काठमाडौं । बुधबार आयाेजित एक साक्षात्कारमा प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका नेता तथा पूर्वमन्त्री एनपी साउद, नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षित तथा चलचित्रकर्मी नवल खड्काले आईफा अवार्ड स्थगन हुँदा सरकारको आलोचना गरेका छन् । उनीहरूले यसमा नेपाल सरकारकाे हदैसम्मकाे कमजारी मानेका छन् ।
आईफा अवार्ड नेपालमा गर्नेबारे सरकारले राम्रो तयारी गरेको थिएन : साउद
प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका नेता तथा पूर्वमन्त्री एनपी साउदले भारतको फिल्मसम्बन्धी आईफा अवार्डबारे सुरुदेखि नै राम्रो छलफल तथा तयारी नगर्दा आज यो अवस्था सिर्जना भएको टिप्पणी गरेका छन् ।
बुधबार रिपोर्टर्स क्लबको साक्षात्कारमा बोल्दै साउदले आईफा अवार्ड नेपालमा गर्नुपर्छ भनेर यदि भारतीय पक्षले आग्रह गरेको भए त्यसमा नेपाल सरकारले सकारात्मक रुपमा लिनुपर्ने धारणा राखे । उनले भने, ‘भारतीय पक्षले यदि यस्तो आग्रह गरेको भए नेपालले त्यसको लागि आवश्यक पूर्वाधारको व्यवस्थापन र सहजीकरण गर्नुपर्ने थियो । यसमा हामीले अन्यथा लिनुपर्ने कारण हुन सक्दैन थियो ।’ नेपालको पर्यटन प्रवद्र्धन तथा विकासमा पनि उक्त अवार्ड नेपालमा हुँदा उपयुक्त हुने उनको धारणा छ ।
साक्षात्कारमा बोल्दै उनले आईफा अवार्ड नेपालमा गर्नेबारेको सम्भाव्यता अध्ययनमा नेपाल सरकार हदैसम्मको गैरजिम्मेवार देखिएको पनि सुनाए । उनले भने, ‘नेपालले आर्थिक व्ययभार बोकेर अवार्ड कार्यक्रम गर्नु उपयुक्त थिएन र छैन ।’
आईफा अवार्ड स्थगन् गर्नु गलत, नेपाल–भारत सम्बन्ध बिग्रिन्छ : डा. दीक्षित
कार्यक्रममा नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले आईफा अवार्ड कार्यक्रम स्थगन् गरेकोमा आक्रोश पोख्दै नेपाल सरकार दोषी भएको र नेपालीहरु पनि दोषी भएको प्रतिक्रिया दिए । उनले आईफा अवार्ड स्थगन गर्दा विस्तारै सुध्रन लागेको नेपाल–भारत सम्बन्ध पनि बिग्रने ठोकुवा गरे ।
दीक्षितले भारतसँग नेपालको महत्त्वपूर्ण सम्बन्ध रहेको सुनाए । तर, आईफा अवार्डबारे सुरुदेखि नै विरोध हुनु र यो विषय मन्त्रिपरिषद हुँदै संसदसम्म पुग्नु गलत भएको टिप्पणी गरे । उनले भने, ‘आईफा अवार्ड नगर्न संसदीय समितिले निर्देशन दिनु गलत काम भयो । आईफामार्फत भारतसँग सम्बन्ध सुध्रिन थालेको थियो, त्यो पनि अब बिग्रिने भयो ।’
आफूहरुले सन् १९९६ मा काठमाडौंमा भारतीय चिकित्सकहरुको सम्मेलन सफलरुपमा आयोजना गरेर देखाएको स्मरण गराउँदै दीक्षितले भने, ‘हामीले चार हजार भारतीय चिकित्सकहरुको भव्य सम्मेलन काठमाडौंमा सम्पन्न गरेका थियौं । भारतका चिकित्सकहरुले पहिलो पटक देशबाहिर गरेको सम्मेलन थियो, उहाँहरुको आग्रहअनुसार मैले व्यवस्थापन गरेको थिएँ ।’ उक्त सम्मेलनमा नेपालले एक रुपैयाँ पनि खर्च नगरेको उनले जनाए ।
उक्त सम्मेलनले नेपालमा राम्रो व्यापार भएको पनि दीक्षितले स्पष्ट पारे । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय स्वास्थ्यमन्त्रीको उपस्थितिमा उक्त सम्मेलन बानेश्वरको बीआईसीसी भवनमा गरेको उनले सुनाए । उनले आईफा अवार्ड सञ्चालन गर्न नेपालले पैसाभन्दा पनि इज्जत दिनुपर्ने थियो भन्ने धारणा राखे । उनले भने, ‘भारतीय चलचित्रकर्मीहरुले एउटा चलचित्रबाट अर्बौं रुपैयाँ कमाउँछन् ।’
संसदीय समितिले अवार्ड नगर्न दिएको निर्देशनप्रति टिप्पणी गर्दै दीक्षितले समितिको निर्णय पूर्णरुपमा गलत भएको गुनासो पोखे । उनले भने, ‘अब एक एक भारतीयहरुले नेपाल र नेपालीलाई हेर्ने दृष्टिकोण नै नकारात्मक हुन्छ । अहिले पनि शाहरुख खान र सलमान खानलाई हेर्न मेला लाग्छ ।’ नेपाल सरकारले कार्यक्रमका लागि पैसा दिन्छु भनेर लोभ्याउन खोज्नु नै गलत भएको उनको दाबी छ ।
उनले भने, ‘यत्रो ठूलो अवार्ड कार्यक्रम गर्दा गृहकार्य गर्नुपर्ने थियो, तर सरकारले त्यतातर्फ ध्यान दिएन । ओलीजीले भारतसँग सम्बन्ध बिगारेका थिए, मोदी आएपछि सम्बन्ध सपार्न खोजेका थिए । त्यही भएर यो निर्णय लिएका थिए ।’
अवार्ड कार्यक्रम नै रद्द गर्दा नेपालको इज्जत धूमिल भएको दीक्षितको आरोप छ । उनले भने, ‘यो कार्यक्रम रद्द गर्दा नेपालको इज्जत कहाँ पुग्यो ? हाम्रो इज्जत खत्तम भयो । यो अवार्ड नेपालमा आयोजना गर्नु भनेको सुन पार्ने कुखुरा थियो, तर हामीले कुखुरा नै काटिदियौं ।’ उनले कार्यक्रम नै रद्द गर्दा संसारभरि नेपालका बारेमा नराम्रो सन्देश जाने पनि खतरा औंल्याए । उनले भने, ‘यसले पनि नेपाल भारतविरोधी छ भन्ने देखिएको छ । यो अत्यन्तै दुःखको कुरा हो ।’ वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले धेरै बोल्ने गरेको र काम चाहिँ कम गरेको पनि दीक्षितले टिप्पणी गरे ।
हामी आईफाको विरोधी थिएनौं, तर जनताको कर दुरुपयोग गर्नु हुँदैन : खड्का
चलचित्रकर्मी नवल खड्काले आफूहरुले आईफा अवार्ड नेपालमा हुनै हुँदैन भनेर विरोध नगरेको स्पष्ट पारेका छन् । तर, सरकारले जनताको करलाई दुरुपयोग गर्नेगरी ठूलो धनराशी खर्चिन खोजेकाले विरोध जनाएको उनले स्पष्ट पारे ।
अवार्डमा आउने पाहुनालाई स्थान, सुरक्षा र न्यानो आतिथ्यता दिनुपर्नेमा अर्बौं रुपैयाँ खर्चिन खोजेर सरकारले दलालीको पराकाष्ठा नघाएको पनि खड्काको आरोप छ । उनले काठमाडौंको धूलो, हिलो र टा«फिक जाम देखाएर पर्यटन प्रवद्र्धन नहुने पनि टिप्पणी गरे ।
खड्काले सम्झौतामा नै नेपाल सरकार उक्त अवार्ड गर्न लालायित भएको भनेर लेखिएकोमा पनि सुनाए । उनले भने, ‘नाकाबन्दी भयो भन्न नसक्ने सरकार किन यो अवार्ड गर्न लालायित भयो ? हाम्रो प्रश्न छ ।’ आईफाका लागि खर्चिन खोजिएको एक अर्ब रुपैयाँ खप्तडमा बाटोघाटो बनाउन खर्चिने हो भने पर्यटनको राम्रो विकास हुने पनि उनको धारणा छ ।
खड्काले नेपाली कलाकारहरु उपचार नपाएर मरिरहेको अवस्थामा सरकारले वास्ता पनि नगरेको तर, भारतीय कलाकारहरुसँग सेल्फी खिचाउन र उनीहरुका अगाडि भाषण गर्न अर्बौं रकम खर्चिन खोज्नु गलत भएको सुनाए ।