काठमाडौं। वैशाख १५ मा हुने इलाममा रिक्त क्षेत्र २ को प्रतिनिधिसभा र बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र १ (क) को उपनिर्वाचनमा गए रातीदेखि मौन अवधि सुरु भएसँगै प्रचारप्रसारमा रोक लागेको निर्वाचन आयोगले जनाएको छ।
आयोगले निर्वाचन आचारसंहिताअनुसार प्रचारप्रसारमा रोक लगाइएको बताएको हो। आयोगले मतदान हुने दिन वैशाख १५ भन्दा ४८ घन्टा अघि अर्थात् गए राती १२ बजेदेखि मतगणना सम्पन्न नभएसम्म प्रचारप्रसार निषेध गरिएको जनाएको छ।
आयोगले यस अवधिमा उपनिर्वाचन हुने सम्बन्धित जिल्लामा आचारसंहिता प्रतिकूल हुने गतिविधिको निगरानी तथा नियन्त्रणका लागि सूक्ष्म अनुगमन गरी आचारसंहिता पालना गराउने व्यवस्थासमेत मिलाइसकेको बताएको छ।
निर्वाचन आचारसंहिताबमोजिम निषेध अवधिमा निर्वाचन प्रचारप्रसार, कुनै पनि प्रकारका छलफल, अन्तक्र्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी, उम्मेदवारको पक्ष या विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न, एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यम तथा सामजिक सञ्जालबाट समेत मत माग्न निषेध भएको छ।
निर्वाचन आचारसंहिताविपरीत वक्तव्य दिने, प्रेस विज्ञप्ति निकाल्ने, प्रकाशन तथा प्रसारण गर्ने, सञ्चार माध्यमबाट जित वा हारको पूर्वानुमानका सामग्री प्रकाशन तथा प्रसारणजस्ता कार्य नगरी निर्वाचनको स्वच्छता र निष्पक्षता कायम गर्न आयोगले सबैसँग आग्रह गरेको छ।
उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्न÷गराउन प्रचारप्रसार निषेध अवधिको अनुगमन र निगरानी गरी त्यसको जानकारी आयोगलाई गराउन सम्बन्धित निकायलाई निर्देश गरिएको आयोगका उपसचिव एवं सहायक प्रवक्ता रामदत्त पाण्डेयले बताए।