काठमाडौं। प्रभु बैंकले ‘बोर्ड र म्यानेजमेन्ट रिफर्म’ रणनीति लिएको छ। बैंकले सञ्चालक समिति सदस्यमा बैंक र प्रशासनमा अनुभवी डाइरेक्टर भित्र्याएको छ। त्यस्तै उच्च व्यवस्थापन हेरेफेर गरी बैंकलाई नयाँ उचाइमा पुर्याउने रणनीति बैंकले लिएको छ।
बैंकको सञ्चालक समितिमा नयाँ ४ जना सञ्चालक सदस्य आइसकेका छन्, उच्च व्यवस्थापन समितिको भने साधारणसभा सम्पन्न भएपछि गरिने बैंकका कार्यकारी अधिकृत (सीइओ) अशोक शेरचनले बताए। ‘बोर्डको रिफर्म सकियो, साधारणसभा सकिएपछि हामीले बनाएको प्लानअनुसार म्यानेजमेन्ट रिफर्म गर्छौं,’ बैंकका सीइओ शेरचनले क्यापिटल नेपालसँग भने, ‘सञ्चालक समिति र उच्च व्यवस्थापनमा अनुभवीहरुलाई ल्याएर बैंकलाई उचाइमा पुर्याउने प्लान बनाएका हौं।’
बैंकको २२औं वार्षिक साधारणसभा वैशाख २० गते (बिहीबार) बोलाइएको छ। साधारणसभा सम्पन्न गरेपछि बैंक नयाँ रणनीतिक योजना बनाएर अघि बढ्ने उनले बताए। ‘साधारणसभापछि बैंककै पुराना कर्मचारीलाई विभागीय जिम्मेवारी हेरफेर गरेर नयाँ तबरबाट जाने योजना बनाएका छौं,’ उनले भने, ‘अहिले बजारको परिस्थिति पनि गाह्रो छ, यस्तो स्थितिमा बैंकको मुख्य विभागहरुलाई हेरेर नयाँ योजना बनाएर अघि बढ्ने सोच बनाएका हौं।’
बैंकले आगामी दिनमा बैंकिङ क्षेत्रमा अब्बल भनेर चिनिँदै व्यवसाय गर्न सञ्चालक समितिदेखि उच्च व्यवस्थापनलाई रिफर्म गर्न सुरु गरेको हो। बैंकले व्यवस्थापनमा पनि यही साता हल्का जिम्मेवारी परिवर्तन गरेको थियो।
बैंकमा प्रमोटरहरुको संरचना परिवर्तन भएपछि बैंकले सञ्चालक समितिको रिफर्म गर्दैं नयाँ योजनाअनुसार काम अघि बढाएको हो। बैंकको सञ्चालक समितिमा ४ जना नयाँ सदस्य आइसकेका छन्। बैंकबाट यसअघिका पुराना ३ जना सञ्चालकको राजीनामा स्वीकृत गरी उनीहरुको स्थानमा नयाँ सञ्चालक नियुक्त गरिएको छ।
गत वैशाख ९ मा सञ्चालक समितिमा रमेश सिंह, शंकरप्रसाद कालिकोटा र स्वतन्त्र सञ्चालक प्राडा गीता प्रधानको राजीनामा स्वीकृत गरी अंगिरमान सिंह र तारा मानन्धर नियुक्त गरेको थियो। साथै, बैंकले वैशाख १८ गते किशोरजंग कार्की र भावना बलायरलाई सञ्चालक समिति सदस्यमा नियुक्त गरिसकेको छ।
बैंकका नयाँ सञ्चालकको अनुभव र योग्यता
बैंकको सञ्चालक समितिले पहिलो र दोस्रो चरणमा ४ जना सदस्य नियुक्त गरेको हो। जसमा पहिलो चरणमा सेयरधनी समूहतर्फबाट अंगिरमान सिंह र तारा मानन्धर नियुक्त गरेको थियो।
अंगिरमान सिंहः प्रभु बैंकको ३ सय ४५औं बैठकले गत वैशाख ९ मा सिंहलाई संस्थापक सेयरधनी समूहतर्फबाट सञ्चालक समिति सदस्यमा नियुक्त गरेको हो। सिंहले त्रिभुवन विश्वविद्यायलबाट व्यवस्थापन संकायमा स्नातकोत्तर गरेका छन्।
करिब ३५ वर्षअघि नेपाल ग्रिनल्याण्ड बैंकबाट बैंकिङ करियर सुरु गरेका सिंहले विभिन्न बैंक तथा वित्तीय संस्थाका उच्च व्यवस्थापनसँगै विभागीय प्रमुखको जिम्मेवारी निर्वाह गरिसकेका छन्। बैंकिङ क्षेत्रमा सिंहको जोखिम व्यवस्थापन विज्ञता विशेष छ। उनले स्ट्याण्डर्ड चार्टर्ड बैंक र तत्कालीन एनसीसी बैंक र कुमारी बैंकमा कर्जा विभाग र जोखिम व्यवस्थापन विभागमा लामो समय काम गरेका छन्।
किशोरजंग कार्कीः वैशाख १८ गतेदेखि प्रभु बैंकको संस्थापक समूहतर्फबाट सञ्चालक सदस्य रहेका कार्कीले ३९ वर्ष निजामती सेवामा बिताएका हुन्। उनी पूर्वाञ्चल विश्वविद्यालयबाट जनप्रशासनमा स्नातकोत्तर हुन्।
कार्कीले पूर्वाञ्चल विश्वविद्यालयबाटै एक वर्षे बिएडसमेत गरेका हुन्। कार्की २०३९ सालदेखि निजामती सेवामा प्रवेश गरी करिब ३९ वर्ष विभिन्न पद तथा निकायहरुमा प्रमुख जिम्मेवारी निर्वाह गरी २०७७ सालमा निजामती सेवाबाट अवकाश लिएका हुन्। उनले निजामती सेवामा रहँदा शाखा अधिकृतदेखि विभिन्न सहसचिव रहेर मन्त्रालयमा विभागिय प्रमुख महानिर्देशकसम्मको जिम्मेवारी निभाएका हुन्।
कार्कीले अर्थ मन्त्रालय, आन्तरिक राजश्व विभाग, सुचना तथा सञ्चार मन्त्रालय, सामान्य प्रशासन मन्त्रालय, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोक सेवा आयोग लगायतमा रहेर आफ्नो जिम्मेवारी कुशल रुपमा निर्वाह गरेका छन्।
उनको निजामती सेवामा रहँदा विशेष जिम्मेवारीको रुपमा सुन तस्करीका विषयमा भएको छानबिन तथा अनुसन्धानलाई दिइन्छ। २०८० असोजमा नेपाल सरकारबाट गठित ४ सदस्यीय सुनको अवैध पैठारी नियन्त्रण सम्बनधी जाँचबुझ आयोगमा उनी सरकाको तर्फबाट विशिष्ट श्रेणीका अधिकृत थिए। अध्ययनको प्रतिवेदन समितिले चैत १ गते नै सरकार समक्ष पेश गरिसकेको छ।
तारा मानन्धरः प्रभु बैंकका संस्थापकतर्फबाट गत वैशाख ९ मा सञ्चालक समिति सदस्यमा नियुक्त भएका मानन्धर त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन संकायमा स्नातकोत्तर गरेका छन्। २४ वर्षअघि तत्कालीन नेपाल बंगलादेश बैंकबाट असिष्टेन्ड पदबाट बैंकिङ करियर सुरु गरेका सिंहको नेपाली बैंकमा मात्रै नभएर विदेशी बैंकमा समेत कार्यअनुभव रहेको छ।
सिंहले तत्कालीन एनसीसी बैंकमा शाखा प्रबन्धक, सिटिजन्स बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंकमा म्यानेजर तहसम्म, बिजनेश युनिभर्सियल बैंकमा डेपुटि म्यानेजर, प्रभु बैंक, मुक्तिनाथ विकास बैंक र कैलाश विकास बैंकमा डिसीइओ र दुबईको मर्सिक बैंकको नेपालमा ‘डेपुटि चिप कन्ट्री रिप्रिजेन्टिभ जिम्मेवारी निर्वाह गरिसकेका छन्। मानन्धर डिस होम मिडिया नेटवर्कमा सीइओ पनि हुन्।
भावना बलायरः बैंकले बलायरलाई ३ सय ३८औं सञ्चालक समितिको निर्णयबाट सर्वसाधारण सेयरधनी समूहतर्फबाट सञ्चालक समिति सदस्य नियुक्त गरेको हो। युवा पुस्ताबाट महिला सञ्चालकको नियुक्त बलायरले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन संकायमा स्नातक उत्तीर्ण गरेकी छिन्। साथै, उनी नेपाल चार्टर्ड एकाउन्टेन्स संस्थाबाट चार्टर्ड एकाउन्टेन्ड गरेकी छिन्।
बलायरले विगत १० वर्षयता लेखापरीक्षकको क्षेत्रमा काम गर्दै आएकी छिन्। उनले नेपाल इन्भेष्मेन्ट बैंक र गुडविल फाइनान्समा लेखा परीक्षकको रुपमा समेत काम गरिसकेकी छिन्। उनले ३ वर्षदेखि प्रभु ग्रुपअन्तर्गतको नेपाल सिपिङ एण्ड मल्टिमोडल ट्रान्सपोर्ट जनरल म्यानेजरको भुमिका निर्वाह गरिरहेकी छिन्। उनी आशा लघुवित्तमा सञ्चालकसमेत रहेकी थिइन्।
नयाँ सञ्चालकको नियुक्तिको अनुमोदन बिहीबारको साधारण सभाले गर्नेछ। यसअघि नयाँ सञ्चालकमा बिर्खबहादुर बस्नेत र अभिषेक वज्राचार्य नियुक्त भइसकेका छन्। वज्राचार्य सेञ्चुरी बैंक गाभिँदा सञ्चालक बनेका हुन् भने बस्नेत एशियन लाइफ इन्सुरेन्सका तर्फबाट प्रतिनिधित्व गरेका हुन्। बैंकको अध्यक्षमा लिलाप्रकाश सिटौला रहेका छन्।