काठमाडौं। बागमती प्रदेशमा सरकारी कामकाजी भाषामा तामाङ र नेपाल भाषा प्रयोगमा आउने भएको छ। इतिहासमै पहिलो पटक सरकारी कामकाजमा आफ्नो भाषा प्रयोग हुने भएपछि तामाङ र नेवाः समूदायले उत्सवको रुपमा मनाउने तयारी गरेको छ।
सरकारी कामकाजमा आफ्नो भाषा वैशाख २४ गतेबाट कार्यन्वयन आउने भएपछि त्यो अवसरलाई उत्सवको रुपमा मनाउन समिति गठन गरेको हो। प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले वसन्तपुरबाट भाषा कार्यन्वयनमा आएको घोषणा गर्न लागेका हुन्।
गत १२ गते बसेको बागमती प्रदेश सरकार मन्त्रीपरिषद बैठकले बागमती प्रदेश सरकारी कामकाजी भाषा ऐन २०८० शुभारम्भ घोषणा गर्ने निर्णय गरेको थियो। प्रधानमन्त्री दाहालले बिहान ९ बजे वसन्तपुरमा घोषणा गर्ने कार्यक्रम तय भएको बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारीमन्त्री शैलेन्द्रमान बज्रचार्यले जानकारी दिए।
मन्त्री बज्रचार्यको संयोजकत्वमा सोमबार समारोह सम्पन्न गराउन ३०३ सदस्य रहेको मुल समारोह समिति गठन गरिएको छ। समारोह समितिमा तामाङ भाषिक समुदायका तर्फबाट नेपाल तामाङ घेदुङका साथै अन्य तामाङ संघसंस्थाहरु र नेपाल भाषाको समुदायको तर्फबाट नेवाः देय् दवुकाहरु सदस्य रहेका छन्।
प्रदेश सरकारले वैशाख २४ गते प्रदेशभर सार्वजनिक विदा दिने र सोही दिन काठमाडौंको बसन्तपुरमा एक समारोह गरी कार्यन्वयनको औपचारिक घोषणा गर्ने निर्णय गरेको थियो। सरकारकोे निर्णय अनुसार बैशाख २४ गतेका दिन नै प्रदेश सरकारका सबै मन्त्रालयको साइनबोर्ड नेपाली भाषा (देवनगरी), तामाङ भाषा (तामयिक) र नेपाल भाषा( रन्जना) मा लेखिएका राखिनेछन् ।
त्यसदिन बागमती सरकारले भाषा ऐन कार्यन्वयन आउने दिनको रुपमा सार्वजनिक विदासमेत दिएकोले खुशीको दिनको लिदै आफुहरु घोषणा समारोह सफल बनाउने तयारीमा लागेको नेपाल तामाङ घेदुङका सह–अध्यक्ष कुमारसिं घिसिङले बताए। घोषणा समारोह अघि काठमाडौंका विभिन्न स्थानबाट झाँकीसहितको ¥याली निकालिने उनको भनाइ छ।
संविधानले दिएको अधिकार कार्यन्वयनका लागि बागमती प्रदेश सरकारले ऐन बनाएर कार्यन्वजयन गर्न लागेकोमा धन्यवाद दिदै सह–अध्यक्ष घिसिङले सबै जातजाति तथा भाषाभाषी समुदायलाई कार्यक्रममा सहभागि हुन अनुरोध गरे। बागमति प्रदेश सरकारले २०८० कात्तिक २३ गते ‘बागमती प्रदेश सरकारी कामकाजी भाषा ऐन २०८०’ राजपत्रमा प्रकाशित गरेको थियो।