काठमाडौं। इलाम २ मा प्रतिनिधिसभा र बझाङ क्षेत्र १ (क) को प्रदेशसभा उपनिर्वाचन निर्वाचन सुरु भएको छ। सत्ता समीकरण फेरबदलपछि हुन लागेको यो उपनिर्वाचनले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको पाँच दलीय गठबन्धनको लोकप्रियता मापन गर्नेछ।
२०८० फागुन ३० मा पाँच दलीय गठबन्धनबाट तेस्रोपटक विश्वास मत पाएका प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहाल नेतृत्वको गठबन्धनमा हाल नेकपा एमाले, नेकपा एस, जसपा, राष्ट्रिय स्वतन्त्र पार्टी सहभागी छन्। पाँच दलबाटै सरकारमा पनि भागबन्डा लगाइएको छ। यद्पि याे उपनिर्वाचनमा सत्तारूढ नेकपा माओवादी केन्द्र र एमालेबाहेक अन्य दलले आ–आफ्ना उम्मेदवार उठाएका छन्।
कांग्रेससँगको सहकार्य अन्त्य गर्दै प्रधानमन्त्री प्रचण्डले २१ फागुनमा एमालेसहितको पाँचदलीय गठबन्धन बनाएका थिए।
माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्ड १० पुसमा १६९ सांसदको समर्थनमा संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री नियुक्त भएका थिए। २६ पुसमा विश्वासको मत लिँदा प्रचण्डले प्रतिनिधिसभामा दुई सय ६८ सांसदबाट विश्वासको मत पाएका थिए।
राष्ट्रपति निर्वाचनअघि एमाले छाडेर कांग्रेससँग दोस्रो गठबन्धन बनाएका प्रचण्डले गत वर्ष ६ चैतमा फेरि संसद्बाट विश्वासको मत लिएका थिए।
प्रधानमन्त्री भएको १४ महिना १९ दिनमै तेस्रोपल्ट समीकरण बदलेपछि प्रचण्डलाई सत्ता लोलुपको बात लागेको छ। एमालेसहितको गठबन्धनबाट सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्रीसहित सत्तारुढ दलका लागि पनि यो निर्वाचन नागरिकको लोकप्रियता जाँच्ने माध्यम बन्नेछ।
यद्यपि, प्रचण्डले जुन कारणले कांग्रेस छाडेर एमालेतिर गठबन्धनतिर गरेका थिए, त्यसयता राजनीतिमा कुनै तात्त्विक परिवर्तन भएको छैन, मन्त्री फेरिनेबाहेक।
राष्ट्र बैंकको आर्थिक सूचकांकले अर्थतन्त्र उँभो लागेको भनिए पनि हालसम्म आर्थिक गतिविधि चलायमान हुन सकेका छैनन्। वैशाख १६÷१७ मा गरिन लागेको लगानी सम्मेलनबाट पनि खासै उपलब्धि हासिल हुने संकेत देखिएका छैनन्।
राजनीतिक इच्छाशक्ति अभाव र भ्रष्टाचारका कारण अर्थतन्त्रले गति लिन नसकेको सर्वसाधारण बताइरहेका छन्। यस्तो बेला हुन लागेको उपनिर्वाचन परिणामले सत्तारुढ दलको परीक्षण गर्नेछ।
निर्वाचन आयोगका अनुसार इलाम २ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद सुवासचन्द्र नेम्वाङको निधन भएकाले उपचुनाव गरिएको हो। बझाङको प्रदेश सभा १(१) पनि त्यहाँबाट निर्वाचित प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको निधन भएपछि उपनिर्वाचन भएको हो।
निर्वाचन आयोगले मतदानको समय बिहान ७ देखि साँझ ५ बजेसम्मको समय निर्धारण गरेको छ। आयोगका अनुसार इलाम क्षेत्र–२ मा १ लाख १५ हजार ८८९ जना र बझाङको १ (क) मा ६१ हजार ७४८ मतदाता छन्।
यसपालि इलाममा ४२२ जना र बझाङमा ६३८ जना मतदाता थपिएका हुन्। दुई निर्वाचन क्षेत्रमा ३० जना चुनाव लड्दै छन्। इलाममा १९ र बझाङमा ११ जना उम्मेदवार चुनावी मैदानमा रहेको आयोगले जनाएको छ।
इलाममा एमालेबाट उम्मेदवार रहेका सुहाङ नेम्वाङलाई माओवादी केन्द्रले समर्थन गरेको छ। कांग्रेसबाट डम्बरबहादुर खड्का उम्मेदवार छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिलन लिम्बू, एकीकृत समाजवादीबाट जीतबहादुर राई, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट लक्ष्मी गुरुङ, जनमत पार्टीबाट प्रेमकुमार थाम्सुहाङ, नेपाल मजदुर किसान पार्टीबाट श्यामबहादुर दर्जी, मंगोल नेसनल अर्गनाइजेसनबाट मनिबहादुर लिम्बू, राप्रपा नेपालबाट गणेशबहादुर चौहान, नेपाली जनता दलबाट रेशमबहादुर सुनार उम्मेदवार छन्। नेसनल रिपब्लिक नेपालबाट धनराज रानामगर र राष्ट्रिय मुक्ति आन्दोलन नेपालबाट जयवन्तविक्रम शाह उम्मेदवार छन्।
इलाम २ मा सात जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन्। बझाङ–१ को प्रदेशसभा (क) मा ११ जना उम्मेदवार छन्। कांग्रेसबाट अभिषेक बहादुर सिंह,एमालेबाट दमनबहादुर भण्डारी, माओवादी केन्द्रबाट जनकबहादुर बुढा, राप्रपाबाट किशोर कुमार खड्का, एकीकृत समाजवादीबाट दिलबहादुर सिंह, नेमकिपाबाट खगेन्द्र बहादुर शाही, जनमत पार्टीबाट शुशिला देवी विष्ट, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट दीपक बहादुर खड्का, जनता समाजवादी पार्टीबाट राम बहादुर खड्का, नेसनल रिपब्लिकन नेपालबाट कमल घर्तीमगर, राष्ट्रिय मातृभूमि पार्टीबाट गजेन्द्र बहादुर थापा उम्मेदवार छन्।
इलाम–२ मा ७९ मतदान स्थल र १४९ मतदान केन्द्र तोकिएको छ। बझाङ (क) मा ७४ मतदानस्थल र ९३ मतदान केन्द्र तोकिएको छ। उपनिर्वाचनमा सुरक्षा प्रबन्धका लागि हजार ३८७ जना प्रहरी खटिएको आयोगले जनाएको छ।
मतदान केन्द्रमा हिंसात्मक, ध्वंसात्मक र अवाञ्छित गतिविधिको पूर्वसूचना पाएको अवस्थामा, दलका समर्थकबीच झैझगडा, कुटपिट भई मतपत्र तथा मतपेटिका तहसनहस हुन सक्ने अवस्था रोक्न सुरक्षा व्यवस्था कडा पारिएको छ।
मतदान स्थलको सुरक्षा व्यवस्था कडा पार्न सेनासमेत परिचालन गरिएको छ। मतदान सकिएसँगै सर्वदलीय बैठकले निर्णय गरेपछि मतगणना सुरु हुनेछ।
यसैबीच आयोगले सम्बन्धित निर्वाचन हुने क्षेत्रका नागरिकलाई भयरहित ढंगले मतदान गर्न अपिल जारी गरेको छ।