काठमाडौं। बैंकहरुको बैंक भनिने नेपाल राष्ट्र बैंक २०१३ वैशाख १४ मा स्थापना भएको हो। तत्कालीन राजा महेन्द्रले ‘नेपाल राष्ट्र बैंक ऐन, २०१२’ जारी गरेपछि केन्द्रीय बैंक स्थापना भएको मानिन्छ।
केन्द्रीय बैंक स्थापना हुनु १९ वर्षअघि नै नेपाल बैंक १९९४ कात्तिक ३० मा स्थापना भइसकेको थियो। नेपाल बैंक स्थापना हुनुअघि नेपालको सम्पूर्ण मौद्रिक कारोबार निजी डलर तथा व्यापारिक केन्द्रबाट हुन्थ्यो।
अहिले राष्ट्र बैंकको मुख्य काम, कर्तव्यभित्र मुलुकमा वित्तीय स्थायित्व कायम गर्न मौद्रिक प्रणाली सञ्चालन र नियमन पर्छ। तर, राजा महेन्द्रले मुलकको विदेशी विनिमय दर र देशमा रहेको विदेशी मुद्रा भण्डारण तथा संरक्षण गर्न विदेशी मुद्रा नीति ल्याउने मुख्य उद्देश्यले राष्ट्र बैंक स्थापना गरेका हुन्।
राष्ट्र बैंक स्थापनाअघि नेपालको विदेशी मुद्रा भारतको केन्द्रीय बैंक ‘रिजर्भ बैंक अफ इन्डिया’मा राखिने गरिएको पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्री बताउँछन्।
‘राष्ट्र बैंक स्थापना हुनुअघि नेपालका विदेशी मुद्रा भारतको केन्द्रीय बैंकमा राखिन्थ्यो। चाहिएको समयमा यहाँबाट यति विदेशी मुद्रा चाहियो भनेर पत्र पठाएपछि त्यहाँबाट ल्याएर काम चलाउने गरिन्थ्यो,’ राष्ट्र बैंकका पूर्वगभर्नर क्षेत्रीले क्यापिटल नेपालसँग भने, ‘त्यसबेला सुवर्णशमशेरले विदेशी मुद्रा नेपालमै राखिने र त्यसको दर तथा सुरक्षण गर्ने गरी हिमालयनशमशेर राणालाई गभर्नर बनाएर राष्ट्र बैंक स्थापना गरेका हुन्।’
राष्ट्र बैंक स्थापना हुनुअघि वाणिज्य बैंकको रुपमा स्थापना भएको नेपाल बैंकले जनताको पैसा राख्ने र आवश्यक परेको समयमा झिक्ने गर्ने हुँदा विदेशी मुद्रा सुरक्षण नीति बनाएर राष्ट्र बैंक स्थापना गरिएको उनको भनाइ छ।
नेपाल राष्ट्र बैंक ऐन, २०५८ पछि मात्रै राष्ट्र बैंकले नेपालका लागि आवश्यक पर्ने नेपाली मुद्रा (नोट तथा सिक्का) को निष्कासन एवं व्यवस्थापनको कार्यलाई प्रमुख बनाइयो। नेपालमा राजा त्रिभुवनकै पालामा आधिकारिक मुद्रा प्रचलनमा ल्याइएको हो।
उक्त समय नेपालमा जारी हुने मुद्रामा सदरी मुलुकी खानाका प्रमुख खजान्चीले हस्ताक्षर गर्दथे। नेपालमा जारी भएको मुद्रा (नोट) मा पहिलो हस्ताक्षर जनकराजले गरेका हुन् भने त्यसपछि भरतराज र नरेन्द्रराजले पनि नोटमा हस्ताक्षर गरेका थिए।
राष्ट्र बैंक ऐन, २०५८ जारी भएयता भने राष्ट्र बैंकको काम, कर्तव्य थप हुँदै गएको छ। राष्ट्र बैंकले अर्थतन्त्रको दिगो विकासका निम्ति मूल्य र शोधनान्तर स्थिरता कायम गर्न आवश्यक मौद्रिक तथा विदेशी विनिमय नीति निर्माण गरी सोको व्यवस्थापन गर्ने, बैंकिङ तथा वित्तीय क्षेत्रको स्थायित्व र आवश्यक तरलतालाई प्रवद्र्धन गर्ने, सुरक्षित, स्वस्थ तथा सक्षम भुक्तानी प्रणालीको विकास गर्ने, बैंकिङ तथा वित्तीय प्रणालीको नियमन, निरिक्षण, सुपरिवेक्षण तथा अनुगमन गर्ने र मुलकुको समग्र बैंक तथा वित्तिय प्रणालीको संवद्र्धन गरी त्यसप्रति सर्वसाधारणको विश्वसनीयता अभिवृद्धि गर्ने राष्ट्र बैंकका मुख्य काम र कर्तव्यमा पर्छन्।
‘नेपाल राष्ट्र बैंक ऐन, २०५८’ ले निर्धारण गरेका राष्ट्र बैंकका काम, कर्तव्य र अधिकार यस प्रकार छन्ः
बैंक नोट तथा सिक्का निष्कासन गर्ने
मूल्य स्थिरता कायम गर्न आवश्यक मौद्रिक नीति तर्जुमा गर्ने र सो नीति कार्यान्वयन गर्ने, गराउने
विदेशी विनिमय नीति निर्माण गर्ने तथा सो नीति कार्यान्वयन गर्ने, गराउने
विनिमय दर पद्धति निर्धारण गर्ने,
विदेशी विनिमय सञ्चितिको व्यवस्थापन र सञ्चालन गर्ने
वाणिज्य बैंक तथा वित्तीय संस्थालाई बैकिङ तथा वित्तीय कारोबार गर्न इजाजतपत्र जारी गर्ने, त्यस्तो कारोबारको सम्बन्धमा आवश्यक नियमन, निरीक्षण, सुपरिवेक्षण तथा अनुगमन गर्ने
नेपाल सरकारको बैंक, सल्लाहकार तथा वित्तीय एजेन्टको रुपमा कार्य गर्ने
वाणिज्य बैंक तथा वित्तीय संस्थाको बैंक तथा अन्तिम ऋणदाताको रुपमा कार्य गर्ने
भुक्तानी, फछ्र्योट (क्लियरिङ) तथा हिसाब मिलान (सेटलमेन्ट) पद्धतिको स्थापना तथा प्रवद्र्धन गरी सो कार्यलाई नियमित गर्ने र
तरलता व्यवस्थापनको निमित्त आवश्यक उपकरणको माध्यमद्वारा खुला बजार कारोबार सञ्चालन गर्ने
ऐनबमोजिम बैंकको उद्देश्य हासिल गर्नका निम्ति बैंकले गर्नुपर्ने अन्य आवश्यक कार्य कार्यान्वयन गर्ने, गराउने।