काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आर्थिक गतिविधि चलायमान हुने आधार सिर्जना भएको बताएका छन्। कर्जाको ब्याजदर घटेकोले आर्थिक गतिविधि चलायमान हुनका लागि आधार सिर्जना भएको गभर्नर अधिकारीले राष्ट्र बैंकको ६९ औं वार्षिकोत्सव कार्यक्रममा बताएका हुन्।
गभर्नर अधिकारीका अनुसार आर्थिक गतिविधिमा आएको केही शिथिलताका कारण बैंकिङ प्रणालीको कर्जा असुली दबाबमा रहेको हुँदा निष्क्रिय कर्जा अनुपात केही बढेको छ। २०८० फागुनमा बैंक तथा वित्तीय संस्थाको औसत निष्क्रिय कर्जा कुल कर्जाको ३.७३ प्रतिशत पुगेको गभर्नर अधिकारीले बताए।
यद्यपि, २०८० फागुन मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको खुद तरल सम्पत्ति कुल निक्षेपको २८.४१ प्रतिशत रहेको र कुल पुँजीकोष जोखिम भारित सम्पत्तिको १२.४४ प्रतिशत रहेकाले नेपालका बैंक तथा वित्तीय सस्थाको स्थिती सुदृढ अवस्थामै रहेको उनको भनाइ छ।
चालू आर्थिक वर्षमा समयमै रोपाइँ भएको, मौसम अनुकूल भई समयमा वर्षा भएको र मलको आपूर्ति सहज नै रहेकोले कृषि उत्पादन बढ्ने अनुमानले अर्थतन्त्र चलायमानमा मद्दत पुग्ने उनको भनाइ छ। समयमै रोपाईसँगै मौसम अनुकूल रहेको र मलको आपूर्ति सहज रहेका कारण कृषि उत्पादनको वृद्धि दर सन्तोषजनक रहने गभर्नर अधिकारीले बताए। विप्रेषण आप्रवाहमा भएको सुधारले बाह्य क्षेत्र सुदृढ भई बैंकिङ प्रणालीमा तरलता बढेको र कर्जाको ब्याजदर घटेकोले आर्थिक गतिविधि चलायमान हुनका लागि आधार सिर्जना भएको उनले बताए।
साथै, पर्यटक आगमन कोभिडपूर्वको अवस्थामा पुगेको तथा विद्युत् र सिमेन्टको निर्यात बढ्दै गएको सन्दर्भमा चालु आर्थिक वर्षमा आर्थिक वृद्धि दर अघिल्लो वर्षको तुलनामा सुधार हुने देखिन्छ। करिब ६०० मेगावाटको थप जलविद्युत् उत्पादन र पर्यटन क्षेत्रमा आएको सुधारका कारण चालू वर्षमा आर्थिक वृद्धिदर औसत स्तरमा रहने उनले बताए।
तथापि, सरकारको पुँजीगत खर्च अपेक्षित रूपमा हुन नसकिरहेको र पछिल्ला वर्ष उल्लेख्य सङख्यामा वैदेशिक रोजगारी र अध्ययनको लागि युवाहरु विदेशिएकाले आन्तरिक माग भने शिथिल रहेको छ। खासगरी निर्माण, व्यापार र उत्पादनमूलक उद्योगहरू आर्थिक शिथिलताबाट बढी प्रभावित भएको गभर्नर अधिकारीले बताए।