काठमाडौं। राष्ट्रपति रामचान्द्र पौडेलले निजी क्षेत्रका लागि नेपालमा लगानीमैत्री वातावरण सरकारको नेतृत्व गर्नेले नै बनाउनुपर्ने बताएका छन्। आज भृकुटीमण्डपमा ‘हिमालयन हाइड्रो एक्स्पो २०२४ उद्घाटन गर्दै राष्ट्रपति पौडेलले लगानी वातावरण सरकारले बनाउनुपर्ने बताएका हुन्।
संघीयतापछि नेपालले राजनीतिक स्थिरता र उन्नति एवं समृद्धि खोजेको उनको धारणा थियो। प्राकृतिक स्रोतमा धनी नेपाललाई निजी क्षेत्र र सरकारको सहकार्यबाट समृद्धि हासिल गर्न सम्भव रहेको राष्ट्रपति पौडेलले बताए।
‘राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ। त्यसका लागि सरकारले ऐन, कानुन तथा नियममा सहजीकरण गर्नुपर्छ,’ राष्ट्रपति पौडेलले भने।
निजी क्षेत्रले पनि देश विकासलाई सर्वोपरि ठानेर लगानी गर्नुपर्नेमा राष्ट्रपति पौडेलले आग्रह गरे। उनले भने, ‘स्वदेशी तथा विदेशी लगानीकर्तालाई बिनाझन्झट लगानीमैत्री वातावरण बनाउनु सरकारको दायित्व हो। यसले निजी क्षेत्रमको उत्साह वृद्धि भई मुलुकको समग्र अर्थतन्त्रमा योगदान पुग्छ।’
विगतमा ऊर्जा संकट भोगेको नेपालमा अहिले उत्पादन बढेर राष्ट्रको ऊर्जा सुरक्षालाई मजबुत बनाए उनले उल्लेख गरे। सरकारले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको छ। यसमध्ये १३ हजार ५०० मेगावाट विद्युत् स्वदेशमै खपत गर्ने र बाँकी विद्युत् छिमेकी भारतसहितका देशमा निर्यात गर्ने सरकारी योजना छ।
विदेश विद्युत निर्यात गर्ने योजनाअनुसार पुस १९ मा भारतीय ऊर्जा सचिव एस पंकज अग्रवाल र नेपालका तत्कालीन ऊर्जा सचिव गोपाल सिग्देलले १० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात गर्ने सम्झौतामा हस्ताक्षर गरिसकेका छन्।
हाल नेपालमा सरकारी र निजी क्षेत्रबाट कुल २८ सय मेगावट विद्युत् उत्पादन हुन्छ। जसमध्ये करिब ७०० मेगावाट सरकारी निकाय र बाँकी विद्युत् निजी क्षेत्रबाट उत्पादन भएको हो।
बुधबारबाट सुरु भएको एक्स्पो शुक्रबारसम्म चल्ने आयोजक ‘स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल’ (इप्पान)ले जनाएको छ।