काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले हालै सम्पन्न तेस्रो लगानी सम्मेलनले नेपाल लगानीको प्रबल सम्भावना भएको मुलुक भएको सन्देश गएको बताएका छन्।
बुधबार नेपाल जग्गा तथा आवास विकास संघको १७औं वार्षिक साधारणसभाको उद्घाटन कार्यक्रममा अध्यक्ष ढकालले लगानी सम्मेलनले सकारात्मक सन्देश गएको बताएका हुन्। `लगानी सम्मेलनले नेपालमा यो-यो क्षेत्रमा लगानीको राम्रो सम्भावना भएको र राज्य तथा सबै राजनितीक दल लगानी भित्र्याउन तयार रहेको सन्देश गएको छ,' अध्यक्ष ढकालले भने, `यहाँको निजि क्षेत्र तथा सबै निकाय लगानी भित्र्याउन तयार रहेको सन्देशले नेपालमा थप लगानी भित्रिने सम्भावना बढेको छ।´
निजी क्षेत्रका सबै मागहरू पूरा नभए पनि निजी क्षेत्रलाई सँगै नलगे विकास र आर्थिक समृद्धि सम्भव छैन भन्ने विषय स्थापित भएको उनको भनाइ थियो। `बैंकको ब्याजदर घटाउन, जोखिमभार घटाउनका लागि पनि वाणिज्य महासंघले ठूलो भूमिका खेलेको छ,' उनले भने, 'निजी क्षेत्रको पहलले हाल ब्याजदर एकल अंकमा आइपुगेको छ।'
यद्यपि, निजी क्षेत्रको मनोबल अझै बढ्न नसकेको उनको भनाइ छ। 'आउने बजेट तथा नीति कार्यक्रममार्फत मुलुकको अर्थतन्त्र आन्तरिक रुपमा सुधारको प्रयत्न गर्न आवश्यक छ,' उनले भने, 'निजी क्षेत्रले राख्ने माग र दिएका सुझाव आफ्नो लागि मात्र नभएर समग्र मुलुकको हितमा छ।'
निजी क्षेत्रले राखेको विषय सही रहेछ भन्ने कुरा अहिले प्रमाणित भएको अध्यक्ष ढकालको भनाइ छ। `त्यसैले अहिले सबैले निजी क्षेत्रलाई सँगै लिएर जानुपर्छ भन्ने आवाज मुलुकको माथिल्लो तहबाट नै आएको छ।' अध्यक्ष ढकालले लगातार लबिङ गर्दा राज्यका नीतिहरु परिवर्तन हुन्छन् भन्ने विषय पनि स्थापित भएकाले आगामी दिनमा अप्ठ्यारा नीति सुधार हुने बताए। नकारात्मक भन्दा पनि हाल आफूहरू सकारात्मक सन्देश दिएर समग्र आर्थिक गतिविधि चलयमान बनाउने पक्षमा रहेको ढकालको भनाइ छ।
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्राले बैंकको ब्याजदर घट्दै गएको र दुई-तीन महिनामा आधार दर ७ प्रतिशत आउने सम्भावना रहेकाले रियल इस्टेट व्यवसाय राम्रो हुनसक्ने बताए। `लगानी सम्मेलनले नेपालले बाहिरी लगानी चाहेको छ भन्ने सन्देश अन्तर्रास्ट्रिय स्तरमा गएको छ,´ मल्होत्राले भने, `यद्यपि, यसका लागि अब धेरै काम गर्न आवश्यक छ।´
उनले अहिले घरजग्गाको कारोबार अवस्था खराब भए पनि आगामी दिनमा सुधार हुने अपेक्षा व्यक्त गरे। राष्ट्र बैंकले रियल इस्टेटका नीतिलाई पटकपटक परिवर्तन गर्ने कार्य उचित नभएको मल्होत्राको भनाइ छ।