काठमाडौं। सेयर बजारले तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनलाई स्वागत गरेको छ। काठमाडौंमा लगानी सम्मेलन सुरु भएसँगै दोहोरो अंकको वृद्धि हुँदै बजारले सम्मेलनलाई स्वागत गरेको हो।
साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १४.३३ अंकले बढेर १९८०.२७ को बिन्दुमा बन्द भएको छ।
होटल सोल्टीमा भइरहेको लगानी सम्मेलनलाई मुलुकका वित्तीय क्षेत्रका विभिन्न व्यक्तिले सम्बोधन गरिरहेका छन्। सम्मेलन चलिरहँदा दिनैभरजसो नेप्से घटबढ हुने क्रम चलिरह्यो।
कारोबारको सुरुमै ११ बजोर ३ मिनेटमा उकालो लागेर १९७६.१ को बिन्दुमा पुगेको नेप्से १२ बजेर ४२ मिनेटमा १९६५.६५ को बिन्दुसम्म झरेको थियो। त्यसपछि बढेको नेप्से १९८०.२७ को बिन्दु पुगेर बन्द भएको हो।
अघिल्लो कारोबार दिन बिहीबार नेप्से ३.२४ अंकले घटेर १९६५.९३ को बिन्दुमा बन्द भएको थियो। बिहीबारको तुलनामा आइतबार कारोबार रकममा पनि वृद्धि भएको छ।
आइतबार नेप्सेमा कुल २ अर्ब ६८ करोडको कारोबार भएको थियो। अघिल्लो कारोबार दिन बिहीबार नेप्सेमा २ अर्ब ३६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। बुधबार २ अर्ब ५३ करोड रुपैयाँ बराबरको काराबार भएको थियो।
आइतबार कारोबारमा आएकामध्ये १८० कम्पनीको सेयर मूल्य बढ्दा ५५ कम्पनीको घटेको छ। यस्तै, ९ कम्पनीको सेयर मूल्य स्थिर छ।
आइतबार पोखरा फाइनान्सको सेयर मूल्य सर्वाधिक ९.८४ प्रतिशतले वृद्धि हुँदा प्रोग्रेसिभ फाइनान्सको सेयर मूल्य ७.२६ प्रतिशतले बढेको छ। आज रिभर फल्स पावर कम्पनीको सेयर मूल्यमा सर्वाधिक ४.६३ पतिशतको गिरावट आएको छ।
आइतबार अधिकांश उपसमूहमा हरियाली छाएको छ। आज फाइनान्स उपसमूहमा ३.९८ प्रतिशत र विकास बैंक उपसमूहमा २.२३ प्रतिशतको वृद्धि भएको छ। यस्तै, लघुवित्त उपसमूहमा १.४० प्रतिशतको वृद्धि हुँदा निर्जीवन बिमा उपसमूहमा १.०६ प्रतिशतको वृद्धि भएको छ।