काठमाडौं। तेस्रो लगानी सम्मेलनको पूर्वसन्ध्यासम्म नेपालमा लगानी वातावरण नभएको बताएर निजी क्षेत्रले सरकारको काम गराइ र नीति नियमको विरोध गरिरहेको थियो। पछिल्लो समय उद्योगी, व्यवसायीमाथि भइरहेको धरपकडदेखि सञ्चालनमा रहेका उद्योगमा विद्युत् कटौतीका विषयलाई जोड्दै मुलुकमा लगानी वातावरण बिग्रिएको विश्लेषण उनीहरुबाट भइरहेको थियो।
तर, मुलुकमा वैदेशिक लगानी ल्याउन सहजीकरण गर्ने उद्देश्यले लगानी बोर्डले आयोजना गरेको लगानी सम्मेलनको सह–आयोजक बने, तीनै निजी क्षेत्रका छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्स।
विदेशी एवं स्वदेशी लगानीकर्तामाझ सम्मेलनको पूर्वसन्ध्यामा प्रतिक्रिया दिएर जसरी मुलुकभित्र लगानी वातावरण नभएको गुनासो गरेका थिए, सम्मेलनका बेला भने निजी क्षेत्र सकारात्मक सुनियो। निजी क्षेत्रका प्रतिनिधिले लगानीका लागि विदेशीलाई आह्वान गर्दै सहकार्य गर्न तयार रहेको प्रतिबद्धतासमेत जनाए।
नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानीको अपार सम्भावना रहेको बताउँदै लगानी विस्तारका लागि विश्वभरका लगानीकर्तालाई आह्वान गरे।
‘विश्वका उदाउँदा ठूला अर्थतन्त्र, चीन र भारतको बीचमा रहेको नेपालको रणनीतिक अवस्थितिले गर्दा यी दुई देशको बजार, पर्यटन र विकासको फाइदा नेपालले लिन सक्छ,’ अध्यक्ष ढकालले भने, ‘नेपालमा लगानीका लागि सहज वातावरण बन्दै गएको छ।’
नेपाल उद्योग परिसंघ (सीएनाआई) का अध्यक्ष राजेशकुमार अग्रवालले सरकारले विभिन्न कानुन र नियम परिमार्जन गरेर निजी क्षेत्रको अनुरोधलाई सम्बोधन गरेको बताए। यी कार्यले देशभित्र लगानीको अनुकूल वातावरण निर्माण गर्न सरकारको प्रतिबद्धतालाई जोड दिने उनको भनाइ छ।
पछिल्लो समय उद्योगी, व्यवसायीमाथि भइरहेको धरपकडदेखि सञ्चालनमा रहेका उद्योगमा विद्युत् कटौतीका विषयलाई जोड्दै मुलुकमा लगानी वातावरण बिग्रिएको विश्लेषण उनीहरुबाट भइरहेको थियो। तर, मुलुकमा वैदेशिक लगानी ल्याउन सहजीकरण गर्ने उद्देश्यले लगानी बोर्डले आयोजना गरेको लगानी सम्मेलनको सह–आयोजक बने, तीनै निजी क्षेत्रका छाता संगठन।
‘स्वास्थ्य सेवाले नेपाललाई मेडिकल हबको रुपमा स्थापित गर्न सकिन्छ’, अध्यक्ष अग्रवालले भने, ‘अत्याधुनिक चिकित्सा सुविधा, विशेष उपचार केन्द्र र अनुसन्धान संस्थामा लगानीले स्थानीय नागरिकलाई मात्र होइन, छिमेकी देशका चिकित्सा पर्यटकलाई पनि आकर्षित गर्न सक्छ।’
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले नेपालको आर्थिक रुपान्तरणका लागि विदेशी लगानी अपरिहार्य रहेको बताए। विदेशी लगानीकर्तालाई रणनीतिक लगानी, नवीनता, दीर्घकालीन सहकार्य र प्रतिबद्धताका लागि आग्रह गरे।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष रविभक्त श्रेष्ठले लगानी सम्मेलनले स्वदेशी एवं विदेशी लगानीकर्तामा उत्साह देखिएको प्रतिक्रिया दिए। ‘नेपालमा अहिले लगानी वातावरणै छैन, यस्तो बेलामा किन सम्मेलन आवश्यक पर्यो भनेर धेरै साथीहरुले प्रतिक्रिया दिइरहेका बेला उत्साहजन सहभागिताले विश्वभर सकारात्मक सन्देश दिएको छ’, उनले भने।
नेपालमा सञ्चालित बहुराष्ट्रिय कम्पनीका प्रमुखदेखि सहयोगी दाताले लगानीका लागि नेपाल उर्बर भूमि भएको प्रतिक्रियाले थप लगानी भित्र्याउन सहज हुने उनको भनाइ छ। सम्भावनै सम्भावनाको खानी भएको नेपालमा लगानीका लागि निजी क्षेत्रलाई साथ दिन विश्व बैंक, एसियाली विकास बैंक र नेपाल पूर्वधार विकास बैंकले साथ दिने घोषणा गर्नुलाई सकारात्मक लिनुपर्ने उनले बताए।
सम्मेलनमा सहभागीमध्ये सबैभन्दा बढी चीन र दोस्रोमा भारतबाट सहभागी भएका छन्। दुई ठूला छिमेकी मुलुकले नेपालको लगानी सम्मेलनप्रति देखाएको यो चासोले समेत सकारात्मक सन्देश गएको व्यवसायीको भनाइ छ।
सम्मेलनमा ३८५ जनाको सहभागिता रहेको छ। सम्मेलनमा सबैभन्दा बढी चीनका २६५, भारतका १४३, अमेरिकाका ३३, जापानका २८, बेलायतका १४, बंगलादेशका १३, संयुक्त अरब इमिरेट्स (युएई) का १३ र जर्मनीका १० जना सहभागी छन्। दक्षिण कोरिया, अस्ट्रेलिया र मलेसियाका ९–९ जना सम्मेलनमा सहभागी भएको बोर्डले जनाएको छ। पाकिस्तानबाट ८, सिंगापुरबाट ६, कतार र घानाबाट ५–५, साउदी अरब, फ्रान्स र बहराइनबाट ४÷४ जनाको सहभागिता रहेको लगानी बोर्डले जनाइएको छ।
त्यसैगरी स्वीट्जरल्यान्ड, फिनल्यान्ड, रुस, अस्ट्रिया, श्रीलंका र कोलम्बियाका ३÷३ जना सम्मलेनमा सहभागी छन्। फिलिपिन्स, कुवेत, क्यानडा, मौरिसस, बेलारुस र बेल्जियमबाट २÷२ जना सम्मेलनमा सहभागी छन्।
यस्तै, इजिप्ट, नर्वे, इटाली, सेनेगल, नेदरल्यान्ड, पोल्यान्ड, इन्डोनेसिया, ताजकिस्तान, दक्षिण अफ्रिका, रोमानिया, मेक्सिको र साइप्रसबाट पनि सम्मेलनमा सहभागिता भएको छ।
आयरल्यान्ड, स्लोभेनिया, भियतनाम, बोस्निया, मोरक्को, टर्की, भानुआटु, मौरिटानिया र हङकङबाट पनि सम्मेलनमा सहभागी छन्। सम्मेलनका लागि १५० आयोजना सोकेसमा राखिएका छ।