गण्डकी। स्वच्छ र पर्यटनमैत्री सेवा प्रवाह गर्न गण्डकी प्रदेशका होटल व्यवसायी तथा कर्मचारीलाई क्षमता अभिवृद्धि तालिम सञ्चालन गरिएको छ।
होटल व्यवसायी महासंघ गण्डकी प्रदेश र नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको संयुक्त आयोजनामा तालिम सञ्चालन गरिएको हो। महासंघ गण्डकीका अध्यक्ष अर्जुन चोखालका अनुसार पहिलो चरणमा कालीगण्डकी करिडोरअन्तर्गत पर्ने जिल्लाका होटल सञ्चालक र कर्मचारीलाई तालिम दिइएको छ।
गत चैत अन्तिम साता नवलपुरमा दुईदिने तालिम दिइएको उनले जानकारी दिए। वैशाखको अन्तिम साता तनहुँ र जेठ दोस्रो साताभित्र मनाङमा तालिम दिइने कार्यक्रम रहेको उनले बताए।
तालिम सम्पन्न भइसकेका दुई जिल्लामा ७० भन्दा बढी होटल व्यवसायी र कमर्चारीको सहभागिता रहेको महासंघले बताएको छ। 'होटलमा कार्यरत जनशक्तिको समयसापेक्ष सीप र दक्षता अभिवृद्धि गर्ने उद्देश्यले तालिम सञ्चालन भइरहेको हो,' अध्यक्ष चोखालले भने, 'तालिमले होटलको सेवा थप गुणस्तरीय र मर्यादित हुने अपेक्षा लिइएको छ।'
पोखरा पर्यटनको समेत राजधानी घोषणा भएका सन्दर्भमा यहाँ सञ्चालित होटलले पर्यटकमैत्री सेवा प्रवाह गर्नुपर्ने उनको भनाइ छ। धार्मिक पर्यटनका हिसाबले गण्डकी प्रदेश महत्त्वपूर्ण रहेकाले पर्यटक आवागमनको वृद्धिसँगै होटलहरुले आफ्नो आन्तरिक क्षमता र सेवाको गुणस्तर बढाउनुपर्ने चोखालले बताए।
तालिममा खाद्य स्वच्छता, सरसफाइ, पोसाक, पर्यटकमैत्री व्यवहार तथा आचरण, व्यवसायमा प्रविधिको प्रयोग, व्यवसायी र कर्मचारीबीचको सम्बन्ध, व्यवसायको प्रवर्द्धन, स्थानीय उत्पादनको व्यावसायिकीकरण लगायत विषयमा विज्ञहरुले सीप सिकाउने महासङघका महासचिव देवेन्द्र लम्सालले जानकारी दिए।
तालिमको प्रमुख प्रशिक्षकमा नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज पोखराका प्रिन्सिपल प्रकाश रेग्मी, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय तनहुँका प्रमुख ज्योति आचार्यलगायत छन्।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका निमित्त प्रमुख नवीन पोखरेलले कालीगण्डकी र मर्स्यांदी करिडोर क्षेत्रका साना तथा मझौला व्यवसायी र कर्मचारीलाई लक्षित गरेर तालिम सञ्चालन गरिएको बताए। रासस