काठमाडौं । काठमाडौं उपत्यकाभित्र रात्रीबस सञ्चालन गर्ने यातायात व्यवस्था विभाग र काठमाडौ महानगरको योजना अधुरै भएको छ । व्यवसायी र यातायात व्यवस्था विभाग बीच भाडाको दरमा सहमती नहुँदा उपत्यकाभित्र रात्री बस सञ्चालन गर्ने योजनामा अन्योलमा परेको छ ।
२०७६ असार १ देखी नै उपत्यकाका विभिन्न रुटमा रात्रीबस सञ्चालन गर्ने यातायात व्यवस्था विभागले तयारी गरेको थियो । तर, विभागले निर्धारण गरेको भाडा दरमा ब्यवासायीहरु सहमत नभएपछि रात्री बस चलाउन नसकिएको विभागको भनाई छ ।
अहिले काठमाडौ उपत्यकामा राती ८ बजे पछि सार्वजानिक सवारी पाउन सकिदैन । जसले गर्दा बिशेष गरि अबेरसम्म काम गर्ने कर्मचारी तथा आपतकालिन अवस्थामा महंगो ट्याक्सी चढ्नुको बिकल्प छैन ।
विभागले काठमाडौ, ललितपुर महानगरपालिका तथा अन्य नगरहरुसँगको सहकार्यमा रात्री बस सञ्चालनमा ल्याउने तयारी गरेको थियो । उक्त समयमा १२ कम्पनीलाई १८ रुटमा सञ्चालन अनुमति पनि दिएको थियो । रात्री बसको लागी विभागले न्युनतम २५ रुपैयाँ भाडा दर तोकेको थियो । तर, ब्यवसायीले रात्रीको समयमा सेवा प्रदान गर्दा साबिकको भन्दा दोब्बर हुनुपर्ने भाडा तोक्नुपर्ने बताएको थियो ।
साझा यातायातले पनि दुई बर्ष अगाडी ९ बजेदेखी ११ बजेसम्म रात्री सेवा शुरु गरेको थियो । तर, आर्थिक रुपमा नोक्सान भएको भन्दै सेवा नै बन्द ग¥यो । यसभन्दा अगाडी २०६९ भदौमा तत्कालिन उपप्रधानमन्त्रि नारायणकाजी श्रेष्ठको पहलमा रात्री बस सेवा सञ्चालनमा ल्याइएको थियो । उक्त समयमा काठमाडौ महानगरपालिकाले व्यवसायी समितिलाई राती ३ घण्टा बस सञ्चालन गर्दा ४५ लाख अनुदान दिएको थियो । तर, व्यवसायीहरुले अनुदान लिएको केही समय विभिन्न रुट छुट्याएर सेवा सञ्चालनमा ल्याए पनि पछि यात्रु नपाएको भन्दै सेवा बन्द गरेका थिए ।
अहिले रात्री बस सञ्चालनको बिषयमा भइरहेको छलफलले चाडैं निकाश पाउने यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए । उनले भने‘ उपत्यकाभित्र रात्री बस सञ्चालन गर्ने नै हो । कुरा भाडादरको रहेको छ, छलफलको निर्णय अनुसार अगाडी बढ्छौ ।’
यता, रात्री बस सञ्चालन गर्न व्यवसायीको माग अनुसार केहि भाडादर बृद्धिगर्न सकारात्मक रहेको काठमाडौं महानगरका सहरी सुव्यवस्था विभागका प्रमुख हरीकँुवर श्रेष्ठको भनाई छ । उनका अनुसार महानगरले पनि रात्रीबस सञ्चालन गर्ने विषयमा सबै निकायसँग गृहकार्य गरिरहेको छ । उनले भने ‘अब ट्याक्सीले जस्तै दोब्बर भाडादर कायम गरेर भए पनि रात्री बस चलाउने पक्षमा महानगर पुगेको छ ।’