काठमाडौं। विश्व बजारमा विद्युतीय सवारी साधन (ईभी) मागमा आएको कमी र मूल्य द्वन्द्वका कारण चिनियाँ कार कम्पनी बिवाइडीले नाफा घटेको उल्लेख गरेको छ। कम्पनीले वर्षको पहिलो तीन महिनामा ६३० मिलियन डलर मात्रै कमाएको बताएको छ, जुन अघिल्लो त्रैमासिकको तुलनामा ४७ प्रतिशतभन्दा कम हो।
बिवाइडीले विश्वको सबैभन्दा ठूलो ईभी बिक्रेता बन्न एलन मस्कको टेस्लासँग प्रतिस्पर्धा गरिरहेको छ। बिवाइडीले यस वर्षको पहिलो तीन महिनामा ३००,००० कार बेचेको बताएको छ। तर, गत वर्षको अन्तिम त्रैमासिकमा बिक्री संख्या ५,२६,००० थियो।
पछिल्लो समय बिवाइडी र यसका प्रतिस्पर्धी सुस्त आर्थिक वृद्धिको मौकामा साझेदारी गरेर चीनमा रहेको मूल्यमा प्रतिस्पर्धा गरिरहेका छन्। अमेरिकी लगानीकर्ता वारेन बफेटको बर्कसायर ह्याथवेको समर्थनमा रहेको कम्पनीले हाल आफ्ना केही नयाँ मोडलको मूल्यसमेत घटाएको छ।
बिवाइडीले हाल आफ्नो बजार विस्तारका लागि काम गरिरहेको छ। यसले सन् २०२३ मा २४०,००० कार निर्यात गरेको थियो। अब यो वर्ष कारको निर्यात संख्या उल्लेखनीय रूपमा बढाउने लक्ष्य कम्पनीले राखेको छ। यद्यपि, विदेशी बजारमा बिवाइडीले गरेको आक्रामक व्यापारले अमेरिका र युरोपमा समेत धक्का पुगेको छ।
अहिले युरोप तथा अमेरिकीकाका सरकारहरूले आफ्ना घरेलु कार निर्मातालाई जोगाउन प्रयास गरिरहेका छन्। निर्यात बढाउने प्रयासका साथसाथै, बिवाइडीले उच्च स्तरका मोडल प्रदान गरेर आफ्नो उत्पादन दायरालाई विविधीकरण गर्दै आएको छ।
बिवाइडीले चीनको राजधानी बेइजिङमा सर्वसाधारणका लागि गरिएको बेइजिङ अटो सोमा आफ्ना नयाँ विलासी गाडी प्रदर्शनमा राखेको छ।