काठमाडौं। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले महिलाको नेतृत्वलाई स्वीकार्दै थप अधि बढ्न साथ दिनुपर्ने बताएकी छन्। पुरुषको तुलनामा महिलाहरु इमानदार हुने भएकाले पनि हरेक क्षेत्रमा महिलाको नेतृत्वलाई सम्मान गर्दै अघि बढाउनुपर्ने मन्त्री चौधरीले बताएकी हुन्।
चौथो हिमालयन हाइड्रो एक्स्पो २०२४ को पहिलो प्राविधिक शत्र ‘ऊर्जा क्षेत्रमा महिलाको अवस्था’ सम्बन्धी छलफलमा बोल्दै मन्त्री चौधारीले महिलाहरु ऊर्जा क्षेत्रमा अघि बढेको देख्दा खुसी लागेको बताएकी छन्।
‘देशको विकास गर्ने लक्ष्यलिएर ऊर्जा उद्यमी बन्नु भएकाहरुलाई हामी साथ दिन्छौं। ’मैले आग्रह गर्दा हुने मन्त्रालयहरुमा महिलाका लागि उपयुक्त बजेटको व्यवस्था गर्न आग्रह गर्छु’ मन्त्री चौधरीले भनिन्।
साथै ऊर्जासहित अन्य निर्माण क्षेत्रका समस्या समाधानका लागि अध्यादेशमार्फत् ऐन तथा नियमावली संशोधन गरिएको उनले स्मरण गरेकी छिन्।
ऊर्जा उद्यमी सुसन कर्मचार्यले विगतको तुलनामा महिलाले काम गर्न सक्छन् भन्ने देखिन थालेको बताएकी छन्। त्यस्तै हाइड्रोपावर क्षेत्रमा निश्चित समय काम गरेर नहुने, दुरदराजमा आयोजना निर्माण गर्नुपर्दा शारीरिक रुपले पनि महिलाका लागि सहज नहुने उनको भनाइ छ। तर, महिलालाई अघि बढ्न सबैभन्दा पहिला आत्माविश्वास आवश्यक हुने उनको भनाइ छ।
वन मन्त्रालय सहसचिव मधुदेवी घिमिरेले कानुनी झमेलाका कारण लगानीकर्ताहरुले झमेला भोग्नुपरेको बताएकी छिन्। यद्यपि कानुन निर्माण कर्मचारीले नभइ सांसदहरुले गर्ने भएकाले निजी क्षेत्रले नै पहल गर्नुपर्ने घिमिरेको भनाइ छ। तर, आयोजना बनाउँदा जग्गाको सट्टा जग्गै दिनुपर्ने कानुन अहिले परिवर्तन भएर जग्गा बराबरको रकम वन विकास कोषमा राख्न मिल्ने नियम बनेको छ। हाल जलविद्युतका आयोजना निर्माण गर्दा ७ मन्त्रालय, २३ विभाग एवं निकाय र ३६ कानुनसँग समन्वय गर्नुपर्छ।
नेपाल विधुत प्राधिकरणका निर्देशक रन्जु पाण्डेले महिला प्राविधिकलाई पुरुषको तुलनामा काम गर्न सहज नभएको बताइन्। ‘इन्जिनियर महिला त्यसमा पनि विवाहित भएपछि धेरै समस्या देखिन्छ, कतिपय अवस्थामा हाम्रो संस्कार, संस्कृतिले पनि बाधा पुर्याएको छ’ उनले भनिन्।
अर्की ऊर्जा उद्यमी उषा खतिवडाले घर भित्रबाटै छोराले यो गर्ने छोरीले त्यो गर्ने भनेर छुट्याउने विषयलाई चिर्न आवश्यक रहेको बताउछिन्।
सिंगटी हाइड्रोपावरका निर्देशक रजनी थापाले महिलाले नेतृत्व गरेका हाइड्रोलाई सौलियत दिनुपर्ने माग गरेकी छन्। ‘अन्तर्रास्ट्रिय स्तरमा हेर्ने हो भने नेपालमा ऊर्जाको क्षेत्रमा महिलाको नेतृत्व सुरु भएको छैन, सहुलियत दिएर अघि बढाउनुपर्छ’ थापाले भनिन्।
त्यस्तै विद्युत नियमन आयोगकी सचिव मनदेवी श्रेष्ठले आयोजनहरुबाट प्राप्त रोयल्टिलाई बजेटकै रुपमा सरकारले राखेको बताएकी छिन्।