काठमाडौं। चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर ३.५४ प्रतिशत हुने भएको छ। राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार सार्वजनिक गरेको प्रारम्भिक तथ्यांकअनुसार आर्थिक वृद्धि गत वर्षभन्दा बढी देखिए पनि लक्ष्य पहिल्याउन भने असफल भएको हो।
गत वर्ष आधारभूत मूल्यमा २.३१ प्रतिशतले आर्थिक वृद्धि हुने अनुमान थियो। उपभोक्ता मूल्यमा आर्थिक वृद्धि ३.८७ प्रतिशत हुने प्रक्षेपण कार्यालयले गरेको छ।
सरकारले चालू वर्ष ६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको थियो।
तथ्यांक कार्यालयका अनुसार चालू वर्ष अर्थतन्त्रको आकार करिब ४ अर्ब बढीले वृद्धि भएर ५७ खर्ब ४८ अर्ब पुग्ने प्रक्षेपण छ। गत वर्ष अर्थतन्त्रको आकार ५३ खर्ब ८१ अर्ब पुगेको अनुमान गरिएको थियो।
कार्यालयका प्रमुख अर्जुनप्रसाद पोखरेलले अर्थतन्त्रमा विगत ३ वर्षभन्दा धेरै प्रगति भएको बताए। ‘अझै सुधार गर्नुपर्नेछ तर अर्थतन्त्र सुधारोन्मुख छ’, उनले भने।
प्रत्येक वर्ष ३ आर्थिक वर्षको विवरणलाई आधार मानेर आर्थिक वृद्धिलाई मापन गरिन्छ। विगतको तुलनामा अब अर्थतन्त्रमा सुधार हुँदै जाने कार्यालयले बताएको छ। अर्थतन्त्रमा सबैभन्दा बढी कृषि क्षेत्रको योगदान छ।
नेपालीको प्रतिव्यक्ति आय १४५६ अमेरिकी डलर पुगेको छ। यस्तो आय गत वर्ष १४०५ अमेरिकी डलर थियो भने त्यसअघि १४१९ डलर थियो।चालू वर्ष उद्योग, निर्माण क्षेत्र ऋणात्मक छ भने आवास तथा भोजन सेवा सबैभन्दा बढी चलायमान देखिएको छ।
आवास तथा भोजन सेवा २१.८४ प्रतिशतले वृद्धि हुँदा विद्युत् र ग्यास क्षेत्रमा १७.४४ प्रतिशतको वृद्धि देखिएको छ।
उता, उद्योग १.६ प्रतिशतले ऋणात्मक हुँदा निर्माण क्षेत्र २ प्रतिशतले ऋणात्मक छ। गत वर्ष उद्योग, निर्माणसँगै थोक तथा खुद्रा व्यापार, गाडी तथा मोटरसाइकल मर्मत सेवा पनि ऋणात्मक रहेकामा चालू वर्ष भने दुईटा क्षेत्र मात्रै ऋणात्मक देखिन्छ।
निर्माण, व्यापार र उद्योग क्षेत्र ऋणात्मक हुँदा लक्ष्य प्राप्त गर्न नसकिएको तथ्यांक कार्यालयका प्रवक्ता डा. हेमराज रेग्मीले बताए। तथ्यांक तयार गर्दा कृषि गणना, ठूला गणना, अन्य मन्त्रालय निकायले निकालेका विवरणलाई पनि आधार मानिएको छ।
आर्थिक वृद्धिसँग सम्बन्धित तथ्यांकलाई अबदेखि चालू वर्षको तथ्यांक लिँदा अन्तर्राष्ट्रिय निकायले यसैलाई आधार मान्छन्।कार्यालयले नेपालमा १८ वटा क्रियाकलापको अध्ययन गरी विवरण तयार गरेको हो।
यो तथ्यांकमा ६ देखि ८ महिनाको तथ्यांक समावेश गरिएको हो। अर्थतन्त्रको आकार प्रचलित मूल्यलाई आधार मानेर निर्धारण गरिन्छ।