काठमाडौं। लगानी सम्मेलनमा छिमेकी देश भारत र चीनको वर्चस्व बढ्दै गएको छ। आइतबारबाट काठमाडौंमा सुरु भएको तेस्रो लगानी सम्मेलनमा ५५ देशका १६ सय बढी लगानीकर्ताको प्रतिनिधित्व रहेको लगानी बोर्ड नेपालले जनाएको छ। छिमेकी देश भारतबाट १४३, चीनबाट २६५ प्रतिनिधि सहभागी भएका छन्।
बोर्डका सहसचिव एवं प्रवक्ता प्रद्युम्नप्रसाद उपाध्याय भन्छन्, ‘विगतका २ वटा सम्मेलनमा पनि छिमेकी देशबाटै प्रतिनिधित्व बढी थियो, अहिले पनि त्यही अवस्था छ।’ तर, विगतका सम्मेलनमा कति प्रतिनिधि नेपाल आएका थिए भन्ने विषयमा भने विवरणहरु खोज्नुपर्ने प्रवक्ता उपाध्याय बताउँछन्।
बोर्डले तेस्रो सम्मेलनमा सहभागिताका लागि स्वदेशी तथा विदेशी लगानीकर्ता एवं सरकारी निकायका २४ सय बढीलाई निम्ता पठाएको थियो। निम्ता पठाएकामध्ये १६ सय बढी प्रतिनिधिहरु सम्मेलनमा सहभागी हँुदैछन्। १६ सयमध्ये ३ सय ८५ जना स्वदेशी लगानीकर्ता सहभागी छन्।
यसअघि २०७३ फागुन १९ र २० मा भएको पहिलो लगानी सम्मेलनमा २१ देशका २५७ जना विदेशी लगानीकर्ता आएका थिए। त्यस्तै २०७५ चैत १५ र १६ मा भएको दोस्रो लगानी सम्मेलनमा ४० देशका ३ सय बढी विदेशी कम्पनीका ७३५ लागानीकर्ता नेपाल आएका थिए।
सोमबारसम्म चल्ने तेस्रो लगानी सम्मेलनमा ५५ देशमध्ये भारतबाट १४३, चीनबाट २६५, संयुक्त राज्य अमेरिकाबाट ३३, जापानबाट २८, संयुक्त अधिराज्यबाट १४, बंगलादेशबाट १३, संयुक्त अरब इमिरेट्स (युएई)बाट १३ जना नेपाल आएका छन्। त्यस्तै जर्मनीबाट १० जना छन् भने दक्षिण कोरिया, अस्ट्रेलिया र मलेसियाबाट ९-९ जनाको सहभागिता रहेको बोर्डले जानकारी दिएको छ।
तेस्रो लगानी सम्मेलनमा प्रतिनिधित्व गर्ने अन्य देशहरुमा घाना, साउदी अरब, फ्रान्स बहराइन, पाकिस्तान, सिंगापुर, कतार, स्वीटजरल्यान्ड, फिनल्यान्ड, रुस, अस्ट्रिया, श्रीलंका, कोलम्बियाका छन्। त्यस्तै फिलिपिन्स, कुवेत, क्यानडा, मौरिसस, बेलारुस र बेल्जियम, इजिप्ट, नर्वे, इटाली, सेनेगललगायत देशबाट पनि सम्मेलनमा सहभागी छन्।
तेस्रो लगानी सम्मेलनमा ९ खर्ब रुपैयाँ बढी लागतका १५० आयोजना सोकेश गरिएको बोर्डका प्रवक्ता प्रद्युम्नप्रसाद उपाध्याय बताउँछन्। सम्मेलनमा यातायात क्षेत्रका १९, पर्यटन पूर्वाधारका १७, भौतिक पूर्वाधारका ५, कृषि विकासका १५ आयोजना सोकेसका लागि तयार छन्।
त्यस्तै औद्योगिक पूर्वाधार र व्यापार क्षेत्रका ७, जल आपूर्तिका ४, सहरी विकासका ६, स्वास्थ्य तथा शिक्षा क्षेत्रका ३ आयोजना, सूचना तथा प्रविधि क्षेत्रका एउटा आयोजना पनि सोकेस भएको छ। बोर्डका प्रवक्ता उपाध्यायका अनुसार ऊर्जा र निजी क्षेत्रका ३१÷३१ वटा आयोजना छन् भने खानी एवं खनिजजन्य १३ परियोजना पनि तेस्रो लगानी सम्मेलनमा राखिएको छ।
पहिलो लगानी सम्मेलनमा कुनै पनि आयोजना सोकेश नगरे पनि विभिन्न १२ क्षेत्रमा १३ खर्ब ७० करोड अमेरिकी डलर बढीको आशयपत्र सार्वजनिक भएको थियो। त्यस्तै दोस्रो लगानी सम्मेलनमा ५० सार्वजनिक र ३९ नीजि क्षेत्रका गरी कुल ८९ आयोजना सोकेस भएका थिए। दोस्रो सम्मेलनमा ३२ खर्ब रुपैयाँको लगानी प्रतिबद्धता आएको थियो।हालसम्म बोर्डले ४६ आयोजनामा कुल १३ खर्ब ४८ अर्ब ९८ करोड रुपैयाँ बढीको लगानी स्वीकृत गरेको छ।