विश्वमा बैंकिङ सेवाको इतिहास धेरै पुरानो छ। नेपाल बैंक स्थापनासँगै औपचारिक बैंकिङ सेवा शुरु भएको नेपालले पनि ‘हिरक जयन्ति’ मनाई सकेको छ। केही वर्ष अघिसम्म बैंकिङ सेवा केही पढेलेखेका, सहरिया, व्यापारी तथा पहुँचवाला व्यक्तिमा मात्र सिमित थियो। बैंकको विस्तार दुर्गम ठाउँसम्म पुग्न सकेको थिएन। विद्यु्त र टेलिफोनजस्ता आधारभुत सेवाको पहुँच सजिलो भईसकेपछि र वित्तीय प्रणालीमा निजी क्षेत्रको प्रवेशले बैंक तथा वित्तीय संस्थाहरु ग्रामीण इलाकामा समेत पुग्न थाले।
अझ नेपालको संविधान (२०७२) जारी भएसँगै प्रत्येक पालिका एउटा बैंक शाखा पुग्नैपर्ने कानुनी प्रवन्धले बैंकहरु सर्वसाधारणको पहुँचभित्र पुग्न थाले। तथापी बैंकिङ सेवा लिन निश्चित ठाउँ र समयमा पुग्नु पर्ने वाध्यता छँदै थियो। गाउँटोलमै बैंकको अवस्थामा पनि तिब्र गतिमा भएको प्रविधि विकासले बैंकिङ सेवालाई अझै सरल र सहज बनायो। जसका कारण आज अधिकांस नेपालीको घर–घरमा, हात–हातमा बैंकिङ सेवा पुगिरहेको छ। बढ्दो तथा व्यस्त परिवेशमा मानिसहरुलाई बैंक होइन बैंकिङ चाहिएको छ।
‘व्रिक एण्ड मोर्टार मोडेल (परम्परागत व्यापार मोडेल जहाँ कम्पनीको भौतिक स्टोर हुन्छ)’ बाट शाखा विस्तार गरेर मात्र बैंकिङ विस्तार नहुने रहेछ भन्ने कुरा नेपालका बैंकहरु र नियामकले धेरै पछि बुझेजस्तो देखिन्छ। किनभने विदेशमा वैंकका शाखा बन्द हुने क्रम चलिरहँदा नेपालमा शाखा विस्तारको होडवाजीमा रहेका बैंकहरुलाई नियामकले पनि साथ दिँदा ठूलो बन्ने नाममा अनावश्यक शाखा विस्तार हुन पुगे।
विद्यमान बैंकिङ
अहिले हामीले उपयोग गरिरहेको बैंकिङ भौतिक अर्थात फिजिकल हो। जहाँ सेवाग्राहीले प्रत्यक्ष रुपमा बैंकका शाखामा उपस्थित नभएसम्म अधिकांस सेवा पाउँदैन। खाता खोल्न, चेकवुक लिन, ग्राहक पहिचान अद्यावधिक (केवाईसी अपडेट) गर्न, नगद झिक्न, चेक जम्मा गर्न, कार्ड बनाउन, मौज्दात प्रमाणपत्र (ब्यालेन्स सर्टिफिकेट) लिन, ऋण लिन लगायतका काम बैंक शाखामा स–शरिर उपस्थित भएर गर्ने गरिन्छ। अझ कर्जा लिन त कयौं दिन बैंक धाउनुपर्छ। तर, अहिले भुक्तानीसँग सम्बन्धित धेरै कामहरु बैंक नगई सम्पन्न गर्न सकिन्छ।
अब प्रश्न उठ्न सक्छ के हामी ढिला भयौं त? ढिलै भइसकेको अवस्था भने छैन किनकी विकशित देशमा पनि डिजिटल बैंकको इतिहास एक दशक भन्दा लामो छैन। डिजिटल बैंक विकास चरणमै रहेकाले त्यसले समग्र बैंकिङ प्रणालीमा कस्तो असर पु¥याउन सक्छ भन्ने कुरा अध्ययनकै विषय हुन सक्छ।
यद्यपी केहि न केहि कामका लागि बैंक जानुपर्ने वाध्यता अझै कायम छ। जव सम्म बैंकसम्म जाने वाध्यता रहन्छ तबसम्म बैंकका शाखा हुन्छन, ठूला–ठूला साईनबोर्डसहितका घरहरु भेटिन्छन्। बैंक प्रत्यक्ष रुपमा देखिन्छ र तपाईलाई सेवा दिन तत्पर कर्मचारीहरु हुन्छन्। तर, तपाँईले खाता खोलेको बैंकको शाखा नै छैनन्, भवनहरु छैनन्, साईनबोर्डनै छैन, तपाईलाई सेवा दिने कर्मचारी पनि छैनन् भने तपाई बैंक खोज्दै कहाँ जानुहुन्छ? के यस्तो बैंकको कल्पना गर्नु भएको छ, यस्तो बैंकमा खाता खोलेर पैसा जम्मा गर्नु हुन्छ? हो, अहिले यस्तै बैंकको बारेमा चर्चा गर्न खोजिएको हो, जहाँ यसअघिका कुनै पनि कुरा भौतिक रुपमा नभेटियोस्।
डिजिटल बैंक
विश्वका विभिन्न देशका केन्द्रीय बैंकले भौतिकरुपमा नभेटिने बैंकहरुको परिकल्पना गरेर नयाँ बैंकको अवधारणा प्रयोगमा ल्याईसकेका छन्। जसलाई ‘डिजिटल बैंक’ अथवा ‘डिजिटल–ओन्ली बैंक’ भन्ने गरिएको छ। नेपालमा अहिलेसम्म डिजिटल बैंक खुलेको छैन र डिजिटल बैंकलाई अनुमति दिन राष्ट्र बैंक तयार भएको देखिँदैन। तर, त्यसका लागि कानुन तर्जुमा र नियमन प्रणाली बनाउने विषयमा भने आन्तरिक गृहकार्यमा लागेको संकेत केन्द्रिय बैंकले दिइरहेको छ।
यसरी हेर्दा नेपालमा पनि निकट भविष्यमा डिजिटल बैंकहरु स्थापना हुने सम्भावना छ। अब प्रश्न उठ्न सक्छ के हामी ढिला भयौं त? ढिलै भइसकेको अवस्था भने छैन किनकी विकशित देशमा पनि डिजिटल बैंकको इतिहास एक दशक भन्दा लामो छैन। डिजिटल बैंक विकास चरणमै रहेकाले त्यसले समग्र बैंकिङ प्रणालीमा कस्तो असर पु¥याउन सक्छ भन्ने कुरा अध्ययनकै विषय हुन सक्छ।
के हो त डिजिटल बैंक ?
पूर्ण रुपमा डिजिटल प्लेटफर्ममा आधारित भएर भौतिक उपस्थितिविना बैंकिङ सेवा संचालन गर्ने संस्थालाई डिजिटल बैंक ( नियो बैंक) भनिन्छ। डिजिटल बैंकमा ग्राहक भित्र्याउने (कस्टुमर अनवोर्डिग) देखि ग्राहकलाई दिने सम्पूर्ण बैंकिङ सेवाहरु डिजिटल रुपमै उपलब्ध हुन्छ र शाखा पनि हुदैनन्। परम्परागत बैंकले दिएका ‘अनलाईन प्लेटफर्म’मा आधारित भुक्तानी सेवाहरु (मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, मोबाइल वालेट, ओम्नी च्यानल, क्यूआर कोड, कनेक्ट आइपिएस, कार्ड सेवा) डिजिटल बैंकमा पाइन्छ।
नियो बैंकले भुक्तानी सेवाका अतिरिक्त अन्य सामान्य बैंकिङ सेवाहरु (खाता खोल्ने, खातामा ब्याज प्रदान गर्ने, कर्जा दिने, विभिन्न वित्तीय साधनहरु जस्तो म्युचअल फन्ड, वण्ड तथा स्टकमा लगानी गर्ने) पनि दिन्छन्। त्यसैगरी साना तथा मझौला उद्यमीलाई भरपर्दो सामान खरिद तथा बिक्रीका लागि सहजीकरण गर्न अनलाईन बजार व्यवस्थापन (मार्केट प्लेस) को अवरधारणालाई पनि नियो बैंकहरुले आत्मसात गरेका हुन्छन्।
डिजिटल बैंक प्रविधिमा आधारित बैंक हो। तसर्थ थोरै खर्च र कम समयमा अधिक व्यवसाय विस्तार गर्न सकिन्छ। सेवाको विविधिकरण, ग्राहकको संख्या तथा व्यवसायको क्षेत्र विस्तार गर्न ‘ब्रिक एण्ड मोर्टार’ अवधारणामा आधारित बैंकको दाँजोमा डिजिटल बैंक कैयौं गुणा छिटो हुन सक्छ।
ग्राहकको बैंकिङ व्यवहार, कारोबारको प्रकृति, क्रेडिट हिस्ट्री, क्रेडिट रेटिंगजस्ता आवश्यक सुचकहरुको अध्ययन गरि स्वचालित रुपमा बिना धितो कर्जा प्रस्ताव गर्न नियो बैंकहरु परम्परागत बैंकभन्दा बढी अग्रसर हुन्छन्। किनकी नियो बैंकले ग्राहकका सम्पूर्ण जानकारी डिजिटल माध्यमबाट लिने र त्यस्ता जानकारीहरुलाई तथ्यांकमा आधारित प्रणाली विकासमा सहयोग पुग्ने सफ्टवेयर जडान गरिएका हुन्छन्। तर, के–कस्तो सेवा के–कसरी दिने भन्ने विषय ग्राहकको ईच्छा, जोखिम वहन क्षमता, केन्द्रीय बैंकको अनुमति नीतिलगायतले निर्धारण गर्दछ।
किन चाहियो त यस्तो बैंक?
भौतिक रुपमा बैंकले शाखा खोलेर वित्तीय सेवा दिने कुरा नेपालजस्तो सानो, कमजोर अर्थतन्त्र, न्यून जनसंख्या भएको मुलुकका लागि महँगो साबित भइसकेको छ। त्यसैले बैंकहरु आफ्ना शाखा बन्द गर्न उद्यत् भइरहेका छन्। तथापी खोलिसकेका शाखा बन्द गर्दा हुने नकारात्मक टिप्पणी र शाखा बन्द गर्नुअघि राष्ट्र बैंकबाट अनुमति लिनुपर्ने कठिनाइका कारण रोकिइरहेको छ। नत्र धेरै बैंकहरु आफ्ना कतिपय शाखा बन्द गरेर खर्च घटाउन अग्रसर रहन्थे।
यसैपनि बैंक पहिले जस्तो कमाउने संस्थामा गनिन छाडि सक्यो। पुँजीको प्रतिफल (आरओई) एकदमै न्यून भइसक्यो, वितरणयोग्य नाफा धेरै बैंकहरुको ऋणात्मक देखिन थालिसक्यो। तसर्थ बैंकलाई बचाई राख्न लागत घटाउन जरुरी छ। अहिले बैंकहरुको सबैभन्दा ठूलो खर्च मानव संसाधन र संचालनमा देखिन्छ। शाखा कम हुँदा दुवै खर्चमा कटौति हुन गई श्रोत बच्न जान्छ। धेरै बैंकका कैयौ शाखाहरु कम व्यवसायमा चलेका कारण नाफा गरि सञ्चालन हुन सक्ने अवस्थामै छैनन्। अहिले नै नाफा नभएका शाखा जति राख्यो त्यति घाटा बढ्ने हो। डिजिटल बैंकको सबैभन्दा राम्रो पक्ष सञ्चालन लागत कम हुनु हो।
केन्द्रिकृत ग्राहक पहिचान र व्यक्तिगत क्रेडिट रेटिंगजस्ता पूर्वाधार भईदिए ग्राहक ‘अनवोर्डिंग’ गर्ने तथा डिजिटल कर्जा दिने कार्य अहिले जस्तो जटिल हुने थिएन। तसर्थ आगामी दिनमा कानुनी उल्झन नआउने गरि नितिगत तथा कानुनी व्यवस्थाहरु ल्याउनु पर्ने देखिन्छ। प्रविधिमा आधारित बैंक भएकाले बैंकिङ सेवा लिन भूगोलले छेक्दैन।
डिजिटल बैंक प्रविधिमा आधारित बैंक हो। तसर्थ थोरै खर्च र कम समयमा अधिक व्यवसाय विस्तार गर्न सकिन्छ। सेवाको विविधिकरण, ग्राहकको संख्या तथा व्यवसायको क्षेत्र विस्तार गर्न ‘ब्रिक एण्ड मोर्टार’ अवधारणामा आधारित बैंकको दाँजोमा डिजिटल बैंक कैयौं गुणा छिटो हुन सक्छ। नेपालका बैंकका ग्राहकको बैंकिङ आवश्यकता हेर्दा धेरै ग्राहकलाई सिमित बैंकिङ सेवा भए पुग्छ। जस्तो बचत गर्ने, ब्याज आम्दानी प्राप्त गर्ने, नगद प्राप्त गर्ने, कार्ड तथा डिजिटल भुक्तानी सेवाहरु प्रयोग गर्ने जस्ता सेवा छन्, जुन डिजिटल बैंकले सजिलै पुरा गर्न सक्छन्।
डिजिटल बैंक विश्वमै नयाँ अभ्यास भएकाले ग्राहकको आवश्यकता र प्रविधिको विशिष्टिकरणमा सेवाको विस्तार भर पर्छ। डिजिटल बैंक भएका केही मुलुकको उदाहरण हेर्दा छोटो समयमा उल्लेख्य प्रगति गरेको देखिन्छ। ब्राजिलकोे ‘साओ पाउलो’ मा सन् २०१३ मा खुलेको ‘नू बैक’ ले ब्राजिल, कोलम्बिया र मेक्सिकोमा गरि एक दसकमै ९ करोड ४० लाख ग्राहक बनाउन सफल भएको छ। ग्राहक संख्यालाई आधार मान्दा एक दसकमा यति धेरै संख्या ग्राहक भएको बैंक भेट्न सायद ‘ब्रिक एण्ड मोर्टार’ अवधारणामा खुलेका बैैंकमा असम्भव प्रायः छ। मुस्किल नै होला। व्यवसायिक रुपमा हेर्दा सन् २०२३ मा नू बैंकले करिब ८ अर्ब अमेरिकी डलरको आम्दानी गरेको छ भने १ अर्ब अमेरिकी डलर खुद नाफा गर्न सफल भएको छ।
तसर्थ नेपालमा डिजिटल बैंक खोल्ने चर्चा भइरहँदा आम जनताको डिजिटल साक्षरताको स्तर वढाउनु पर्ने देखिन्छ। प्रविधि सर्वेसर्वा भएकाले ग्राहकमैत्री प्रविधि भित्राउनु पर्छ। प्रविधि सुरक्षाको प्रत्याभूति आवश्यक पर्छ। ग्राहक सेवालाई चुस्त दुरुस्त राखी ग्राहकको गुनासोलाई प्राथमिकतामा समाधान गर्नु पर्ने हुन्छ। केन्द्रिकृत ग्राहक पहिचान र व्यक्तिगत क्रेडिट रेटिंगजस्ता पूर्वाधार भईदिए ग्राहक ‘अनवोर्डिंग’ गर्ने तथा डिजिटल कर्जा दिने कार्य अहिले जस्तो जटिल हुने थिएन। तसर्थ आगामी दिनमा कानुनी उल्झन नआउने गरि नितिगत तथा कानुनी व्यवस्थाहरु ल्याउनु पर्ने देखिन्छ। प्रविधिमा आधारित बैंक भएकाले बैंकिङ सेवा लिन भूगोलले छेक्दैन। विदेशमा बस्ने धेरै नेपालीलाई डिजिटल बैंकको सेवाभित्र आवद्ध गर्न सकिन्छ। तर, यो छलफको विषय हो, परिवेश भविष्यले नै बताउला।