काठमाडौं। नेपाल राष्ट्र बैंकले १० वटा ठूला वाणिज्य बैंकको लेखापरीक्षण गर्न ५ वटा लेखापरीक्षक छनोट गरेको छ। केन्द्रीय बैंकले अन्तर्राष्ट्रिय मुद्रा कोषको सहयोगमा गर्न लागेको १० वाणिज्य बैंकको बाह्य लेखापरिक्षणका लागि २ नेपालीसहित ३ वटा विदेशी लेखापरीक्षक कम्पनी छनोट गरेको हो। राष्ट्र बैंकले गत चैत दोस्रो साता विभिन्न मापदण्ड निर्धारण गरेर लेखापरीक्षकहरुबाट आवेदन माग गरेको थियो।
आवेदक लेखापरीक्षकको योग्यताको आधारमा ५० प्रतिशत, अनुभवलाई ४० प्रतिशत र क्षमतालाई १० प्रतिशत अंक भार दिएर ७० प्रतिशत अंक प्राप्त गर्ने आवेदकलाई बोलकबोलमार्फत् प्रतिस्पर्धा गराइएको हो।
जसमा विदेशी लेखापरीक्षकतर्फ नेदरल्याण्ड्स्को डेलोइट फाइनान्सियल एडभाइजर बिभी, भारतको केपिएमजी एसुरेन्स एण्ड कल्सटेन्ट सर्भिस, पाकिस्तानको केपिएमजी तसिर हादी एण्ड रहेका छन्।
साथै, स्वदेशी लेखापरीक्षकहरुमा जेभी एसआरबिए एण्ड बिके अग्रवाल चार्टर्ड एकाउन्टेन्ड र जेभी सिएससी एण्ड प्राइस वाटर हाउस कपर प्राइभेट लिमिटेड छनोट भएका हुन्। छनोट भएका यी लेखापरीक्षकबाट राष्ट्र बैंकले एक नियुक्त गर्नेछ।
नियुक्त भएको लेखापरीक्षक र राष्ट्र बैंकको टिमले संयुक्त रुपमा चालु वर्षको चैत मसान्तसम्म सबैभन्दा बढी कर्जा प्रवाह गर्ने १० वाणिज्य बैंकको स्थलगत निरिक्षण गर्ने छन्। छनोट भएका वाणिज्य बैंकहरुमा २ चरणमा निरीक्षण हुने राष्ट्र बैंकले जनाएको छ।
चालु वर्षको चैत मसान्तसम्म २० वाणिज्य बैंकहरुले कुल ४४ खर्ब ८६ अर्ब रुपैयाँ बढी कर्जा प्रवाह गरेका छन्। जसमा १० वाणिज्य बैंकले २ अर्ब रुपैयाँ बढी पौने ४ खर्ब रुपैयाँसम्म कर्जा प्रवाह गरेका छन्।
बढी कर्जाको परिमाण भएका १० वाणिज्य बैंकहरुको सूचीमा ग्लोबल, नबिल, नेपाल इन्भेष्टमेन्ट, एनआइसी एशिया, कुमारी, राष्ट्रिय वाणिज्य, लक्ष्मी सनराइज, हिमालयन, प्रभु र एनएमबि बैंक रहेका छन्।