काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मानव संसाधन विकास सेवा (एचआरडी) कोरिया, इपीएस शाखा र कोरिया रिटर्नीबीच त्रिपक्षीय छलफल गराएको छ। बुधबार श्रममन्त्री डोलप्रसाद अर्यालको उपस्थितिमा तीनै पक्षबीच मन्त्रालयमै छलफल भएको हो।
छलफलमा कोरिया रिटर्नीका प्रतिनिधिले एचआरडी कोरिया र इपीएस शाखासँग विभिन्न जिज्ञासा तथा प्रश्न राखेका थिए। कोरिया रिटर्नीको जिज्ञासालाई एचआरडी कोरियाको परीक्षा शाखा निर्देशक साङहयून क्वाकले स्पष्ट पारे।
छलफलपछि श्रममन्त्री अर्यालले कोरिया रिटर्नीको जिज्ञासालाई स्पष्ट पारेकामा एचआरडी कोरियाका प्रतिनिधिलाई धन्यवाद दिए। ‘एक पटक कोरिया पुगेर आउनुभएका नेपाली युवामा इपीएस प्रक्रियाको विषयमै शंका थियो। उहाँहरुलाई एचआरडीले विभेद गरेको गुनासो छ। त्यसैले यो गुनासोलाई मेटाउन दुवै पक्षलाई आमनेसामने गराइएको हो,’ उनले भने।
कोरिया रिटर्नीको गुनासोलाई सम्बोधन गर्न श्रममन्त्री अर्यालले तीनै पक्षलाई नै मन्त्रालयमा बोलाएर छलफल गरेका हुन्। श्रमिकको गुनासो सिधै सम्बन्धित निकाय समक्ष राख्न छलफल गराइएको श्रम सचिव घनश्याम उपाध्ययले बताए।
छलफलमा कोरिया रिटर्नीले एचआरडी कोरियाले श्रमिक छनौटमा विभेद गरेको, कोरिया रिटर्नीको फाइल रोजगारदातामा नपुराएको, महिला श्रमिकलाई छनोट नगरेको लगायतका गुनासो गरेका थिए।
एचआरडी कोरियाको छनोट विभागका निर्देशक क्वाकले कोरिया जाने श्रमिकको छनोटको पूर्ण अधिकार रोजगारदातामा निहित हुने बताए। एचआरडी कोरियाले नेपाल–कोरियाबीच भएको सम्झौताअनुसार श्रमिक छनोट गरी रोस्टरमा मात्रै राख्ने काम गर्छ । तर, श्रमिकको फाइल पठाउने वा श्रमिक छनोट गर्ने प्रक्रियामा भने कुनै पनि निकायको संलग्नता नहुने उनले स्पष्ट पारे।
कोरिया र नेपालबीच इपीएसमार्फत कोरिया रोजगारीको लागि सन् २००७ मा सम्झौता भएको हो। सन् २००८ देखि नेपाली श्रमिक कोरिया रोजगारीमा जान थालेका हुन्। पहिलो चरणमा ५५ जना नेपाली श्रमिक इपीएसमार्फत कोरिया पुगेका थिए। कोरियाले सन् २०२३ सम्ममा कृषि तथा पशुपालन तथा उत्पादन क्षेत्रमा नेपाली श्रमिक लैजाँदै आएकोमा अहिले सीप बिल्डिङ क्षेत्रमा पनि लैजान थालेको छ।
श्रमिक छनोटको प्रक्रिया
कोरिया सरकारको इपिएस (रोजगार अनुमति प्रणाली)मार्फत विश्वका विभिन्न १६ वटा मुलुकबाट आप्रवासी श्रमिक कोरिया भित्र्याउँदै आएको छ। आप्रवासी श्रमिक छनोटका लागि कोरियाले एचआरडी कोरियालाई जिम्मेवारी दिएको छ। एचआरडीको मुख्यालय कोरियामा छ भने यसले नेपालमा इपीएस सेन्टर भनेर कार्यालय खोलेको छ।
हालसम्म कति गए कोरिया
विगत १५ वर्षको अवधिमा इपीएस प्रणालीमार्फत नेपालबाट १ लाख १ हजार ५५६ जना नेपाली श्रमिक कोरिया पुगेका छन्। यसमध्ये महिलाको संख्या ६ हजार ७१२ छ भने पुरुषको ९४ हजार ५५६ छ। सन् २००८ मा दुई हजार ८१४ नेपाली श्रमिक कोरिया गएका थिए।
२००९ मा एक हजार ९११, सन् २०१० मा दुई हजार ३३९, सन् २०११ मा तीन हजार ९८३, सन् २०१२ मा ६ हजार ३३२, सन् २०१३ मा पाँच हजार ४६, सन् २०१४ मा ६ हजार २८, सन् २०१५ मा पाँच हजार ८६६ कोरिया गएको तथ्यांक छ।
त्यस्तै, सन् २०१६ मा ८ हजार ७९, सन् २०१७ मा सात हजार ८००, सन् २०१८ मा ८ हजार ५११, सन् २०१९ मा सात हजार १३६, सन् २०२० मा एक हजार २७, सन् २०२१ मा ३८७, सन् २०२२ मा १४ हजार ३११, सन् २०१३ मा १९ हजार ६८९ नेपाली युवा कोरिया गएका छन्।