काठमाडौं । जयनगर—कुर्था रेल सञ्चालनका लागि भारतबाट ५० जना प्राविधिक जनशक्ति ल्याइने भएको छ । रेल चलाउन आवश्यक झन्डै २०० जना कर्मचारीमध्ये ५० जना भारतबाट ल्याउन लागिएको हो ।
रेल चलाउने चालक, इन्जिनियर र प्राविधिक जनशक्ति भने भारतबाटै झिकाउन लागिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता राजेश्वर ज्ञवालीले क्यापिटल नेपाललाई जानकारी दिए ।
भारतीय रेल्वे कम्पनीसँग समन्वय गरेर करारमा जनशक्ति ल्याउन लागिएको बताए । ‘रेल चलाउन २०० कर्मचारी चाहिने हो । त्यसमध्ये ५० जना रेल चलाउने चालक र प्राविधिक हामीसँग छैनन्’ उनले भने, ‘त्यो पनि भारतीय रेल्वे कम्पनीसँगै समन्वयन गरेर करारमा कर्मचारी ल्याउदैछौं ।’
करारमा कर्मचारी भर्ना गर्न मन्त्रिपरिषदको स्वीकृतीमा छिट्टै गर्ने तयारी भइरहेको ज्ञवालीले बताए । अन्य कर्मचारीको भर्ना भने लोकसेवा आयोगबाट गरिने उनले बताए ।
अहिले कर्मचारी भर्ना र रेल सञ्चालन सम्वन्धी कानुन निर्माणका लागि प्रस्ताव मन्त्रिपरिषद्मा पठाइसकिएको रेल विभागका महानिर्देशक बलराम मिश्रले बताए ।
आगामी २०२० जनवरी २८ भित्र भारतबाट रेल आइपुग्ने र १५ दिनभित्र सञ्चालनमा ल्याउने ज्ञवालीले बताए । ‘अहिले तीव्र रुपमा रेल बनाउने काम भइरहेको छ । रङ्गरोगन गर्ने काम र सेट गर्ने काम भइरहेको छ’ उनले भने, ‘आउँदो जनवरी २८ भित्र रेल नेपाल आइपुग्छ । अनि १५ दिनभित्र ट्याकटुक सेट गरेर चलाउन सकिन्छ ।’
रेल चलाउन आवश्यक कानुन र आन्तरिक तयारी पूरा नपुग्दा जयनगर–कुर्था रेल सञ्चालनमा ढिलाइ हुँदै गएको छ । यसअघि पटकपटक रेल सञ्चालनको मिति घोषणा गरे पनि आन्तरिक तयारी र कानुन नबन्दा रेल सञ्चालनमा ढिलाइ भएको रेल विभागले जनाएको छ ।
यसअघि बाढीले क्षति पुर्याएकोे डेढ सय मिटर रेलमार्गको ट्रयाकको मर्मत कार्य झन्डै सकिने अवस्थामा पुगेको छ । ६९ किलोमिटर लामो जनकपुर–बर्दिवास रेलमार्गमध्ये जयनगरदेखि कुर्थासम्मको ३४ किमि यसअघि नै निर्माण भइसकेको छ ।
यही भित्र मात्र रेल सञ्चालन हुने छ । रेल सञ्चालनका लागि नेपालले भारतीय रेलवे सेवा कम्पनीसँग सम्झौता गरी सञ्चालन गर्ने छ । झन्डै १ अर्ब रुपैयाँ लागतमा नेपालले आफ्नै स्वामित्वको रेल खरिद गर्दैछ । दुई सेट डिब्बा डेमो ट्रेन र इन्जिन खरिद हुन हुनेछ । यो रेल सेवा डिजेल इलेक्ट्रिक मल्टिपल युनिट मोडेलको हुने छ ।
यसअघि नै जयनगर–कुर्था रेल सञ्चालनका लागि आवश्यक पूर्वाधारका काम सकिएका छन् । रेल स्टेसन भवन, कर्मचारी क्वार्टर, पुल निर्माण, ट्र्याकबेल्ट तथा स्ट्रक्चर निर्माणको काम यसअघि नै सम्पन्न भइसकेका छन् । रेल सञ्चालनमा आएपछि धार्मिक क्षेत्र जनकपुर क्षेत्रसँगै प्रदेश नम्बर २ को पर्यटन विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।