नेपालमा बर्सेनि भित्रिने विद्युतीय सवारीसाधनको परिमाण बढ्दै गएको छ। चारपांग्रे सवारीसाधनले बजारमा दबदबा कायम गरिरहे पनि दुईपांग्रे प्रयोग पनि बढ्दो छ। विशेषगरी काठमाडौं, पोखरा, विराटनगरलगायतका सहरी र समथर क्षेत्रमा विद्युतीय स्कुटर प्रयोग बढ्दै गएको छ। तर, बिक्रेता तथा वितरक अझै विद्युतीय सवारीसाधनप्रति मानिसको बुझाइ कमजोर रहेको तर्क गर्छन्।
यस्तै, कोरोना महामारी, रुस–युक्रेन युद्ध र आर्थिक मन्दीले पनि पछिल्लो समय बजार सुस्ताएको सेगवेका बजार प्रमुख मनिष मुरारका बताउँछन्। हाल मानिसको क्रयशक्तिमा ह्रास आउँदा बिक्री न्यून भएको उनको ठम्याइ छ। विद्युतीय सवारीसाधन प्रयोग बढ्दै गर्दा ब्याट्री व्यवस्थापनको विषय पनि उठिरहेको छ। नेपाल पछि गएर यसको डम्पिङ साइट त बन्ने होइन भन्ने प्रश्न पनि उठिरहेको छ। नेपालमा विद्युतीय दुईपांग्रे सवारीसाधनको बजार अवस्था तथा चुनौती, ब्याट्री व्यवस्थापनलगायत विषयमा केन्द्रित रहेर क्यापिटल नेपालका कमला भण्डारीबाट सेगवेका बजार प्रमुख मुरारकालाई सोधिएका पाँच प्रश्नः
दुईपांग्रे इलेक्ट्रिक सवारीसाधनमा ग्राहकको खासै चासो देखिँदैन। किन विद्युतीय बाइक/स्कुटरमा ध्यान केन्द्रित गर्न सक्नुभएन?
नेपालमा भित्रिएका विद्युतीय दुईपांग्रे सवारीसाधनको तथ्यांकअनुसार तुलनात्मक रुपमा चारपांग्रे गाडीको मात्रा बढी छ। चारपांग्रे विद्युतीय सवारीसाधनभन्दा विद्युतीय बाइक/स्कुटर आयात कम छ। हालै हामीले जगदम्बा अटोको डिलर थालनी गरेका छौं। हामीमार्फत केही गाडी बिक्री भइसकेका छन्।
यद्यपि अहिले सवारीसाधन बिक्री गर्न निकै कठिन छ। एकातर्फ अहिले मानिसको क्रयशक्ति क्षमतामा ह्रास आएको छ भने अर्कातर्फ विद्युतीय सवारीसाधनको महत्त्वबारेको ज्ञान कम छ। त्यसैले पनि धेरै मात्रामा विद्युतीय सवारीसाधन बिक्री हुन नसकेको हो। यद्यपि, विद्युतीय सवारीसाधनको महत्त्वको विषयमा मानिस सचेत हुँदै र बुझ्दै गएका छन्। अझै पनि झापा, विराटनगरलगायत तराई क्षेत्रमा विद्युतीय सवारी साधनप्रतिको ज्ञान कम रहेको पाएका छौं।
नेपालमा दुईपांग्रे सवारीसाधन प्रयोग गर्नेहरूले बढी मात्रामा लामो दूरीको यात्रा गरेको देखिन्छ। तर, विद्युतीय बाइक तथा स्कुटर छोटो दूरीका लागि उपयुक्त हुन्छ। अहिले विद्युतीय बाइक तथा स्कुटर नयाँ–नयाँ भेरियन्टमा भित्रिएका छन्। विद्युतीय सवारीसाधन छोटो दूरीका लागि हुने भएकाले पनि बिक्री कम भएको हो।
तपाईंहरूले नेपालमा विद्युतीय सवारी इलेक्ट्रिक स्कुटर बिक्री गर्न थालेको लामो समय भइसक्यो। सुरुमा इभी भित्र्याउँदाको बजार र अहिलेको बजार अवस्था कस्तो?
अहिले बजार अवस्था खराब छ। वितरकको पक्षबाट हेर्दा पहिलेभन्दा बिक्री र माग दुवै घटेको छ। पेट्रोलको मूल्य बढी हुँदा मानिसले थोरै मात्रामा खरिद गरिरहेका छन्। तर, आर्थिक मन्दी मानिसको खरिद क्षमतामै गिरावट आएको छ। त्यसैले अहिलेको बजार खासै राम्रो अवस्थामा छैन।
नेपालमा चारपांग्रे इलेक्ट्रिक गाडी बिक्री बढेको बढ्यै छ। तर, दुईपांग्रे सवारी सोही अनुपातमा बिक्री हुन सकेको छैन। बिक्रीपछिको सेवामा ध्यान नदिँदा दुईपांग्रेतर्फ आकर्षण नबढेको हो?
नेपालमा दुईपांग्रे विद्युतीय सवारीसाधन बिक्री नहुनुमा सबैभन्दा ठूलो कमजोरी सरकारको छ। सरकारले विद्युतीय सवारीसाधनमा जुन मात्रामा कर तोकेको छ, त्यसलाई कम गर्न आवश्यक छ। दुईपांग्रेको मूल्य निकै महँगो छ। अहिले डेढ लाख रूपैयाँ हाराहारीबाट पेट्रोलियम दुईपांग्रे सवारीसाधन पाइन्छ भने तीन लाख हाराहारीमा विद्युतीय दुईपांग्रे सवारीसाधनकाे न्यूनतम मूल्य पनि तीन लाखबाट माथि पर्छ। यस कारण नेपालमा विद्युतीय सवारीसाधन बिक्री सोचेअनुसार हुन नसकेको हो।
विद्युतीय सवारीसाधन प्रयोग बढाउन सरकारले सोहीअनुरुपको सहुलियत दिन आवश्यक छ। आर्थिक मन्दीका कारण व्यापारीले व्यापार गर्न सकेका छैनन्। व्यापारीले पनि स्वाभाविक रुपमा व्यापार गरेपछि केही मात्रामा मार्जिन राख्नुपर्ने हुन्छ। सामान आयात गर्न दिनरात मिहिनेत गर्नुपर्ने अवस्था छ। करका कारण भारतमा डेढ लाखमा पाइने सवारीसाधनको मूल्य नेपाल आइपुग्दा चारदेखि पाँच लाख रुपैयाँसम्म पर्दछ। भारतले विद्युतीय सवारीसाधनमा सोहीअनुरुपको सुविधा दिएको छ। नेपालमा पनि छुट दिए राज्यलाई नै फाइदा पुग्दछ। नयाँ बजेट आउँदा विद्युतीय सवारीमा कर बढ्छ वा बढ्दैन भन्ने कुराले पनि आगामी दिनमा विद्युतीय सवारीसाधनको बिक्री परिमाण निर्धारण गर्नेछ। अन्यथा, हाम्रै कारणले दुईपांग्रेप्रतिको आकर्षण घट्यो भन्ने सही होइन।
सामान्यतया विद्युतीय स्कुटरले १०० को रेन्ज दिन्छन्। तर, मूल्य तीन–चार लाख माथि छ। यो अवस्थाले नेपालमा आएका कतिपय ब्रान्ड फेल भएका छन्। बजार अध्ययन नगरी आयात गर्ने प्रचलनले नेपाल ‘डम्पिङ साइट’ बन्ने त होइन?
नेपालमा धेरैले न्यून गुणस्तरको सामान आयात गरेको पाइन्छ। एउटा व्यापारीले सुरुमा २० देखि २५ युनिट सवारीसाधन आयात गर्छ। उक्त आयात भएको सवारी चल्यो भने पछि अरु पनि आयात हुन्छ। अन्यथा बन्द हुन्छ। जसले सवारीसाधन आयात गर्छ, उसले कमाउँछ भन्ने किसिमको अवस्थालाई अन्त्य गर्न आवश्यक छ। यो अवस्था अन्त्य हुनासाथ ब्रान्ड र विद्युतीय सवारीप्रति मानिसको विश्वास बढेर जानेछ।
हाम्रोमा धेरै राम्रा ब्रान्ड पनि छन्। स्कुटरका लागि निउ ब्रान्डलाई राम्रो मानिन्छ। नेपालमा करिब १० वटा ब्रान्ड राम्रोसँग चल्न सक्छन्। तर, हाल योभन्दा धेरै मात्रामा आयात भइरहेको छ। सरकारले गुणस्तर हेरेर आयातमा नियमन गर्न जरुरी छि। नेपालमा हरेक दिन नयाँ–नयाँ ब्रान्ड भित्रिरहेका छन्। सरकारले यो कुरामा ध्यान पुर्याउन आवश्यक छ। नेपालमा करिब दैनिक ६० देखि ६५ वटासम्म दुईपांग्रे विद्युतीय सवारीसाधन आयात भएको अवस्था छ। यसमा पनि कतिपय ब्रान्ड अनौपचारिक रुपमा आएर रजिस्ट्रर नभई सञ्चालनमा छन्।
विद्युतीय सवारीसाधनको ब्याट्री व्यवस्थापन विषय उठिरहेको छ। ब्याट्रीमा दुई वर्षभन्दा धेरैको वारेन्टी पनि हुँदैन। ब्याट्री व्यवस्थापनका लागि सरकारसँग मिलेर केही योजना बनाउनुभएको छ?
वारेन्टीको विषयमा दुई वर्ष बढी वारेन्टी दिने ब्रान्ड धेरै छन्। हामीले ब्याट्री व्यवस्थापनको काम कम्पनीको नीति नियमअनुसार गर्दै आएका छौं र गर्छौं। यस विषयमा सबै कम्पनीको फरक–फरक नीति छ। वारेन्टी सकिएपछि त्यसलाई रिसाइकल गर्ने काम गर्छौं। यसले हाम्रै देशलाई फाइदा पुर्याउँछ। वारेन्टी सकिनासाथ ब्याट्री फाल्नुपर्छ भन्ने हुँदैन। यसलाई अन्यत्र प्रयोग गर्न सकिन्छ।