काठमाडौं। नेपालमा औंलामा गन्न सकिने सीमित संख्याका आयोजनामा सुरुङ ब्रेक थ्रु (छिचोलिएको) भए पनि २ दर्जन बढी सुरुङ निर्माणका लागि अध्ययनको चरणमा छन्। तर, सुरुङ ब्रेक थ्रु भए पनि सञ्चालनमा आउने समय निश्चित देखिँदैन।
राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ ब्रेक थ्रु भएको ४ वर्ष पूरा भयो। २०७४ कात्तिक २० बाट चाइना ओभरसिरिज कम्पनी (कोभेक)ले अमेरिकन प्रविधिको टनेल बोरिङ मेसिन (टिबिएम)ले सुरुङ खन्न सुरु गरेको थियो। १२ किलोमिटर लामो सुरुङ खन्न २०७६ चैत १५ सम्म म्याद रहे पनि साढे ११ महिना पहिला अर्थात् २०७६ वैशाख ३ मै ‘ब्रेक थ्रु’ भयो।
ब्रेक थ्रुको ४ वर्ष पूरा हुँदा पनि सुरु प्रयोगमा आएको छैन। भेरी बबई डाइभर्सन आयोजनाका सिनियर डिभिजनल इन्जिनियर (सिडिई) एवं सूचना अधिकारी पवन अधिकारीका अनुसार ४ वर्षपहिला ब्रेक थ्रु भएको सुरुङमा कुनै समस्या नओस् भनेर समय–समयमा परीक्षण भइरहेको छ। ‘सुरुङभित्र केही समस्या आए कि भनेर ‘चेक’ गर्छौं,’ क्यापिटल नेपालसँग सिडिई अधिकारीले भने।
सुरुङ खन्न १० अर्ब ५६ करोड ९७ लाख ३२ हजार १४१ रुपैयाँमा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाले कोभेकसँग ठेक्का सम्झौता गरेको थियो।
हाल भेरी बबई आयोजनाको कुल भौतिक प्रगति २०८० चैतसम्म ६५.७२ प्रतिशत र वित्तीय प्रगाति ५९.३ प्रतिशत छ। सोही आयोजनामा विद्युत्को भौतिक काम ६४ प्रतिशत सम्पन्न भएको सूचना अधिकारी पवन अधिकारीले बताए। भेरी–बबई आयोजनाबाट ४६ मेगावाट विद्युत् उत्पादन हुनेछ। नेपालका सिँचाइ आयोजनाबाट उत्पादन हुन लागेको यो सबैभन्दा ठूलो परिमाणको विद्युत् हो।
भेरी बबईको म्याद २०८१ भदौ १ सम्म मात्रै छ। त्यसपछि पुनः म्याद थप्नुपर्ने आयोजनाको भनाइ छ। तर, कहिलेसम्म म्याद थपिने र सुरुङ प्रयोग गर्न मिल्ने गरी आयोजना निर्माण हुने भन्ने जवाफ सूचना अधिकारीसँग छैन।
हाल भेरी बबई आयोजनाको कुल भौतिक प्रगति २०८० चैतसम्म ६५.७२ प्रतिशत र वित्तीय प्रगाति ५९.३ प्रतिशत छ। आयोजनाबाट ४६ मेगावाट विद्युत् उत्पादन हुनेछ। नेपालका सिँचाइ आयोजनाबाट उत्पादन हुन लागेको यो सबैभन्दा ठूलो परिमाणको विद्युत् हो।
भेरी बबईजस्तै प्रकृतिको अर्को राष्ट्रिय गौरवकै आयोजना हो, सुनकोसी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना। सुनकोसी मरिणको पनि ३ सातापछि अर्थात् वैशाख २६ मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ब्रेक थ्रु गर्ने कार्यक्रम तय भएको छ। २०७९ असोज २८ बाट १३.३ किलोमिटर लामो सुरुङ टिबिएम मेसिनले नै खन्न सुरु गरेको थियो। सुरुङ खन्ने काम लगभग सकिएकाले वैशाख २६ मा ब्रेक थ्रु गर्ने तयारी आयोजना कार्यालयको छ।
सुनकोसी मरिण डाइभर्सनले पनि ३१.७ मेगावाट विद्युत् उत्पादन गर्नेछ। आयोजनाले बाँध र विद्युत् गृह निर्माणका लागि २०७९ पुस १७ गते नेपालको रमण कन्स्ट्रक्सन र भारतको पटेल इन्जिनियरिङ जेभीसँग ठेक्का सम्झौता गरेको थियो। सम्झौताअनुसार २०८४ भदौसम्म आयोजनाको बाँध र विद्युत् गृह १२ अर्ब रुपैयाँमा निर्माण हुनेछन्।
हालसम्म बाँध र विद्युत्तर्फको भौतिक प्रगति करिब ७ प्रतिशत भएको मरिण डाइभर्सनका सिडिई अशोक गौतमले बताए।सुरुङको ब्रेक थ्रु गर्न ३ साता मात्रै बाँकी हुँदा सुनकोसी मरिणले मरिण खोला नियन्त्रण, प्रसारण लाइन र इलेक्ट्रोमेकानिकल निर्माणको ठेक्का आह्वान गर्न बाँकी छ।
सुनकोसी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना
सिडिई गौतमका अनुसार कहिलेसम्म ठेक्का आह्वान हुन्छ भन्ने विषय हालसम्म निश्चित छैन। सुरुङ ब्रेक थ्रुपछि प्रयोगमा आउने समय पनि अहिले भन्न नसकिने उनको भनाइ छ। ‘अहिले ब्रेक थ्रु मात्रै हुने हो, सुरुङभित्रका प्राविधिक काम गर्न डेढदेखि २ वर्ष लाग्छ। त्यसपछि सुरुङ निर्माण पूर्ण भएको मानिन्छ,’ सिडिई गौतम भन्छन्, ‘तर, पानी पथान्तरण गर्न सुरुङ प्रयोग आयोजनको अन्य संरचना बनेपछि मात्रै हुन्छ। प्राविधिक काम सकिएपछि आयोजनाको आन्तरिक प्रयोगका लागि सुरुङ प्रयोग गर्न सकिन्छ।’
२०७७ फागुन २० मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको आयोजनाको म्याद आर्थिक वर्ष २०८२/०८३ सम्म थियो। तर, निर्माण सम्पन्न नहुने भएपछि खरिद गुरुयोजना अद्यावधि गर्दा २०८४ सम्म आयोजनाको म्याद पु¥याइएको छ।
यद्यपि सडक सञ्जालमा नेपालमा पहिलो पटक ब्रेक थ्रु भएको नागढुंगा–सिस्नेखोला सुरुङ मार्ग पनि प्रयोगमा आउन कम्तीमा १ वर्ष लाग्ने निर्माण आयोजनाले बताइसकेको छ। २०८० वैशाख ३ मा ब्रेक थ्रु भएको नागढुंगा सुरुङको पनि प्राविधिक काम बाँकी नै छ।