबाट समाधान गरिने बताए।
‘मन्त्रालयले अहिले पनि कल सेन्टर सञ्चालन गरेको छ तर, यसको काम सीमित भयो। त्यसैले बृहत् रुपमा श्रमिक समस्या समाधानदेखि जिज्ञासा, सुझाव तथा गुनासा सम्बोधन गर्ने गरी योजना सञ्चालन गरिएको हो,’ उनले भने।
श्रमाधानको पहिलो चरणमा सात वटा क्षेत्रसँग सम्बन्धित कार्यक्रम समावेश गरिएका छन्। इन्द्रेणीका सात रंगसँग मेल खाने गरी प्रत्येक कार्यक्रमलाई विशेष रगंसँग जोडिएको छ। यसले प्रत्येक कार्यक्रमको उद्देश्य र महत्त्वलई प्रतिविम्बित गर्छ।
श्रमाधान योजनाको पहिलो ‘सेकेन्ड इनिङ’ कार्यक्रम रहेको छ, जसले काममा सक्रिय रहने उमेर कटेपछि वा अवकाशपछि आफूसँग रहेको सीप कसरी प्रयोग गर्ने भन्ने विषयमा काम गर्ने मन्त्री अर्यालले बताए। दोस्रोमा ‘रोजगार बैंक’ रहेको छ।
यसले रोजगार दाता र रोजगारी खोज्नेबीच समन्वय गर्नेछ। तेस्रोमा रहेको ‘समता’ कार्यक्रमले समानताको प्रत्याभूति गर्ने लक्ष्य रहेको मन्त्री अर्यालले जानकारी दिए। यसमा विशेष समुदायलाई प्राथमिकता दिइनेछ।
चौथोमा ‘ल’ कार्यक्रम राखिएको छ। कार्यक्रममार्फत श्रमिकलाई कानुनी रूपमा सक्षम बनाउने उद्देश्य मन्त्रालयको छ। श्रमसम्बन्धी कानुन सबैले जानून् भन्ने लक्ष्य रहेको मन्त्री अर्यालले बताए।
विश्व बजारको श्रमसँग नेपालका श्रमिकलाई प्रतिस्पर्धी बनाउने उद्देश्यको ‘कनेक्ट’ र ‘साथ’ कार्यक्रम रहेको छ। यसले विश्व बजारमा रहेका श्रमिकको साथमा नेपाल सरकार, मिडिया, कर्मचारी रहेको आभास गराउने लक्ष्य राखेको छ।
त्यस्तै, अर्को ‘कल सेन्टर’ कार्यक्रम छ। कल सेन्टरबाट समस्या, जिज्ञासा संकलन गरी सम्बन्धित निकायमा पु¥याएर समाधान गरिने मन्त्रालयले जनाएको छ।
श्रमाधान योजनाभित्रका सात कार्यक्रमलाई क्रमिक रुपमा सञ्चालनमा ल्याइने मन्त्रालयको भनाइ छ। पहिलो चरणमा श्रमाधान कल सेन्टर सञ्चालन गरिने श्रममन्त्री अर्यालले बताए।