काठमाडौं। नेपाल राष्ट्र बैंकले तथ्यांक संकलन पद्धति परिवर्तन गर्ने भएको छ। तथ्यांक सुदृढीकरण र गुणस्तर अभिवृद्धिका लागि राष्ट्र बैंकले प्रकाशन गर्दै आएको मौद्रिक सर्वेक्षण र अन्य मौद्रिक तथा वित्तीय परिसूचकसँग सम्बन्धित तथ्यांक संकलन पद्धति परिवर्तन गर्न लागेको हो।
यसका लागि राष्ट्र बैंकले २०८० पुसदेखि मौद्रिक सर्वेक्षण तथा वित्तीय परिसूचकसँग सम्बन्धित तथ्यांक आवासीय अवधारणामा आधारित बनाएको गभर्नर महाप्रसाद अधिकारीले आज आयोजित वार्षिकोत्सव अवसरमा बताए।
राष्ट्र बैंकको नयाँ मोडलको तथ्यांक संकलन पद्धतिमा बिमा कम्पनी, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, लघुवित्त वित्तीय संस्था, हाइड्रोइलेक्ट्रीसीटी समेटी ‘वित्तीय क्षेत्र सर्वेक्षण प्रकाशन गर्न लागिएको हो।
राष्ट्र बैंकले उपभोक्ता मूल्य सूचकांकको नयाँ आधार वर्ष २०८०/८१ निर्धारण गर्न बजार केन्द्र छनोट गरी वस्तु तथा सेवाको नियमित मूल्य संकलन गर्ने र भारांक अद्यावधिक गर्ने कार्य गरिरहेको छ।
आधार वर्ष अद्यावधिक भएपछि प्रदेशगत मूल्य सूचकांकसमेत प्रकाशन गर्ने राष्ट्र बैंकको योजना रहेको गभर्नर अधिकारीले बताए।त्यसका लागि सातवटै प्रदेशका ७७ जिल्लाका ८७ वटा बजार केन्द्र छनोट गरी ती केन्द्रबाट वस्तु तथा सेवाको मूल्य तथ्यांक संकलन भइरहेको छ।
वस्तु तथा सेवाको भारांक राष्ट्रिय तथ्यांक कार्यालयबाट सम्पन्न नेपाल जीवनस्तर सर्वेक्षण (चौथो) को आधारमा गरिनेछ। आधार वर्ष अद्यावधिक भएपछि राष्ट्रिय स्तर र प्रदेशगत मूल्य सूचकांकसमेत प्रकाशन गर्ने राष्ट्र बैंकको योजना छ।