काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका कर्मचारीको सेवा–सुविधा थप हुने गरी ‘कर्मचारी विनियमावली’ संशोधन गर्ने भएको छ। राष्ट्र बैंकबाट बैंक तथा वित्तीय संस्थाका लागि जारी कर्मचारी सेवा विनियमावली, २०७४ संशोधन गरिन लागेको हो।
राष्ट्र बैंकबाट सञ्चालन अनुमति पाएका बैंक तथा वित्तीय संस्थाले कर्मचारी नियुक्ति, सरुवा, बढुवा तथा सेवा–सुविधा राष्ट्र बैंकले दिएको कर्मचारी सेवा विनियमावलीअनुसार कार्यविधि बनाएर लागू गर्नुपर्छ।
हाल राष्ट्र बैंकले २०७४ मा जारी गरेको कर्मचारी विनियमावलीको मार्गनिर्देशनमा रहेर बैंक तथा वित्तीय संस्थाले कर्मचारी कार्यविधि बनाएर सोहीअनुसारको सर्तमा रही कर्मचारी नियुक्ति र सेवा–सुविधा दिने गरेका छन्। बैंकहरूले राष्ट्र बैंकद्वारा जारी कर्मचारी विनियमावलीको मार्ग निर्देशनमा बनाएको कार्यविधि भने पुनः राष्ट्र बैंकले नै स्वीकृत गरेपछि मात्रै संस्थामा लागू गर्न पाउँछन्।
पछिल्लो केही वर्षयता बैंक तथा वित्तीय संस्थामा सोही कर्मचारी कार्यविधिको विरोध हुने गरेको छ। संस्थाले राष्ट्र बैंकको मार्गनिर्देशनअनुसार कर्मचारी विनियमावली बनाउँदा समयसापेक्ष नभएको, मर्जर भएका बैंकका कर्मचारीलाई कर्मचारी विनियमावली नसमेटेको, तल्लो र उच्च तहका कर्मचारीलाई समावेशी तबरले बैंकहरूले कार्यविधि नबनाएकोलगायतका विषयमा विवाद सिर्जना भएको लामो समय भइसकेको छ।
राष्ट्र बैंकबाट सञ्चालन अनुमति पाएका बैंक तथा वित्तीय संस्थाले कर्मचारी नियुक्ति, सरुवा, बढुवा तथा सेवा–सुविधा राष्ट्र बैंकले दिएको कर्मचारी सेवा विनियमावलीअनुसार कार्यविधि बनाएर लागू गर्नुपर्छ।
बैंक तथा वित्तीय संस्थाका कर्मचारीले समेत राष्ट्र बैंकमा यसबारे गुनासो गरिरहेका हुन्छन्। पुरानो कर्मचारी विनियमावलीमा रहेर बैंक तथा वित्तीय संस्थाले बनाएको कर्मचारी कार्यविधिमा समस्या आउन थालेपछि उक्त विनियमावली संशोधन गर्ने गर्न लागिएको राष्ट्र बैंक नियमन विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले बताए।
‘बैंक तथा वित्तीय संस्थाको कर्मचारी सेवा विनियमावली राष्ट्र बैंकको नियमन विभागले स्वीकृत गर्छ। हामीले स्वीकृत गर्ने विनियमावलीमा बैंक तथा वित्तीय संस्थाले कर्मचारी नियुक्ति, सरुवा, बढुवादेखि सेवा– सुविधालाई समयसापेक्ष बनाउने तयारीमा गरेका छौं,’ नियमन विभागका प्रमुख पौडेलले क्यापिटल नेपालसँग भने, ‘यो आर्थिक वर्षभित्रै सक्ने गरी पुरानो कर्मचारी सेवा विनियमावली संशोधन गर्न लागेका हौं।’
हाल लागू भएको कर्मचारी सेवा विनियमावली राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा थोरै कर्मचारी हुँदा ल्याएको हो। अहिले लघुवित्त बाहेक बैंक तथा वित्तीय संस्थामा ६० हजार बढी कर्मचारी कार्यरत छन्।
कर्मचारीको रोजीरोटीको विषय, श्रम ऐनले दिएको अधिकार, पेसागत हकहित, कर्मचारीको क्षमता तथा दक्षता विकास, संस्था कर्मचारी व्यवस्थापन विकासका विषयलाई समेत समेट्ने गरी विनियमावली संशोधन गर्न लागेको राष्ट्र बैंकका कार्यकारी निर्देशक पौडेलले जानकारी दिए। संशोधित कर्मचारी सेवा विनियमावलीले मर्जर तथा प्राप्तिमा परेका बैंक तथा वित्तीय संस्स्थाका कर्मचारीलाई समेत समेट्ने उनको भनाइ छ।
हाल लागू भएको कर्मचारी सेवा विनियमावली राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा थोरै कर्मचारी हुँदा ल्याएको हो। अहिले लघुवित्तबाहेक बैंक तथा वित्तीय संस्थामा ६० हजार बढी कर्मचारी कार्यरत छन्।
‘बैंक तथा वित्तीय संस्थामा कर्मचारीको संख्या वृद्धि भइरहेको छ, भने हिजोको दिनमा बनाइएको विनियमावली अहिले समयसापेक्ष नभइरहेको अवस्था बुझेर संशोधन तयारीमा जुटेका हौं,’ उनले भने, ‘केही वर्षयता धेरै वटा संस्था मर्जर तथा प्राप्तिमा गएर बनेका नयाँ संस्थामा ‘पोस्ट मर्जर इफेक्ट’ कर्मचारीलाई परेको विषयलाई समेत समेट्ने गरी विनियमावली संशोधन गर्छौं।’
साथै, बैंक तथा वित्तीय संस्थाले कर्मचारी नियुक्त गर्दा आउट सोर्सिङ गर्ने विषयलाई समेत नियमनको सीमाभित्र ल्याउने गरी कर्मचारी सेवा विनियमावली संशोधन हुने उनको भनाइ छ।