काठमाडौं। स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) अध्यक्ष गणेश कार्कीले नेपालको ऊर्जा क्षेत्रमा उत्पादनमा मात्र नभएर प्रसारण र वितरण पूर्वाधारमा पनि लगानीको राम्रो अवसर रहेको बताएका छन्।
काठमाडौंमा जारी तेस्रो लगानी सम्मेलन २०२४ अन्तर्गत ‘नेपालमा नवीकरणीय ऊर्जाको सम्भावना र यात्रा’ विषयक सेसनलाई सम्बोधन गर्दै अध्यक्ष कार्कीले निजी क्षेत्रले प्रसारण लाइन निर्माणमा पनि महत्वपूर्ण भूमिका खेल्न सक्ने बताएका हुन्।
उनले निजी क्षेत्र आन्तरिक र अन्तरदेशीय प्रसारण लाइन निर्माणमा सहयोगी रहेको जनाए। निजी क्षेत्रले प्रसारण लाइन निर्माण र सञ्चालनको अवसर पाए विद्युत्को विश्वनीयता बढाउँदै चुहावट घटाउन पनि सहयोग हुने उनको भनाइ छ।
‘दक्षिण एसियामा ऊर्जा माग भएका देशमा क्रस बोर्डर लाइन र ऊर्जा परियोजनाको ठूलो सम्भावना छ। निजी क्षेत्रको सहभागिताले क्रस बोर्डर लाइन निर्माण, विद्युत निर्यात र प्रविधि हस्तान्तरणलगायतलाई मूर्तरुप दिन सकिन्छ’, कार्कीले भने, ‘तर, प्रसारण लाइन निर्माणमा वन तथा वातावरण, जग्गा प्राप्ति र प्रक्रियागत झन्झटसँग जुध्नुपर्ने समस्या छ।’
अध्यक्ष कार्कीले आन्तरिक तथा अन्तरदेशीय विद्युत व्यापारमा पनि निजी क्षेत्रले महत्वपूर्ण भूमिका खेल्ने बताए । त्यसका लागि निजी क्षेत्रले पूर्वाधार निर्माण गरेर, बजार अध्ययन, जोखिम अध्ययन, सहलगानी खोजी र पोलीसी लबिइङलगायतमा म गरिरहेको उनले जानकारी गराए। निजी क्षेत्रले विद्युत व्यापारका लागि इक्वीटी, ऋण, प्रविधि, सञ्चालनलगायत साझेदारी मोडलमा काम गरिरहेको कार्कीले बताए।
निजी क्षेत्रले नेपालको स्वच्छ र हरित ऊर्जाका लागि रणनीतिक योजना योजना बनाइरहेको छ। नेपालमा निजी क्षेत्रका लागि विद्युत उत्पादनमा मात्र नभएर प्रसारण तथा वितरण पूर्वाधार निर्माण, ऊर्जा दक्षता र विद्युत व्यापारमा निकै ठूलो सम्भावना भएकाले ऊर्जा क्षेत्रमा लगानी भित्र्याउन विदेशी लगानीकर्तालाई कार्कीले आग्रह गरे।
स्वदेशी तथा विदेशी लगानीकर्तालाई आकर्षित गर्न सरकारले केही कुरामा ध्यान दिनुपर्ने भन्दै कार्कीले नीतिमा स्थायित्व र प्रस्टता हुनुपर्ने, सरल प्रक्रिया अवलम्बन गर्नुपर्ने, लगानी सुरक्षा र ग्यारेन्टी, पूर्वाधार निर्माणमा सहयोग, जोखिम न्यूनीकरणका संयन्त्र, सहज स्वदेश फिर्ती व्यवस्थालगायतमा ध्यान दिनुपर्ने कार्कीले सुझाए।