काठमाडौं। आइतबार सोमबार हुन लागेको लगानी सम्मेलनमा ९ करोड खर्च हुने अनुमान गरिएको छ। लगानी बोर्ड नेपालका लेखा अधिकृत सूर्य भुसालका अनुसार होटल व्यवस्थापनमा २ करोड रुपैयाँ, ‘इभेन्ट मेनेजमेन्ट’मा ३ करोड रुपैयाँ खर्च हुने आँकलन गरिएको छ।
त्यस्तै भारत, चीनलगायत देशमा गरिएका लगानी सम्मेलन लक्षित कार्यक्रममा करिब २५ लाख रुपैयाँ खर्च भएको छ। सोसहित डायरी, कलम, बैठक भत्तालगायतमा करिब १ करोड खर्च हुने पनि लेखा अधिकृत भुसालले जानकारी दिए। ‘आर्थिक मन्दिको समयमा सम्मेलन आयोजना भएकाले सकेसम्म खर्च कम गर्ने योजना छ,’ उनले भने, ‘सम्मेलनमा हुने खर्च पनि बेलायती संस्था एफडीओ र यूएनडिपीले अर्थ मन्त्रालयसँग सहकार्य गरेर उतैबाट गर्छन्।’ उनले सो खर्चबारे बोर्डलाई अहिले नै जानकारी नहुने बताए।
यसअघि भएको पहिलो लगानी सम्मेलनमा १ करोड र दोस्रो सम्मेलनमा ३ करोड रुपैयाँ खर्च भएको बोर्ड जनाएको छ। त्यस्तै तेस्रो लगानी सम्मेलनका १५ सय प्रतिनिधिका लागि बोर्डले व्यवस्थापन प्रक्रिया सुरु गरेको छ। सम्मेलनमा सहभागी हुन २ हजार बढी व्यक्ति एवं कम्पनी तथा सरकारी निकायलाई निम्ता पठाए पनि १५ सय मात्रै सहभागी हुने आँकलन गरिएको बोर्डका सहसचिव एवं प्रवक्ता प्रद्युम्नप्रसाद उपाध्यायले बताए।
१५ सय प्रतिनिधिहरुमा स्वदेशी तथा विदेशी सबै पर्ने छन्। साथै लगानीकर्ता मात्र नभइ सरकारी कार्यालयका प्रतिनिधि, बैंकरहरु पनि सहभागी हुँदैछन्। १५ सयमध्ये कति नेपाली र कति विदेशी लगानीकर्ता हुन् भन्ने विषयमा प्रष्ट भसकेको छैन। ‘निम्ता पठाएकामध्ये सम्मेलनमा को–को आउँछन् भनेर जानकारी आएको छ, हामीले विदेशी र स्वदेशी छुट्याएर विवरण तयार गर्दैछौं,’ प्रवक्ता उपाध्यायले भने, ‘विदेशबाट आउने केही नेपालीले र सम्बन्धित देशको नाम लेखेका छन् कसैले नेपाल नै लेखेका छन्। त्यसैले कसलाई विदेशी मान्ने कसलाई नमान्ने दुविधा छ।’
यद्यपि लगानी सम्मेलनमा ५० देशबाट प्रतिनिधित्व हुने बोर्डले बताएको छ। यसअघि २०७३ फागुन १९ र २० मा भएको पहिलो लगानी सम्मेलनमा २१ देशका २५७ जना विदेशी लगानीकर्ता आएका थिए। त्यस्तै २०७५ चैत १५ र १६ मा भएको दोस्रो लगानी सम्मेलनमा ४० देशका ३ सय बढी विदेशी कम्पनीका ७३५ लागानीकर्ता नेपाल आएका थिए।
पहिलो सम्मेलनमा कुनै पनि आयोजना सोकेस नगरेको बोर्डले दोस्रो सम्मेलनमा ८९ वटा आयोजना सोकेस गरेको थियो। तेस्रो सम्मेलनमा भने १५० वटा परियोजना सोकेसको तयारी रहेको छ। दोस्रो सम्मेलनमा ५० सार्वजनिक र ३९ निजी परियोजना गरी ८९ परियोजना सोकेस गरिएको थियो। जसमध्ये १५ आयोजनामा सम्मेलनकै क्रममा हस्ताक्षरसमेत भएको थियो।
तेस्रो सम्मेलनमा विभिन्न ९ चरणमा १५० आयोजना प्रदर्शन हुने बोर्डका प्रवक्ता उपाध्यायले बताए। सम्मेलनमा यातायात क्षेत्रका १९, पर्यटन पूर्वाधारका १७, भौतिक पूर्वाधारका ५, कृषि विकासका १५ आयोजना सोकेसका लागि तयारीमा छन्।
त्यस्तै औद्योगिक पूर्वाधार र व्यापार क्षेत्रका ७, जल आपूर्तिका ४, सहरी विकासका ६, स्वास्थ्य तथा शिक्षा क्षेत्रका ३ आयोजना, सूचना तथा प्रविधि क्षेत्रका एउटा आयोजना पनि सोकेस भएको छ। बोर्डका प्रवक्ता उपाध्यायका अनुसार ऊर्जा र निजी क्षेत्रका ३१/३१ वटा आयोजना छन् भने खानी एवं खनिजजन्य १३ परियोजना पनि तेस्रो लगानी सम्मेलनमा राखिएको छ।