काठमाडौं। संघीय निर्वाचनअन्तर्गत इलाम क्षेत्र २ र बझाङको प्रदेशसभा ‘क’ निर्वाचनको पछिल्लो मत गणना जारी छ।
बिहान ११.२५ बजेसम्मको मत गणनाअनुसार इलाम २ मा एमाले उम्मेदवार सुहाङ नेम्वाङ ११ हजार ९ मतसहित अगाडि छन् भने निकटतम कांग्रेस उम्मेदवार खड्काले ७२७५ मत ल्याएका छन्। एमाले उम्मेदवार सुहाङ कांग्रेसका खड्काभन्दा ३७३४ मतले अगाडि छन्।
जिल्लास्थित निर्वाचन आयोगका अनुसार स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले ५८६९ मत ल्याएका छन् भने रास्वपाका उम्मेदवार मिलन लिम्बूले १५०९ मत ल्याएका छन्। हालसम्म इलाम २ मा २६४३९ मत गनिसकिएको छ।
एमाले नेता सुवास नेम्वाङको निधन भएपछि रिक्त इलाम २ मा वैशाख १५ मा उपनिर्वाचन भएको हो। इलाम २ मा एमालेले स्व. नेम्वाङ पुत्र सुहाङलाई मैदानमा उतारेको हो भने कांग्रेसले २०७९ स्व. नेम्वाङसँग खड्कालाई अगाडि सारेको हो।
बझाङ प्रदेशसभा उपनिर्वाचनको मत गणना पनि जारी छ। पछिल्लो मत गणनाअनुसार ५० वडा रहेको यो क्षेत्रमा अहिलेसम्म ४१ वटा वडाको मत गणना सकिएको छ।
बझाङ प्रदेशसभा निर्वाचनमा पनि एमाले उम्मेदवार दमन भण्डारीले अग्रता लिएका छन्। उनले ९८८९ मत ल्याएको जिल्लास्थित निर्वाचन आयोगले जनाएको छ।
केही घन्टाअघि कांग्रेस उम्मेदवार अभिषेक सिंह मत गणनामा अगाडि थिए। पछिल्लो मत गणनाअनुसार एमालेका भण्डारीले कांग्रेसका सिंहलाई ९ मतले अग्रता लिएका छन्।
कांग्रेसका सिंहले ९८८० मत ल्याएका छन् भने माओवादीका उम्मेदवार जनकबहादुर बुढाले ३६५४ र एकीकृत समाजवादीका दिलबहादुर सिंहले २४८५ मत ल्याएका छन्। २०७९ को निर्वाचनमा यो क्षेत्रमा कांग्रेसले जितेको जितेको थियो।