काठमाडौं। आइतबार लगानी सम्मेलनको दिन दोहोरो अंकले बढेको सेयर बजारले सोमबार भने उत्साह दिएन। आज कारोबार रकम बढे पनि सेयर बजार सूचकमा झिनो अंकको मात्रै सुधार आएको हो।
साताको कारोबार दोस्रो दिन सोमबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ०.०७ अंकले बढेर १९८०.३४ को बिन्दुमा बन्द भएको हो।
अघिल्लो कारोबार दिन आइतबार नेप्से १४.३३ अंकले बढेर १९८०.२७ को बिन्दुमा बन्द भएको थियो। प्रिओपन सेसनमै बढेर १९९०.३२ को बिन्दुबाट सुरु भएको आजको कारोबार त्यसबाट घटेर बन्द हुने समय १९८०.३४ को बिन्दुमा सीमित भएको हो।
नेप्सेमा झिनो सुधार देखिए पनि कारोबारमा वृद्धि भएको छ। सोमबार कुल २ अर्ब ९५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। अघिल्लो कारोबार दिन आइतबार कुल २ अर्ब ६८ करोड बराबरको कारोबार भएको थियो।
सोमबार कारोबारमा आएकामध्ये ९९ कम्पनीको सेयर मूल्य बढ्दा १२८ कम्पनीको घटेको छ। यस्तै, १७ कम्पनीको सेयर मूल्य स्थिर छ। सोमबार पोखरा फाइनान्सको सेयर मूल्य र जानकी फाइनान्स कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ। यस्तै, नेपाल फाइनान्सको सेयर मूल्य ९.९८ प्रतिशतले बढेको छ।
आज पिपुल्स पावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन्। कम्पनीको सेयर मूल्य ६ प्रतिशतले घटेको छ। सोमबार फाइनान्स उपसमूहमा लगानीकर्ता आकर्षित भएका छन्। यस उपसमूहको सेयर मूल्यमा सर्वाधिक ४.१७ प्रतिशतको वृद्धि भएको छ।
कारोबारमा आएका १५ फाइनान्स कम्पनीमा १४ को सेयर मूल्य बढ्दा एउटाको मात्रै घटेको छ। सोमबार विकास बैंक उपसमूहमा पनि १.६६ प्रतिशतको वृद्धि भएको छ।