काठमाडौं। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले नेपाल अन्तर्राष्ट्रिय लगानीका लागि उत्कृष्ट गन्तव्य रहेको बताएका छन्।
काठमाडौंमा आज सुरु इमर्जिङ नेपाल इन्भेस्टमेन्ट समिट उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष अग्रवालले विश्वको तुलनामा सस्तो श्रमशक्ति, छिमेकी भारत र चीनको उपभोक्ता बजारलगायतका कारणले नेपाल विश्वकै उत्कृष्ट गन्तव्य रहेको बताएका हुन्।
अध्यक्ष अग्रवालले भने, ‘नेपालमा ५७ प्रतिशत जनसंख्या सक्रिय श्रममा रहेको तथ्यांकक छ, श्रमलागत पनि निकै सस्तो छ। नेपालमा लगानीमार्फत उत्पादन भएका वस्तुलाई विश्वका झन्डै ३ अर्व जनसंख्या रहेका छिमेकी भारत र चीनको बजारमा पुर्याउन सकिन्छ।’
आजको युगमा आर्थिक विकास र समृद्धिको यात्रामा एक्लै हिँड्न नसकिने भन्दै अध्यक्ष अग्रवालले संयुक्त लगानीका लागि आह्वान गरे। लगानी सुनिश्चितताका लागि सरकारले कानुनी वातावरण बनाएको अध्यक्ष अग्रवालको बताए। उनले नेपालमा पर्यटन, जलविद्युत्, पूर्वाधार र सूचना प्रविधि क्षेत्रमा लगानीका लागि अन्तर्राष्ट्रिय लगानीकर्तालाई आह्वान गरे।
विदेशी लगानीकर्तालाई प्रतिफल सुनिश्चित गर्न कानुनी वातावरणसँँगै लाभयुक्त परियोजना छनोट गरिएको अग्रवालले बताए। उनले भने, ‘अन्तराष्ट्रिय लगानीकर्ताका लागि सहज आवागमन, प्रतिफलको सुनिश्चितता र सहज बर्हिगमनको व्यवस्था एकद्वार नीतिबाटै गरिएको छ।’
तेस्रो अन्तर्राष्ट्रिय सम्मेलनले अर्थतन्त्रमा दीर्घकालीन महत्त्व राख्ने उनले दाबी गरे। लगानी सम्मेलनमा प्राथमिकताका क्षेत्रसहित लगानी आह्वान गरिएको र निजी क्षेत्र पनि साथै रहेकाले सम्मेलन फलदायी हुने अपेक्षा अध्यक्ष अग्रवालले व्यक्त गरे। अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा चेम्बरबाट करिब १ दर्जन आयोजनालाई सोकेसका रुपमा राखिएको छ।