काठमाडौं। पर्यटकीय एवं धार्मिक तपोभूमि गुल्मीको रेसुंगालाई आन्तरिक तथा बाह्य पर्यटन केन्द्र बनाउन विशेष अभियान सञ्चालन गरिने भएको छ। रेसुंगा नगरपालिकाले रेसुंगाको ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं जैविक विविधताबारे प्रचार गर्दै पर्यटन प्रवर्द्धनका लागि विशेष अभियान सञ्चालन गर्ने भएको हो।
नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा ‘जाऊँ हिँड रेसुंगा’ नाराका साथ प्रवद्र्धनात्मक अभियान सञ्चालन गरिने नगरप्रमुख खिलध्वज पन्थीले आज आयोजित पत्रकार सम्मेलनमा बताए। उनले गुल्मीको रेसुंगामा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्यले काठमाडांैमा कार्यक्रम गर्न लागिएको जानकारी दिए।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितिमा वैशाख २० मा काठमाडौंबाट अभियान उद्घाटन गर्ने कार्यक्रम रहेको छ।प्राकृतिक, धार्मिक, ऐतिहासिक, पौराणिक विशेषता बोकेको रेसुंगामा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन वर्षैभरि विभिन्न कार्यक्रम गरिने नगरप्रमुख पन्थीले बताए।
नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मतसिंह ऐरले भौतिक पूर्वाधारको विकाससँगै रेसुंगाको प्रवर्द्धनका लागि पर्यटन प्याकेज बनाउन आग्रह गरे। उनले सो क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि बोर्डले साथ सहयोग गर्ने प्रतिबद्धता जनाए।
बोर्डका निर्देशक लक्ष्मण गौतमले रेसुंगा तपोभूमि अध्यात्म र संस्कृतिले जति दिव्य छ, त्यति प्राकृतिक सम्पदाले भव्य रहेको उल्लेख गर्दै यस क्षेत्रको पर्यटन प्रवर्द्धनले छिमेकी जिल्लाहरुको समेत पर्यटन विकास हुने बताए।
कार्यक्रममा डा. नारायणाचार्य तिमिल्सेना (देवबाबा) ले गुल्मीको पर्यटन प्रवर्द्धनका लागि रुरु क्षेत्रमा रहेको शालिग्रामको संरक्षण आवश्यक रहेको धारणा व्यक्त गरे।
रेसुंगा भौगोलिक, जैविक र वनस्पतिले भरिएको क्षेत्र हो। यहाँ वन क्षेत्र, आश्रम, धर्मक्षेत्र, मठमन्दिर, पँधेरा, कुण्ड, पोखरी, जलस्रोत, पाटीपौवा, यज्ञशाला, धर्मशाला एवं भग्नावशेष छन्। यस क्षेत्रमा दुर्लभ चरा, पुतली, सरिसृप एवं स्तनधारी जीव पाइने हुनाले जैविक विविधताले महत्त्वपूर्ण छ।
महर्षि ऋष्यशृङ्गसितको सम्बन्ध रहेको मानिने यस तपोभूमिमा ऋषिमुनि र साधुसन्तले तपस्या गर्दै आएको र त्रेतायुगमै महर्षि ऋष्यशृङ्गले तपस्या गरेको किंवदन्ती छ।
ऋष्यशृङ् महर्षिले अयोध्याका राजा दशरथको पुत्रेष्टि यज्ञ गराएका थिए, जुन यज्ञका कारण राजा दशरथलाई राम, लक्ष्मण, भरत र शत्रुघ्नजस्ता पुत्रहरू प्राप्त भएको वाल्मीकि रामायणको बालकाण्डको ९–१५ सर्गमा वर्णन गरिएको पाइन्छ।