क्यापिटल नेपालले मुख्य आर्थिक समाचारलाई प्राथमिकता दिएर सुरु गरेको साताभरका प्रमुख आर्थिक खबर नामक स्तम्भ। यस्ता छन्, संक्षेपमा साताभरका मुख्य–मुख्य आर्थिक समाचारः
सरकारले २८ सहसचिवको सरुवा गरेको छ। सहसचिव देवराज जोशीसहित २८ सहसचिवको सरुवा भएको हो। वैशाख १३ को मन्त्रिपरिषद् बैठकले २८ जना सहसचिवको सरुवा गर्ने निर्णय गरेको हो। निर्णयसँगै भरतपुर र ललितपुर महानगरको प्रमुख प्रशासकीय अधिकृत पनि परिवर्तन भएका छन्। ललिलतपुरका वीरेन्द्रदेव भारती भरतपुरमा र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकी रेखा दासको ललितपुर महानगरमा सरुवा भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध व्यवस्था विपरीत विदेशको स्थायी आवासीय अनुमतिपत्र लिएको आरोपमा मुद्दा दायर गरेको छ। अमेरिकी पिआर लिएका पौडेलले झुटा विवरण पेस गरी नेपालमा सार्वजनिक पद धारण गरेको अभियोगमा अख्तियारले चैत ९ मा विशेष अदालतमा मुद्दा दायर गरेको हो। पौडेलमाथि यसअघि २०८० वैशाख ३ मा दर्ता भएको भ्रष्टाचारको अर्को मुद्दासमेत विचाराधीन छ।
भ्रष्टाचार मुद्दामा सफाइ पाएका मधुकुमार मरासिनीले अर्थसचिवको जिम्मेवारी पाएका छन्। चैत १० को मन्त्रिपरिषद् बैठकले सचिव मरासिनीलाई अर्थ मन्त्रालयमा सरुवा गरेको हो। पेमेन्ट गेटवे अनियमितता प्रकरणमा अख्तियारले गत असोज १५ मा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि मरासिनी निलम्बनमा परेका थिए। त्यतिबेला उनी उद्योग मन्त्रालयमा थिए। विशेष अदालतले चैत ७ मा सफाइ दिएपछि मरासिनीको निलम्बन फुकुवा भएको थियो। योसँगै मरासिनीले दोस्रोपल्ट अर्थसचिवको जिम्मेवारी पाएका हुन्।
कतारी अमिर शेख तमिम विन हमाल अल थानीले राष्ट्रपति रामचन्द्र पौडेलको आमन्त्रणमा नेपालको दुईदिने भ्रमण गरेका छन्। वैशाख ११ मा नेपाल आएका कतारी अमिर वैशाख १२ मा स्वदेश फर्केका छन्। मध्यपूर्वको क्षेत्रफलमा सानो भए पनि ग्यास र पेट्रोल इनधनका कारण समृद्ध कतारका अमिरको नेपाल भ्रमणका क्रममा विभिन्न आठ वटा विषयमा सम्झौता र समझदारीपत्रमा हस्ताक्षर भएको छ। कतारका अमिर र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच चैत १२ मा सोल्टी होटलमा भएको भेटवार्तापछि द्विपक्षीय सम्झौता र समझदारीमा हस्ताक्षर भएको हो। सम्झौता दुवै देशका सरकारी तहका विभिन्न मन्त्रालयअन्तर्गतका ६ वटा र निजी क्षेत्रका थप २ सहित ८ विषयमा भएको हो।
नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेलविरुद्ध फेरि अर्को भ्रष्टाचार मुद्दा दर्ता भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पौडेलविरुद्ध वैशाख ९ मा गैरकानुनी सम्पत्ति आर्जनको मुद्दा दर्ता गरेको हो। २३ करोड ७५ लाख विगो दाबी गरेको अख्तियारले सरकारी ओहोदामा रही सम्पत्तिको झुट्टा विवरण दिएको भन्दै झुटा लिखतको समेत मुद्दा दायर गरेको छ।
यातायात व्यवस्था विभागले करिब ८ महिना अर्थात् वैशाख ११ पछि फेरि सवारी चालक अनुमति पत्र (लाइसेन्स) छाप्ने काम सुरु गरेको छ। विभागका अनुसार लाइसेन्सका लागि आवश्यक पर्ने कार्ड अभाव हुँदा गत असारदेखि छाप्ने काम अवरुद्ध थियो। कार्ड आएपछि अहिले दैनिक ४ हजारको दरले मास प्रिन्टरबाट छपाइ भइरहेको छ। विभागका अनुसार ढिलो गरी कार्ड आइपुग्दा छापेर वितरण गर्न मात्रै १६ लाख पुगेको छ। अहिले देशभर दैनिक ३ देखि ५ हजारले लाइसेन्स परीक्षा पास तथा नवीकरणका लागि प्रक्रिया पूरा गर्दैआएको यातायात विभागले जनाएको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दलीय आबद्धता भएका शिक्षकलाई कारबाही गर्न सहजताका लागि निर्वाचन आयोगसँग राजनीतिक दलका कार्यकारिणी समितिको विवरण माग गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको सचिवालयले वैशाख १३ मा दलीय आबद्धता भएका शिक्षकको विषयमा परेका उजुरीको विवरण यकिन गरी कारबाही अघि बढाउन आयोगको अभिलेखमा भएको दलका कार्यसमितिको विवरण मागिएको बताएको हो। राजनीतिक दलका केन्द्रीय, प्रदेश र जिल्ला तहका सबै कार्यकारिणी समितिमा रहेका पदाधिकारीको विवरण माग गरी निर्वाचन आयोगमा पत्राचार गर्ने निर्णय भएको मन्त्रालयले जनाएको छ। निर्वाचन आयोगबाट विवरण प्राप्त भएपछि मन्त्रालयले आफूसँग भएका शिक्षक, कर्मचारीको विवरण र राजनीतिक दलका कार्यकारिणी समितिका पदाधिकारीको विवरण हेर्ने सचिवालयले जनाएको छ। शिक्षक, कर्मचारी राजनीतिक दलको कार्यकारिणी समितिमा बसेको पाइए शिक्षा ऐनअनुसार पदबाट हटाउनेसम्मको कारबाही प्रक्रिया अगाडि बढाउने मन्त्री श्रेष्ठले चेतावनी दिँदै आएकी थिइन्। मन्त्री श्रेष्ठले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासँग छलफल गरेर उक्त फैसला कार्यान्वयनका लागि आयोगको सहयोग मागेकी हुन्।
सर्वोच्च अदालतले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने धन्धा चलाएको आरोपमा पक्राउ परेका एमाले नेता टोपबहादुर रायमाझीसहित ७ जनालाई थुनामै राख्न आदेश दिएको छ। सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र टेकप्रसाद ढुंगानाको इजलासले वैशाख १३ मा उनीहरुलाई धरौटीमा वा सामान्य तारेखमा छाड्न अस्वीकार गर्दै थुनामै राख्न आदेश दिएको हो। यसअघि जिल्ला अदालत काठमाडौं र उच्च अदालत पाटनले पुर्पक्षका लागि थुनामा राख्न दिएको आदेश सर्वाेच्चले सदर गरेको हो। रायमाझीलगायतले सो आदेशविरुद्ध सर्वोच्चमा पुनरावेदन दिएका थिए।
रायमाझीसहित तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार इन्द्रजित राई, भुटानी शरणार्थी प्रकरणका मुख्य आरोपी केशव दुलाल, सानु भण्डारी, सागर राई र सन्देश शर्मा जेलमै रहनेछन्। सोही प्रकरणमा पक्राउ परेका कांग्रेस नेता बालकृष्ण खाण भने राजनीतिक पहुँचका आधारमा छुटिसकेका छन्। कांग्रेस नेता एवं पूर्वसांसद आङटावा शेर्पा रिहा हुनेछन्।
मान्छेलाई जिउँदै इँटाभट्टामा हालेर हत्या गरेको आरोपमा मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटले जन्मकैदको सजाय सुनाएको छ। वैशाख १३ मा न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले आलमसहित ४ जनालाई जन्मकैदको फैसला सुनाएको स्रेस्तेदार उद्धव ढोडारीले जानकारी दिए। कांग्रेस नेतासमेत रहेका आलमले २०६४ चैत २७ मा राजपुरमा ज्यान जाने गरी बम विस्फोट गराएको पीडित बताउँछन्। यो मुद्दामा सरकारी वकिलले प्रतिवादी बनाएका मुक्ति साहले भने सफाइ पाएका छन्। जन्मकैद पाउनेमा आलम, उनका भाइ मोहम्मत महताव आलम, शेख सराद र बद्री सहनी छन्। उनीहरूलाई पुरानो मुलुकी ऐन अनुसार जन्मकैद बापत २० वर्ष जेल सजाय हुनेछ। २०६४ को पहिलो संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा रौतहटको साबिक राजपुर गाविस–४ फरहदवामा बम विस्फोट गराएको र त्यसक्रममा केहीलाई जिउँदै इँटाभट्टामा लगेर जलाएको आरोप आलममाथि लागेको छ।
अघिल्लो साता १९७२.१४ बिन्दुमा रहेको नेप्से परिसूचक यो साताभरि उतारचढाव भइरहँदा कारोबारको अन्तिम दिन बिहीबार १९६५.९३ बिन्दुमा बन्द भएको छ। समग्रमा नेप्सेमा ६.२१ अंकको गिरावट देखिएको छ। सेयर बजारमा यो साता कुल ८ अर्ब ४९ करोड रुपैयाँको कारोबर भएको छ। अघिल्लो साता कुल ९ अर्ब ९२ करोड रुपैयाँको कारोबार भएको थियो।