काठमाडौं। दोलखामा निर्माण हुन लागेको अन्तर्राष्ट्रिय फिल्म सिटीका लागि चीन र मरिससका लगानीकर्ताले चासो देखाएका छन्।
काठमाडौंमा १६ र १७ गते चलेको तेस्रो लगानी सम्मेलनमा सोकेस गरिएका आयोजनाको रुपमा राखिएको अन्तर्राष्ट्रिय फिल्म सिटीका लागि दुई मुलुकका लगानीकर्ताहरुले विशेष चासो देखाएका हुन्।
सोकेसमा राखिएको परियोजनाको प्रस्तुतीकरणको जिम्मेवारी पाएका अभियन्ता सोभित उप्रेतीले दुई मुलुकका लगानीकर्ताले फिल्म सिटी निर्माणमा लगानी गर्न चासो देखाएको बताए।
उनका अनुसार चीनको पोलिचण्डा इन्जिनियरिङ ग्रुपका कन्ट्री म्यानेजर याङ सो र मरिससका आर्थिक विकास बोर्डका उपकार्यकारी निर्देशक सचहिन मोहाबीले लगानीका लागि चासो राख्दै आवश्यक प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता जनाए। ‘दुई मुलुकका दुई महत्त्वपूर्ण व्यक्तिहरुले फिल्म सिटी निर्माणको परियोजनालाई रुचाउनु भएको छ,’ फिल्म सिटी अभियन्ता उप्रेतीले भने, ‘ठूलो बजेटको लगानी भएकोले एकैपटक आँट गर्न सक्ने र निर्णय दिन सक्ने स्थिति छैन, उनीहरु सकारात्मक भएर फर्किएका छन्।’
दुई मुलुकका लगानीकर्ताहरुले फिल्म सिटी परियोजना निर्माणको सम्भव्यता अध्ययनका प्रतिवेदनसहितका जानकारी लिएर लगेको र सरकारमार्फत लगानीका लागि जानकारी दिने प्रतिबद्धता समेत गरेको उप्रेतीको भनाइ छ।
दोलखाबाट प्रस्तावित फिल्म सिटीमा मरिसस र चीनका लगानीकर्ताद्वारा तिव्र इच्छा जाहेर गरेकोले अब लगानी बोर्डद्वारा वार्ता सुरु गरी आन्तरिक गृहकार्यसहित नेपालको कानुनी प्रक्रियालाई चाँडो पूरा गर्न पहल गर्नुपर्ने उनले बताए। फिल्म सिटीको प्रस्तुतीकरणका लागि मन्त्रीपरिषद्ले उप्रेतीसहित हरिदर्शन श्रेष्ठ , सरोज पोख्रेल र आनन्द गौतमलाई जिम्मेवारी दिएको थियो।
दोलखाको भीमेश्वर नगरपालिका ९ लाँकुरीडाँडास्थित डाङडुङे क्षेत्रको १५ सय रोपनी जग्गामा फिल्म सिटी निर्माण गर्ने निर्णय तत्कालीन प्रचण्ड सरकारले २०७३ फागुनमा गरेको थियो।
फिल्म सिटी निर्माणका लागि करिब १७ अर्ब लगानी आवश्यक पर्ने अनुमान गरिएको छ। दोलखाको भीमेश्वर नगरपालिका ९ लाँकुरीडाँडास्थित डाङडुङे क्षेत्रको १५ सय रोपनी जग्गामा फिल्म सिटी निर्माण गर्ने निर्णय तत्कालीन प्रचण्ड सरकारले २०७३ फागुनमा गरेको थियो।
चलचित्र नगरी बनाउने पूर्वाधार तयार गर्न मात्र त्यसयता सरकारले यो क्षेत्रमा करिब ४० करोड रुपैयाँ रकम खर्च गरिसकेको छ।
लामोसाँघु–जिरी सडकको खरिढुंगादेखि डाङडुङे डाँडासम्म ६ किलोमिटर सडक कालोपत्रे, प्रस्तावित चलचित्र नगरी क्षेत्रमा बिजुली, खानेपानीलगायत पूर्वाधार लैजान उक्त रकम सरकार आफैंले खर्चेको हो।
फिल्म सिटी निर्माणस्थलसम्म सडक कालोपत्रे, प्रवेशद्धार निर्माण, बिजुली र खानेपानी लगायतका काम सम्पन्न भइसकेको छ भने प्रशासनिक भवन, सांस्कृतिक संग्रहालय भवन र गेस्ट हाउस गरी तीनवटा भवन निर्माणको काम पनि भइसकेको छ।
डाङडुंगेडाँडामा निर्माण हुन लागेको फिल्म सिटीको २०७१ सालमा शिलान्यास गरिएको थियो।