काठमाडौं। नेपाल राष्ट्र बैंकले आठ विकास बैंक र ५ वित्त कम्पनी नियामकको कारबाहीमा परेका छन्। नेपाल राष्ट्र बैंकको जारी नीति निर्देशन उल्लंघन गरी व्यवसाय गर्ने विकास बैंकलाई नगद जरिवानादेखि सञ्चालक र सीईओ बर्खास्तीसम्मको कारबाही गरेको हो।
२०८० फागुन मसान्तसम्म ८ राष्ट्रिय स्तर र ९ प्रादेशिक स्तरका गरी कुल १७ वटा विकास बैंक सञ्चालनमा रहेका छन्। यसैगरी १५ राष्ट्रिय स्तर र २ प्रादेशिक स्तरका गरी कुल १७ वटा वित्त कम्पनी सञ्चालनमा छन्। तीमध्ये दुई वटा समस्याग्रस्त अवस्थामा छन्।
समीक्षा अवधिमा राष्ट्र बैंकले राष्ट्रिय स्तरका ४ वटा विकास बैंकमा जोखिममा आधारित समष्टिगत स्थलगत निरीक्षण सम्पन्न गरेको छ। यसैगरी प्रादेशिक स्तरका विकास बैंक र ११ वित्त कम्पनीमा अनुपालनामा आधारितसहित कुल २४ वटा संस्थाको समष्टिगत स्थलगत निरीक्षण सम्पन्न गरेकोराष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंक विभिन्न निकाय र सरोकारवालाबाट प्राप्त सूचना, निवेदन, गुनासो तथा उजुरीका आधारमा २ विकास बैंक र १ वित्त कम्पनी गरी ३ वटा संस्थामा विशेष निरीक्षण गरेको थियो। यसमा नेपाल राष्ट्र बैंक ऐन, २०५८, बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ र राष्ट्र बैंकले जारी गरेका निर्देशन उल्लंखन गर्ने बैंक तथा वित्तीय संस्थालाई कानुनबमोजिम आर्थिक तथा गैरआर्थिक कारबाही गरेको छ।
फागुन मसान्तसम्म राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त ’ख’ वर्गका ८ विकास बैंक र ’ग’ वर्गका ५ वित्त कम्पनी गरी कुल १३ वटा संस्थामध्ये कतिपय संस्थाका अध्यक्ष, सञ्चालक र प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराउने, नसिहत दिने, बर्खास्त गर्न निर्देशन दिने, आर्थिक जरिमानालगायत ३९ कारबाही गरिएको राष्ट्र बैंकले जानकारी दिएको छ।
गत वर्ष स्थापित गैर–बैंक वित्तीय संस्था सुपरिवेक्षण विभागमार्फत समीक्षा अवधिमा २६ वटा रेमिट्यान्स कम्पनी र ६ वटा क वर्गका बैंकहरूले गरेका विप्रेषण कारोबारको स्थलगत निरीक्षण सम्पन्न भएको छ।
४५ मनिचेन्जर, २७ टुर्स, ट्राभल्स र ट्रेकिङ कम्पनी, ७ हायर पर्चेज कम्पनी, २२ होटल, ४ कार्गो कम्पनी, ६ एयरलाइन्स र अन्य ४ वटा कम्पनीको स्थलगत निरीक्षण तथा सुपरिवेक्षण सम्पन्न भएको छ।