काठमाडौं। भृकुटीमण्डपमा १७औं संस्करणको नेपाल–चीन (तिब्बत) आर्थिक तथा व्यापार मेला सुरु भएको छ। सोमबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले मेला उद्घाटन गरे।
अप्रिल २९ देखि मे ३ सम्म चल्ने मेलामा मन्त्री भण्डारीले नेपाल चीनको स्थायित्व, विकासको पक्षधर र एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताए। ‘नेपाल र चीनबीचको पारवहन सम्झौताले भारत हुँदै सामुद्रिक पहुँच हुने अवस्था बनेको छ’, भण्डारीले भने, ‘यसले नेपाल–चीन व्यापार राम्रो भएर अगाडि लग्न सहज हुनेछ।’
व्यापार मेलाले व्यापारीलाई नयाँ बजार मिल्ने भएकाले यस्तो मेला महत्त्वपूर्ण हुने उनको भनाइ छ। मेलाले समग्र व्यापारीलाई फाइदा पुग्ने र यसअघि आयोजना गरिएका यस्तै प्रकारका १६ मेला पनि उपलब्धिमूलक रहेको भण्डारीले दाबी गरे।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले चीन सरकारबाट प्राप्त सुविधाले नेपाल–चीन व्यापार सहज बनाउन काम गरिरहेको जानकारी दिए। उनले नेपाली उत्पादनलाई चीनले सहज बजार उपलब्ध गराउँदै आएको बताए।
‘चीनसँगको ठूलो व्यापार घाटा सन्तुलनका लागि नेपाली उत्पादन क्षेत्रमा लगानी गर्न चिनियाँ लगानीकर्तालाई आग्रह गर्छु’, उनले भने, ‘व्यापार मेला एकअर्काको उत्पादनलाई खोजी व्यापार बिक्री गर्ने मात्र नभई भोलिका दिनमा अन्य सम्भावनाका क्षेत्र खोजी गर्नेका लागि महत्त्वपूर्ण मञ्च हो।’