दमौली। निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत प्रसारण लाइनको काम ७३ प्रतिशत सकिएको छ। आयोजनाको तेस्रो प्याकेजका रुपमा रहेको प्रसारण लाइन निर्माणको काम ७३ प्रतिशत सकिएको आयोजनाले जानकारी दिएको छ।
प्रसारण लाइन निर्माणको अवधि २०८१ पुस ४ गतेसम्म रहेको छ। विभिन्न कारण प्रसारण लाइन निर्माणमा ढिलाइ भएको आयोजना प्रमुख श्यामजी भण्डारीले बताए। निरन्तर रुपमा काम गर्न पाएको भए यो प्याकेजको काम अहिले भन्दा धेरै हुने उनको भनाइ छ।
केइसी इन्टरनेसनल, भारतले दमौलीबाट चितवनको भरतपुरसम्म दुई सय २० केभीको ३६ किलोमिटर डबल सर्किट प्रसारण लाइन निर्माण गरिरहेको छ। प्रसारण लाइन निर्माण सन् २०२२ मे सम्ममा सम्पन्न गर्ने लक्ष्य राखिए पनि कोभिड १९ को महामारी र वन क्षेत्रको रुख कटानको स्वीकृति वन मन्त्रालयबाट प्राप्त नहुँदा सम्झौता म्याद थप गरिएको छ। 'वनको नीतिगत समस्याका कारण काममा ढिलाइ भयो, प्रसारण लाइन निर्माणमा भएको ढिलाइ हटाउँदै कामलाई तीव्रता दिन ऊर्जा मन्त्रालयले सहमति गरेकाले काम अगाडि बढेको छ,' उनले भने।
दमौली-भरतपुर दुई सय २० केभी ३४ दशमलव सात किलोमिटर प्रसारण लाइनमा पर्ने ९४ वटा टावरमध्ये हालसम्म ७६ टावरको जग हाल्ने र ६४ वटा टावर जडान कार्य सम्पन्न भएको भण्डारीले जानकारी दिए। उनका अनुसार तीनवटा टावरको जग हाल्ने र चारवटा टावर राख्ने काम जारी छ। १८ वटा टावरको जग संरक्षण कार्य सम्पन्न भएको छ। चार स्थानमा काम भइरहेको छ।
प्रसारण लाइन निर्माणका लागि कूल ५९ कित्ता (२३ रोपनी पाँच आना) जग्गा अधिग्रहण गरिनेछ। तनहुँतर्फ व्यास नगरपालिका-१३ र १४, बन्दीपुर गाउँपालिका–६, आँबुखैरेनी गाउँपालिका-६, देवघाट गाउँपालिका-४ र ५ भित्र पर्ने जग्गा अधिग्रहण गरिने आयोजनाले जनाएको छ। आयोजनाको प्याकेज-१ अन्तर्गत बाँधलगायत संरचना निर्माणमा ३० दशमलव पाँच प्रतिशत प्रगति भएको छ। यस प्याकेजको निर्माण सोङ्दा कालिका जेभीले गरिरहेको छ।
प्याकेज-२ अन्तर्गत विद्युत्गृह तथा सम्बन्धित उपकरणमा ५४ प्रतिशत प्रगति भएको छ। यो प्याकेजको निर्माण सिनो हाइड्रोले गरिरहेको छ। प्याकेज-१ अन्तर्गत एक सय ४० मिटर अग्लो बाँध निर्माणका लागि सोङ्ददा कर्पोरेसन, भियतनाम–कालिका कन्सट्रक्सन (प्रा) लि. नेपाल जेभीसँगको ठेक्का सम्झौता २०७८ भदौ १४ गते भएको थियो।
आयोजनाको सुरुङ, विद्युत् गृह निर्माण र हाइड्रोमेकालिन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायत प्याकेज-२ निर्माण गर्न सिनो हाइड्रो कर्पोरेसन, चीनसँग विसं २०७५ असोज १५ गते खरिद सम्झौता भएको थियो। रासस