काठमाडौं। लगानी बोर्ड नेपालले तेस्रो लगानी सम्मेलनमा आफ्नो सफलताको मानक बनाउन तयारी गरेका परियोजना विकास सम्झौता (पिडिए) रोकिएको छ। १५० आयोजना सोकेश भएकामा ४ वटा आयोजना पिडिए गरेर त्यसलाई नै प्रचार गर्ने बोर्डको लक्ष्य थियो। तर, लक्ष्यअनुसारको पूर्व तयारी नहुँदा बोर्डको योजना सफल हुन सकेन।
बोर्डका सहसचिव एवं प्रवक्ता प्रद्युम्नप्रसाद उपाध्यायका अनुसार पर्याप्त पूर्वतयारी नहुँदा पिडिए सम्झौता हुन नसकेको हो। लगानी बोर्डका अनुसार दमक औद्योगिक पार्क, अप्पर मस्र्याङ्दी–२, कोहलपुरमा बन्ने ४० मेगावाट क्षमताको सोलार परियोजना र डाबर नेपालको लगानी विस्तार सम्बन्धित सम्झौता गर्ने विषय महत्वपूर्ण रुपमा उठाइएको थियो। तर,उक्त आयोजनामा सम्झौता नभइ अन्य १० आयोजनामा सम्झौता भएको हो।
७ क्षेत्रका आयोजनामा सम्झौता
निजी क्षेत्रबाट लगानी हुने आयोजनाहरुमा नेपालको शाखग्रुप र हङकङको बोर होटलबीच नेपालमा करिब १ अर्ब ९० करोड रुपैयाँ लगानी भित्र्याउने सम्भलौता भएको छ। त्यस्तै नेपाल एसोसिएसन अफ पिपिपि (एनएपीपीपी) र वल्र्ड एसोसिएसन अफ पीपीपी युनिट एण्ड पीपीपी प्रोफेसनल (वाप्प) बीच सम्झौता भएको हो। साथै नेक्सजेन मेनेजमेन्ट सोलुसन र बिएमबिसी इनभेस्टमेन प्रालि बीच सम्झौता भयो।
एक्सपर्ट ग्रुपले अस्ट्रेलियन लगानीमा रारामा लक्जरी रिसोर्ट सञ्चालनमा ल्याउन पनि निजी क्षेत्रबाटै सम्झौता भएको लगानी बोर्डले जनाएको छ। पहिलो चरणमा ७० करोड र दोस्रो चरणमा ४० करोड रुपैयाँ लगानी गर्ने गरी तेस्रो लगानी सम्मेलनको अवसरमा सम्झौता भएको हो। सम्झौतामा एक्सपर्ट ग्रुपकातर्फबाट बद्रि अर्याल र सञ्जिव शर्मा तथा रारा होल्डिङस् रिसोर्ट प्रालिका तर्फबाट अभिषेक विक्रम शाहले हस्ताक्षर गरेका छन्।
त्यस्तै चिनियाँ कम्पनी ‘सिएन गोल्ड ड्रागन अटोबडी’ले नेपालमा विद्युतीय गाडी उत्पादनका लागि ३ अर्ब रुपैयाँ वैदेशिक लगानी गर्ने सम्झौता गरेको छ। नेपालको ‘कोसी एनके मोटर्स’ र ड्रागन अटोबडीबीच लगानी सम्झौता भएको हो।
सम्मेलनको पहिलो दिन आइतबार नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआई) र मलेसियाको चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रिजबीच पनि सम्झौता गरिएको थियो। त्यस्तै सूचना तथा प्रविधिसँग सम्बन्धी रामकोटमा साढे ३ अर्ब रुपैयाँभन्दा बढी लागतको डाटा सेन्टर स्थापनाका लागि पनि सम्झौता गरिएको थियो। सो सम्झौता भारतको योट्टा डेटा सर्भिसेज र नेपालको बिएलसी होल्डिङबीच भएको थियो।
त्यस्तै सरकारी प्रस्ताव अन्तरगत उद्योग विभागसँग ९ अर्ब बढीका ३ परियोजनाको लगानी सम्झौता भएको छ। सुसान हु चाइना र उद्योग विभाग बीच लगानी कम्पनी गर्न ६ अर्ब रुपैयाँ लगानी गर्ने सम्झौता भएको छ। एसएन जेजी इन्भेसमेन्ट प्रालि अस्ष्ट्रेलियासँग बिजनेस कम्प्लेक्स निर्माणका लागि विभागले ३ अर्ब रुपैयाँ लगानी ल्याउन सम्झौता गरेको छ।
अचलर्स इनर्जि लिमिटेड युके र मोहन्याल गाउँपालिकासँग कैलालीमा विभागले २०० केभि क्षमताको हाइड्रोपावर बनाउन सम्झौता गरेको छ। हाइड्रोपावरको लागत ७ करोड ६६ लाख रुपैयाँ बढी छ। ३ वटै सम्झौतापत्रमा उद्योग मन्त्री दामोदर भण्डारीले हस्ताक्षर गरेका हुन्।
यसैबीच अर्थमन्त्री वर्षमान पुनले तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन सफल भएको बताएका छन्। सम्मेलनमा सहभागी हुन आएका विश्व बैंक, एसियाली विकास बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडिपी) तथा नेपालका लागि विभिन्न देशका राजदूतहरुसँगको साइडलाइन बैठकमा बोेल्दै मन्त्री पुनले लगानी सम्मेलन सफल भएको बताएका हुन्। साथै लगानी सम्मेलनमा विकास साझेदारहरुको सक्रिय सहभागिताले ‘नेपाल लगानीका लागि विश्वकै उत्कृष्टमध्येको लगानी गन्तव्य रहेकोे पुष्टि हुने’ मन्त्री पुनको भनाइ छ।
आगामी दिनमा थप नीतिगत र कानूनी सुधार तथा प्रक्रियागत सरलीकरणमार्फत् व्यवसायिक वातावरण सुधारको काम गर्दै जाने उनको प्रतिबद्धता जनाएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि सामाजिक न्याय, सुशासन र समृद्धिमा जोड दिएको भन्दै मन्त्री पुनले आगामी बजेटले ती विषयलाई प्रमुखताका साथ सम्बोधन गर्ने बताए। त्यस्तै विकास साझेदार विदेशी लगानीकर्ताले पनि नेपालमा लगानीको वातावरण बनेको बताएका छन्।
लगानी सम्मेलनमा सहभागी विश्व बैंक, एसियाली विकास बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष र यूएनडिपीसहित विकास साझेदार संस्थाका प्रतिनिधिले अर्थ मन्त्रीसँग नेपालमा लगानीको वातावरण बनेको बताएको अर्थ मन्त्रालयको भनाइ छ। नेपालले पछिल्लो पटक कानूनी र प्रक्रियागत सुधारका लागि चालेका कदमले लगानी वातावरण बताएको बताएका हुन्।
आइतबारबाट सुरु भएको तेस्रो लगानी सम्मेलन २ दिन अर्थात् सोमबारसम्म चलेको थियो। १५० आयोजना सोकेशमा राखिएको थियो। जसमध्ये ३१ वटा आयोजना ऊर्जा क्षेत्रका मात्रै हुन्।