काठमाडौं। दुग्ध विकास संस्थान (डिडिसी)ले किसानको ४८ करोड रुपैयाँ भुक्तानी गरेको छ। वैशाखमा दुग्धजन्य पदार्थको बिक्री बढेसँगै १३ दिनमा ४८ करोड रुपैयाँ भुक्तानी गरिएको डिडिसीले जानकारी दिएको छ।
डिडिसीका निमित्त महाप्रबन्धक राजेन्द्रप्रसाद अधिकारीले गर्मी याम प्रारम्भ भएसँगै दुग्धजन्य पदार्थ (दूध, दही, मोही, पनिर, लसी, आइसक्रिम)को बिक्री बढेकाले किसानको रकम भुक्तानी गर्न सहज भएको बताए। 'गर्मीमा दुग्धजन्य पदार्थको बिक्रीमा ५० प्रतिशतले बिक्री बढेकाले नगद प्रवाह बढेको र कृषकको भुक्तानीलगायत अन्य भुक्तानीमा क्रमिक रूपले सहज भएको छ,' अधिकारीले भने।
डिडिसीले वैशाख लागेपछि विराटनगर क्षेत्रको १० करोड रुपैयाँ, जनकपुर क्षेत्रको १ करोड रुपैयाँ, हेटौँडा क्षेत्रको ८ करोड रुपैयाँ, लुम्बिनी क्षेत्रको ४ करोड २५ लाख रुपैयाँ, नेपालगञ्ज क्षेत्रको २ करोड ७५ लाख रुपैयाँ, धनगढी क्षेत्रको १ करोड ५० लाख रुपैयाँ र काठमाडौँ क्षेत्रमा १३ करोड रुपैयाँ किसानको भुक्तानी गरेको छ।
त्यस्तै डिडिसीले हेटौँडामा सञ्चालन गरेको डिडिसी पशु आहारा उद्योगबाट किसानले दाना खरिद गरी पैसा भुक्तानी गर्न बाँकी ६ करोड रुपैयाँ कट्टासमेत गरेको निमित्त महाप्रबन्धक अधिकारीले बताए। डिडिसीको हेटौँडामा सञ्चालित पशु आहारा उद्योगबाट मासिक ५ लाख किलो दाना उत्पादन हुँदै आएको छ। रासस